हेटौंडा/विसं १९९० साल माघ २ गतेका दिन २ बजे नेपालको अधिकांश भागमा प्रलयदुत भुकम्प गएको थियो । त्यस दिन सूर्य, चन्द्र, मंगल, बुध, शनि र शुक्रसमेत मकर राशिमा एकै रेखामा परेका थिए । उक्त भुकम्पमा अधिराज्यभरको अनुमानित क्षति ३ लाख ८८ हजार घर भत्केर क्षतिग्रस्त, ८ हजार ५ सय १९ जनाको मृत्यु र ३ हजार ३ सय १९ जना गम्भीर घाइते भए ।
पशुपक्षी केकति क्षति भए, त्यसको लेखाजोखा सम्भव भएन । प्रधानमन्त्री जुद्ध शमशेरले भुकम्प पीडितोद्वार संस्था र कोष स्थापना गरी स्वयम्सेवी सेवा, निर्व्याजी ऋणसुबिधा दिइ तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए । यसबाट काठमाडौं उपत्यकामा आधुनिक किसिमबाट पुनर्निर्माण भयो । उनले भुकम्पको स्थितिबाट पार पाउन मुलुकीखानाबाट ५० लाखको चा“दी लिइ डेढ करोडबराबर मुद्रा गराएका थिए । यसले गर्दा देशमा मुद्रास्फीति चर्केको थियो ।
विसं १९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यस भुकम्पका कथाहरु लिपिवद्ध छैनन् र भुकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसानसमेत भइसकेको छ । ९० सालका भुकम्पका कथाहरु हामीमध्ये धेरैले हजुरबुबा–हजुरआमा, जिजुबुबा–जिजुआमाबाट सुनेका हुनसक्छौं । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारका पछिल्लो पुस्तामा श्राद्ध वा तर्पणको दिन पनि हुनसक्छ । किनकि, धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।
भुकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० वा ७० वर्षमा यो नेपाल अनि आसपास क्षेत्रमा विध्वंशात्मक रुपमा आइरहेको छ । यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक भुकम्पको सामना गर्नुपर्यो । १९९० को भुकम्पबारे स्वर्गीय पुस्ताका केही वयोवृद्ध हजुरआमा अनि हजुरबुबाले सुनाएका अनुभव सारांशका रुपमा प्रस्तुत गर्न चाहन्छौं ।
उक्त दिन अर्थात् आजको मिति माघ २ गते अन्य बेलाभन्दा धेरै चिसो र स्या“ठ चलेको थियो । एक्कासी जमिनभित्रबाट कुनै दैत्य निस्कन आँटेजस्तो जमिन चट्पटाउन थाल्यो, भीर अनि कान्लाबाट ठूलाठूला ढुंगाहरु झर्न थाले, रातिको समय नभएकाले मेलापात गएका धेरै मान्छेहरु त्यस्ता ढुंगा र पहिरोमा परेर बिते । माटाका गाह्राले थिचेर घरभित्र धेरैको मृत्यु भयो र भुकम्पले घाइते भएकामध्ये धेरैको समयमै उपचार नपाएर मृत्यु हुँदै गयो ।
उतिबेला ९० सालमा हालजस्तो धेरै अस्पताल र सुबिधा थिएन, उपचार नपाएर पनि धेरैको मृत्यु भयो । धेरै त्यस्ता नदीनाला अनि खहरे खोलाहरुले भुकम्पका कारण आफ्नो बाटो परिवर्तन गरे, कति पानीका मूल सुके भने कति नयाँ मूल रसाएर आए । राणा शासनकालमा भएको त्यो प्राकृतिक अत्याचारको अनि क्षतिको सम्झनास्वरुप हरेक वर्ष माघ २ मा राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइन्छ ।
नेपालको भुकम्प इतिहासमा सबभन्दा बीभत्स र विनाशकारी विसं १९९० माघ २ गतेको भुकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रविन्दु बनाएर गएको ८.४ रेक्टरस्केलको भुकम्पले देशलाई नराम्रो असर पार्यो । उक्त भुकम्पमा ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी ८ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकामा करिब ४ हजार ५ सय जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत २ लाख ७ हजार ४० संरचना भत्किएको अभिलेख छ ।
भुकम्प एउटा प्राकृतिक प्रकोप हो र यसलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भुकम्प आफैंले हामीलाई मार्ने हैन बरु हामीहरुले बनाएका घर अनि गाह्राहरुले किचेर हाम्रो ज्यान जान्छ । २०७२ सालको भुकम्पमा पनि धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको संख्या बढाउनमा गलत जानकारी अनि गलत तरिकाले बनाएक भौतिक पूर्वाधार जिम्मेवार छन् । अव्यवहारिक र न्यून तार्किक आयातित जानकारीका कारण धेरै जनाले समय पाउँदापाउँदै पनि आफूलाई बचाउन सकेनन् । वास्तवमा समय र परिस्थितिपरक भुईंचालो सम्बन्धि जानकारीहरु अझै नेपालमा प्रवाह गर्नु जरुरी छ ।
२०७२ सालअगाडि नेपाली माटो अनि भौतिक पूर्वाधारका विषयमा भुईंचालो केन्द्रित धेरै अध्ययनले त्रासदिपूर्ण रिपोर्टहरु दिए । तर, सयौं शताब्दीदेखि डाँडाकाँडा तथा भीरपाखामा बसोबास गर्दै आएका नेपालीहरुको विकासको पूर्वाधार र परम्परागत् निर्माण शैली उति कमजोर भने छैन । यसो भन्दैमा धेरै व्यावसायिक अनि अत्यन्त जीर्ण भवनमा भुकम्पका बेला बसोबास गर्न भने हुँदैन । ब्यापक जग्गा प्लटिङ र पहाड कटानी र फँडानीमा अंकुश लगाउनु आवश्यक छ ।
