27.9 C
Makwānpur
Homeमुख्य समाचारसम्झनामा रुद्रबहादुर पाख्रिन ‘माल्यार्पण’ मा सीमित भयो योगदान

सम्झनामा रुद्रबहादुर पाख्रिन ‘माल्यार्पण’ मा सीमित भयो योगदान

हेटौंडा/तत्कालीन नेकपा माओबादी मकवानपुरका नेता रुद्रबहादुर पाख्रिन (रमेश) को २२ औं स्मृतिमा आइतबार मकवानपुरगढी–४, रुद्रबाटिकामा रहेको पाख्रिनको पूर्णकदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

२०५२ सालदेखि नेकपा माओबादीले सुरु गरेको जनयुद्धका कमाण्डर पाख्रिनको २०५९ पुस २८ मा तत्कालीन सरकार पक्षले मकवानपुरको छतिवन गाविसको गर्गरेमा हत्या गरेको थियो । नेकपा (माओबादी केन्द्र) मकवानपुरगढी गाउँ कमिटीको आयोजनामा भएको स्मृति दिवस कार्यक्रममा नेकपा (माओबादी केन्द्र) केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता थियो ।

प्रमुख अतिथि मोक्तानले जनताको मुक्ति र समाज विकासका लागि पाख्रिनको योगदान महत्वपूर्ण भएको बताइन् । नेकपा (माओबादी केन्द्र) मकवानपुरगढी गाउँ कमिटी अध्यक्ष राजकुमार खड्काको सभाध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओबादी केन्द्र) केन्द्रीय सदस्य मानकुमारी नेपाली, बागमती प्रदेश समिति उपाध्यक्ष प्रेमबहादुर पुलामी, सदस्य ललित घलान, विवेक राई, शुभरत्न गोले, सीता पुलामी, जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रिन, सचिव वीरबहादुर घलान, अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुर अध्यक्ष जयराम रायमाझीलगायतको आतिथ्यता थियो । २०१९ साउन २७ मा जन्मेका पाख्रिन कुशल नेतृत्वकर्ता र असल राजनीतिज्ञ भएको उनका राजनीतिक सहकर्मीहरु बताउँछन् ।

मुलुक परिवर्तनका लागि ज्यानको आहुति दिएका पाख्रिनको स्मृति दिवस माल्यार्पणमै सीमित हुन पुगेको छ । पाख्रिनले जुन व्यवस्था ल्याउनका लागि हाँसीहाँसी ज्यान गुमाए, आज त्यही व्यवस्थामाथि आक्रमण हुँदासमेत उनको योगदानको कदर गर्नेहरु भेटिन छाडेका छन् ।

पाख्रिनकै पदचापमा मुलुक परिवर्तन गर्न जनयुद्धमा होमिएकाहरु हाल पार्टीको विभिन्न तहमा नेतृत्व गरिरहेका छन् । तर, पनि पाख्रिनको योगदान प्रतिमामा मात्र सीमित राखेको भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन् । केही वर्षअघिसम्म विशेषरुपमा मनाइने गरिएको पाख्रिनको स्मिृत दिवस अघिल्ला वर्षदेखि माल्यार्पणमै सीमित बनाइएको हो ।

देशको वर्तमान राजनीतिक अवस्था जटिल बनेको समयमा स्मृति दिवसलाई विशेषरुपमा मनाएर उनको सपना पूरा गर्ने अभियानका रुपमा प्रतिवद्धता जनाउनुपर्ने थियो । तर, त्यसो हुन सकेन । यस वर्ष पनि औपचारिकताका लागि पाख्रिनको प्रतिमामा माल्यार्पण गर्ने काममात्र भएको छ । रुद्र पाख्रिनका छोरा, बुहारी, छोरी, ज्वाईं भाइबहिनी सबै उनकै प्रेरणाले माओबादी पार्टीमा विभिन्न जिम्मेवारीमा छन् ।

पाख्रिनको योगदान अब सामाजिकसञ्जालमा मात्र हुन थालेको छ । तत्कालीन माओबादी जनयुद्धमा मकवानपुरको कमाण्ड सम्हालेका पाख्रिन २०५९ पुस २८ गते मारिएका थिए । पार्टीको कामको सिलसिलामा मकवानपुरको पूर्वी क्षेत्र जाँदै गरेका पाख्रिनलाई तत्कालीन शाही नेपाली सेनाले बकैया गाउँपालिकाको छतिवनमा नियन्त्रणमा लिएर हत्या गरेको थियो । उनी २०५४ सालबाट पूर्णभूमिगत् भएर राजनीतिक गतिविधि सञ्चालनमा सक्रिय थिए ।

पाख्रिनको सम्झनामा मकवानपुरगढीमा रुद्र स्मृति बाटिका स्थापना गरिएको छ । हेटौंडाबाट करिब ५ किलोमिटर पूर्व र चौघडाबाट करिब २ किलोमिटर उत्तरतर्फको माथिल्लो बस्ती भएको क्षेत्र मकवानपुरगढी गाउँपालिकाको कालीखोलास्थित शान्तिचोकमा बाटिका स्थापना गरिएको छ ।

उक्त बाटिका २०६३ मंसिर ९ गते पहिलो पटक ७० जना व्यक्तिको भेलाले रुद्र स्मृति उद्यान निर्माण गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २०६३ फागुन ८ गते दर्ता भयो । बाटिकाको क्षेत्रफल करिब ४० रोपनी छ । संस्थाको हाल आफ्‌नै व्यवस्थित भवन, शौचालय र स्नानघर, पिकनिकस्थल, प्रतीक्षालय, चौतारोलगायत संरचना छन् ।

२०१९ साउन २७ गते सनमान पाख्रिन र माया पाख्रिनका ज्येष्ठ सुपुत्रका रुपमा रुद्रबहादुर पाख्रिनको मकवानपुरको गोगनेस्थित बांगे भन्ने ठाउँमा जन्म भएको थियो । गोगनेबाट २०२० सालमा पाख्रिनको परिवार मकवानपुरगढीमा आएको हो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here