31.9 C
Makwānpur
Homeमुख्य समाचारमानव–हात्ती द्वन्द्वका ११ हजार बढी घटना

मानव–हात्ती द्वन्द्वका ११ हजार बढी घटना

मनिता राना

हेटौंडा/घाँस, दाउरा, खेतीपातीका काममा महिलाको संलग्नता बढी रहेको कारण जनावरको बढी जोखिममा महिला रहेको भन्दै नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ पर्सा राष्ट्रिय निकुञ्ज पदमपोखरी सेक्टर कार्यालय लामीटार पुगेका थिए । जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले आर्मीको पोष्टमा तोडफोड र आगजनी गरेका थिए । आक्रोशित स्थानीयले मनहरी–३, लामीटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको पोष्टमा तोडफोड गरेका थिए ।

हात्ती लखेट्न र धनजन क्षति हुन नदिन कुनै भूमिका नखेलेको भन्दै स्थानीय आक्रोशित हुने गरेका छन् । निकुञ्जले मानिसलाई भन्दा जनावरलाई बढी महत्व दिएको भन्दै आक्रोशित स्थानीयले नाराबाजी गर्दै आएका छन् । मकवानपुरका गाउँबस्ती चाहार्दै, मान्छे मार्दै गर्दा सम्बन्धित निकायले जनताको जिउधन सुरक्षामा ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । मानवबस्तीमा हात्ती प्रवेश गरेर दिनदिनै आक्रमण गरी ज्यान लिँदा पनि प्रशासन मौन रहेको स्थानीयको आरोप छ । पश्चिम मकवानपुरको मनहरीदेखि हेटौंडा हुँदै बकैया गाउँपालिका पुगेको हात्ती केही महिनाअघि भारतबाट आएको दाबी गरिएको थियो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य बानियाँले जंगली हात्तीको आक्रमणमा मृत्यु भएका परिवारलाई संघीय सरकारले उपलब्ध गराउने १० लाख राहत थोरै भएको बताएका छन् । आरक्ष तथा निकुञ्ज क्षेत्र विस्तार हुँदै जाँदा जनावर र मानवबीच द्वन्द्व बढ्दै गएको नेता बानियाँको भनाइ छ ।

द्वन्द्वका कारण हुने मानवीय क्षतिलाई सम्बोधन गर्न सरकारले राहत प्रदान गर्ने व्यवस्था गरेको छ । मानव मृत्यु भएमा पीडित परिवारलाई १० लाखसम्म राहत प्रदान गरिन्छ । गम्भीर घाइते भए २ लाख, सामान्य घाइते भए २० हजार र अंगभंग भए ५ लाखको राहत उपलब्ध गराइन्छ । घरगोठ क्षतिका लागि २० हजार र अन्नबाली क्षतिका लागि १० हजार राहत दिने कानुनी प्रावधान छ ।

बानियाँले मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको उचित मर्मतसुधार गरी हात्तीलाई बस्तीमा पस्नबाट रोक्ने, अतिप्रभावित क्षेत्रमा थप विद्युतीय तारबार गर्नुपर्ने, हात्ती धपाउनका लागि आवश्यक उचित गाडी, ट्याक्टर व्यवस्था गर्नुपर्ने, समस्याग्रस्त हात्ती पहिचान गरी र तिनको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । हात्ती पर्यटनमा जोड दिने, हात्तीले नखाने चिया, कागती, ल्वाङ, सुपारी, बेसार आदिको खेतीप्रणाली सुरु गर्ने, पीडितलाई आर्थिक सहुलियत दिनुपर्नेमा उनको जोड छ ।

विश्वमा दुई प्रजातिका हात्ती पाइन्छन् । एसियाली र अफ्रिकी हात्ती । एसियाली हात्ती नेपाल, भारत, भुटानलगायत १३ राष्ट्रमा पाइन्छन् । तिनको संख्या हाल करिब ५० हजारको हाराहारीमा रहेको बताइन्छ । विश्व संरक्षण संघले हात्तीलाई संकटापन्न प्रजातिको सूचीमा राखेको छ । नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत् हात्ती संरक्षणमा विशेष ध्यान दिइएको छ ।

चुरे तराई क्षेत्रको करिब १३ हजार वर्ग किलोमिटर क्षेत्र हात्तीको बासस्थानका लागि उपयुक्त मानिन्छ । यद्यपि, विगत ९० वर्षमा करिब २२ प्रतिशत् बासस्थान विनास भएको तथ्यले उक्त क्षेत्र हात्तीका लागि कम सुरक्षित हुँदै गएको बताइएको छ । मानव र हात्ती दुवैलाई पर्ने क्षति कम गर्न सरकारले विभिन्न पहल गर्दै आएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जले तराईका रुपन्देही र पश्चिमी नवलपरासीबाहेक सबै जिल्लामा हात्ती पाइने बताएको छ । परापूर्वकालदेखि नै हात्ती ओहोरदोहोर गर्ने हात्तीमार्गमा हाल बस्ती र खेती भएकाले त्यस्ता स्थानमा बेलाबेलामा हात्तीसँग मानिसको द्वन्द्व हुने गर्छ । मानिस र हात्तीले एउटै बासस्थान र आहार प्रयोग गर्ने गरेकाले पनि यस समस्या देखिएको हो । बासस्थान विनास हुनु र खण्डीकरण हुनु मानव–हात्ती द्वन्द्वको मुख्य कारण बनेको छ ।

बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेका छन् । बासस्थान क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानवबस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरीशिकारी मुख्य चुनौती देखिएका छन् ।

नेपालमा घरपालुवा १ सय ७० (सरकारी १ सय १०) हात्ती छन् । हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । घरपालुवा हात्ती कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छन् । छिमेकी चितवनमा हात्ती प्रजनन् केन्द्र सफलरुपमा सञ्चालित छ ।

हात्ती, जमिनमा पाइने सबभन्दा ठूलो जनावर हो । हात्तीलाई हिन्दुधर्ममा भगवान्‌का रुपमा पूजा गर्ने गरिन्छ । विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा छ । सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जंगली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ भने पर्यटन प्रवद्र्धनमा पनि हात्तीको ठूलो योगदान छ । पछिल्लो समय वन्यजन्तुको संख्या वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवम् संकुचनले गर्दा वन्यजन्तु आफ्‌नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसवरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ३९, सामान्य घाइते संख्या ७२ र सख्त घाइते हुनेको संख्या १ सय २४, घरगोठको क्षति पाँच सय ३१ छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सबभन्दा बढी हात्ती र त्यसपछि बाघको आक्रमणबाट मानिसको मृन्यु हुने गरेको छ ।
२० वर्षमा नेपालमा ११ हजारभन्दा बढी मानव–हात्ती द्वन्द्वका घटना रेकर्ड गरिएका छन् । यी घटनामा दुई सय ७४ जनाको मृत्यु भएको छ भने एक सय ३८ जना घाइते भएका देखिन्छ । मानव–हात्ती द्वन्द्व कम गर्न सरकारले केही महत्वपूर्ण कदम चालेको छ । विभागका अनुसार आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म करिब ९२ किलोमिटर विद्युतीय तारबार जडान गरिएको छ । यस कार्यमा करिब ११ करोड खर्च भएको छ । मानव–हात्ती सहअस्तित्व बलियो बनाउने सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here