20 C
Makwānpur
Homeमुख्य समाचारबाघबाट ज्यान गुमाएकी परिवारलाई सहयोग

बाघबाट ज्यान गुमाएकी परिवारलाई सहयोग

हेटौंडा/पश्चिम मकवानपुरको मनहरी–५ मा पुस १४ गते बाघको आक्रमणबाट ज्यान गुमाएकी ७२ वर्षीया कान्छीमाया रुम्बाको परिवारलाई मनहरी गाउँपालिकाले सहयोग गरेको छ ।

पालिका अध्यक्ष रञ्जन कालाखेतीले घरमै पुगेर तत्काल किरिया खर्चका लागि ५० हजार सहयोग गरेका हुने । पर्सा राष्ट्रिय निकुञ्ज र अन्य सम्बन्धित निकायहरुसँग समन्वय गरी क्षतिपूर्तिका लागि पहल गरिरहेको जानकारी उनले दिए । अध्यक्ष कालाखेतीले उक्त घटना केवल व्यक्तिगत् दुःखमात्र नभइ मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वको गम्भीर संकेत भएको बताउँदै दीर्घकालीन समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।

उनले जंगली जनावरका आक्रमणबाट हुने क्षति रोक्न सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उक्त घटनापछि मानव र वन्यजन्तुबीच सन्तुलन कायम राख्न ठोस र दीर्घकालीन रणनीतिहरु अपनाउनु आवश्यक रहेकोमा जोड दिए ।

मनहरी–५, बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रुम्बाकी ७२ वर्षीया पत्नी कान्छीमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । रुम्बालाई साँझ करिब ५ बजे घरनजिकको खोल्सामा बाघले आक्रमण गरेको जनाइएको छ । घटनापछि बसन्तपुर गाउँ त्रसित बनेको छ ।

मृतक रुम्बा घरनजिक बारिमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५ सय मिटर पूर्व शरीरमा चोट लागेको मृत फेला पारेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घटनाबारे प्रहरीलाई राति करिब १० बजेमात्र खबर भएको घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए ।

बाघले भोलिपल्ट विहान सोही ठाउँमा ७ वटा बाख्रा मारेको थियो । विहान करिब ५ बजे बसन्तपुरस्थित सूर्यबहादुर मोक्तानको घरनजिक रहेको बाख्राको खोरमा छिरेर बाघले ७ वटा बाख्रा मारेको हो । ७ वटा बाख्रामध्ये एउटा बाख्रा बाघले लगेको थियो ।

मकवानपुरको हेटौंडा–१३, आधामारमा शुक्रबार राति बाघले स्थानीय पूर्णसिंह लोप्चनको खोरमा बाँधिएको बाख्रा मारेको छ । बाघले बाख्रालाई आधा खाएर छाडेको र स्थानीयले होहल्ला गरेपछि बाघ भागेको बताइएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी पदमपोखरीबाट टोली घटनास्थल पुगेको थियो । बाघको खोजतलासका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको छ । यसअघि पनि हेटौंडा–१२ र १३ क्षेत्रमा बाघ देखापर्ने घटना भएको थियो । बाघको आवागमनले स्थानीयमा त्रास फैलिएको छ । सुरक्षा र जनावर व्यवस्थापनका लागि थप कदम चालिने अपेक्षा गरिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here