31.9 C
Makwānpur
Homeमुख्य समाचारखेलाडी संरक्षण आवश्यक

खेलाडी संरक्षण आवश्यक

हेटौंडा/बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले कराते खेल नेपालको खेलकुद क्षेत्रकै प्रतिष्ठितमध्ये एक रहेको भन्दै खेलाडी संरक्षण आवश्यक रहेको बताएका छन् । शुक्रबार मेलम्ची नगरपालिकामा सिन्धुपाल्चोक जिल्ला गोजुरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिता उद्घाटन गर्दै मन्त्री महर्जनले विगतमा राज्यले कराते र खेल क्षेत्रलाई प्राथमिकतामा नराखेका कारण खेलाडी रोजगारको निम्ति विदेश पलायन हुन बाध्य भएको बताए । नेपाललाई विश्वभरि चिनाउने खेलाडीहरु जीविकोपार्जनका लागि विदेश पलायन हुनु चिन्ताको विषय भएको उनले बताए ।

राष्ट्रको पहिचान गराउने नै खेलकुद माध्यम रहेकाले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सोहीअनुसार बजेट छुट्याएर खेलाडीको रोजगार ग्यारेन्टी गर्न सक्नुपर्ने उनले बताएका छन् । उनले खेलाडीलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । खेलाडीहरु पनि स्वदेशमा बसेर अन्तर्राष्ट्रियजगत्‌मा नेपालको झण्डा फहराउन प्रतिबद्ध भएर लाग्नुपर्ने उनले बताएका छन् ।

महर्जनले बागमती प्रदेशमा आफू खेलकुद मन्त्री भएको केही दिनमा पारा ओलम्पिक गेममा कास्य पदक विजेता पलेशा गोवद्र्र्धनलाई दश लाख नगद पुरस्कार तथा उनका कोच कविराज नेगीलाई ३ लाख नगद पुरस्कारले सम्मान गरिएको बताए । उनले एक वर्षअगाडि १९ औं एसियन गेममा रजत पदक विजेता एरिका गुरुङलाई ५ लाख नगद पुरस्कार, उनका कोच कुशल श्रेष्ठलाई नगद पुस्कार १ लाखका साथै प्रदेश राजधानी हेटौंडामा सयौंको संख्यामा खेलाडी र्‍यालीसहित मुख्यमन्त्री बहादुरसिं लामाको प्रमुख आतिथ्यतामा भव्यरुपमा सम्मान कार्यक्रम गरेको बताए ।

बागमती प्रदेशमा यसपहिलेका मन्त्रीहरुले खेलाडीलाई नगदसहित यस्ता सम्मान गरेको उदाहरण आफूले नदेखेको मन्त्री महर्जनले बताएका छन् । महर्जनले खेलाडी सम्मानका निमित्त कार्यविधि तयार पारेर मन्त्रिपरिषद् बैठकमा पेश गर्ने बताएका छन् । खेलकुद मन्त्री महर्जनले बागमती प्रदेशमा व्यापकरुपमा खेलकुद गतिविधि अघि बढाउनको निम्ति विभिन्न खेलविधामा प्रशिक्षक व्यवस्थापन प्रक्रिया अगाडि बढाइसकिएको बताए ।

अबको २/३ महिनामा आर्थिक वर्षको बजेटको प्रक्रिया सुरु गरिने र बागमती प्रदेश नै खेलकुदमय बनाउने उद्धेश्यसाथ बजेट बिनियोजन गरिने मन्त्री महर्जनले बताएका छन् । बागमती प्रदेशका १३ जिल्लामा आवश्यकतानुसार भौतिक पूर्वाधार तयार गरिने उनले बताए । प्रतियोगितामा ३ सयभन्दा बढी खेलाडीको सहभागी रहेको आयोजक कमिटीले बताएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here