हेटौंडा/प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीले नेपालका श्रमजीवी पत्रकार र श्रमजीवी पत्रकारको अग्रणी संगठन प्रेस चौतारी नेपालको अगुवाइ र पहलकदमीमा श्रमजीवी पत्रकारको हित र पेशागत् रक्षाको पक्षमा निर्माण भएका कानुन, नीतिनियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानुन कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प गरेको छ ।
पत्रकारको पेशागत् दक्षता वृद्धि र सुरक्षाका सवालमा थप संवेदनशील हुन सरोकार राख्ने सबै पक्षसँग चौतारीले माग गरेको छ । तेस्रो पूर्ण बैठकले ‘मौलाकालिका घोषणापत्र–२०८१’ जारी गर्दै श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक, बिदा, औषधोपचार, विमा, उपदानलगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गरेको चौतारीले समयसापेक्ष तलब बृद्धिका लागि आग्रह गरेको छ । विशेषगरि सरकारी, सामुदायिक र निजी सञ्चारगृहहरुले आआफ्नो सञ्चारगृहमा कार्यरत् श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरुको सामाजिक सुरक्षाकोषको ग्यारेन्टी गर्नसमेत बैठकले माग गरेको छ ।
‘बैठक पछिल्लो समय श्रमजीवी पत्रकारहरु आफैंले सञ्चालन गरेका स्वरोजगार मिडियाको
संरक्षण र प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीयस्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन माग गर्दछ,’ घोषणापत्रमा अनलाइन सञ्चारमाध्यहरु लाई वैज्ञानिकढंगले वर्गीकरण गरी लोककल्याणकारी विज्ञापनसहित सरकारी सूचना तथा विज्ञापन प्रकाशन गर्ने वातावरण तयार गर्न माग गरिएको छ । स्थानीय पत्रिका हुलाक कार्यालयमा दर्ता/नवीकरणपछि पनि टिकट टाँस्नुपर्ने प्रावधान हटाउन बैठकले सूचना तथा प्रविधि मन्त्रालयसमक्ष माग गरेको छ ।
बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको समीक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेशागत् हकहित, सुरक्षा एवम् आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा छलफलसहित ८ बुँदे ‘मौलाकालिका घोषणापत्र’ जारी गरेको हो ।
बैठकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीको नेतृत्वमा वर्तमान सरकार निर्माण भइ ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा लागिरहेको ठहर गर्दै सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गरेको छ । ती कामबारे आमसञ्चार माध्यमबाट आमजनसमुदाय समक्ष पुर्याउन अधिकतम् योगदान गर्ने संकल्प बैठकले गरेको छ ।
‘समृद्धिका लागि सञ्चार कर्म, पे्रस चौतारीको मूल मर्म’ भन्ने नारासाथ श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक माघ ५ गते चितवन जिल्लास्थित नारायणगढको काखमा रहेको पर्यटकीय एवम् धार्मिक क्षेत्र मौलाकालिकामा अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षता र चौतारी महासचिव हीरा लामाको प्रमुख आतिथ्यतामा बसेको थियो । घोषणापत्र तयारी समितिमा सरिता दाहाल (मकवानपुर), तिलक रिमाल (चितवन) र प्रेम दाहाल (सिन्धुली) थिए ।