९० सालको भुईंचालोले टुक्र्याएको धरहरालाई ७२ सालको भुईंचालोले क्षणभरमै धुलो बनाइदियो, यी इतिहासहरु नमरुन् । भुकम्पका हिसाबले नेपाल जोखिममा छ, पर्वतश्रृंखलाहरु बनिनुको मुख्य कारण नै टेक्टोनिक प्लेट्सहरुको चलायमानता हो । नेपाली पर्वतश्रृंखलाहरुमा भेटिएका शालिग्राम र अन्य समुद्री जीवहरुको अवशेषले त्यस ठाउँमा हजारौं वर्षअघि समुद्र रहेको प्रमाणित गरेको छ । उक्त ठाउँमा तेथिस सागर रहेको र हजारौं वर्षमा टेक्टोनिक प्लेटहरुको चलायमानताले गर्दा पर्वतश्रृंखला बनेंको पुष्टि भएको हो । यस भौगोलिक अवस्थाका कारणले नेपाल सदैंव भुकम्पकीय जोखिममा छ ।
नेपालको इतिहासमा अभिलिखित वि.सं १८९० भदौ १२ गते, १९९० माघ २ गते, २०४५ भदौ ५ गते र २०७२ बैशाख १२ गतेको भुकम्पलाई नेपालमा भएका भुकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भुकम्प इतिहास केलाउँदा विसं १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भुकम्प मानिन्छ ।
१२१८ को भुकम्प
वि.सं १२१८ असार शुक्ल तृतीया तिथि सोमबारका दिन करिब ७.७ रेक्टरस्केलको भुकम्प गएको विज्ञहरुको भनाइ छ । यही भुकम्पमा राजा अभय मल्लको निधन भएको थियो । उक्त भुकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीयले १५ दिनदेखि एक महिनासम्म शहर छाड्नुपरेको थियो ।
१३१६ को भुकम्प
रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भुकम्प विसं १३१६ को हो । उक्त भुकम्पले पनि अत्यासलाग्दो क्षति पुर्याएको थियो । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।
१४६५ को भुकम्प
करिब १ सय ४९ वर्षपछि विसं १४६५ मा आएको भुकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमिनमा ठूल्ठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । भुकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।
१७३७ देखिका भुकम्प
नेपालमा अन्य थुप्रै पटक भुकम्प गएको भनाइ रहेको भए पनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये विसं १७३७ सालको राति भुकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत् निम्त्याएको थियो भने विसं १८२४ असार १ गते एकै दिनमा २१ पटक भुकम्पको धक्का महसुस गरियो । यसले केकति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन । तर, २४ घण्टाभित्रमा २१ पटक भुकम्प जाँदा ठूलै क्षति भएको अनुमान छ ।
विसं १८६७ जेठ १० गते गएको भुकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति त भएन । तर, मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा भुकम्पले निकै मानिसको ज्यान लिएको थियो । विसं १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सात वटा ग्रह छुट्टिँदा भुकम्प गएको थियो । एकै दिन १७ पटक भुकम्प गएको थियो । उक्त विपत्तिले पनि निकै क्षति पुर्यायो ।
१८९० को भुकम्प
विसं १८९० भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर विनाशकारी भुकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भुकम्पको झड्का महसुस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरु र टुँडीखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । भुकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो । काठमाडौंमा रहेका दुई धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधामात्र भत्कियो । भुकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भुकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । भुकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि विसं १८९१ असार र असोजमा दुई ठूला भुकम्प गए । पानी परिरहेका बेला यी भुकम्प गएका कारणले बागमतीमा ठूलो बाढी आयो ।
२०४५ को भुकम्प
हामीले भुल्न नसक्ने स्मरणीय भुकम्प विसं २०४५ भदौ ५ गते विहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्लास्थित मुर्कुचीलाई केन्द्रविन्दु बनाएर गएको ६.७ रेक्टरस्केलको भुकम्पमा करिब ७ सय ५० जनाले ज्यान गुमाए भने ६ हजार ५ सय भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।
२०७२ को भुकम्प
२०७२ बैशाख १२ गते शनिबार गएको भुकम्पमा ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका छन् । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पमा २ हजार ६ सय ७३ सरकारी भवनमा पूर्णक्षति, ३ हजार ७ सय ५७ सरकारी भवनमा आंशिक क्षति भएको थियो । ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्णक्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । भुकम्पमा धरहरा, वसन्तपुर, बुङ्मतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए । र, उक्त भुकम्प ७.८ रेक्टरको थियो ।