मनिता राना
हेटौंडा/बुधबार विहानैदेखि हेटौंडाका एक्कासि जाडो बढ्यो । जसका कारण सामान्य परिवारले न्यानोका लागि फोहोर बालेर आगो तापेको देखियो । यसबाट निस्किने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिक र वायुमण्डलको तल्लो भागमा रहिरहन्छ । जसले स्वास्थ्यमा हानि गर्दछ ।
स्वास्थ्य तथा वातावरणविद्का अनुसार यसले बातावारण प्रदुषित बनाइ हाम्रो फोक्सोलाई समेत नकारात्मक असर पार्छ । दैनिक जीवनमा हामी हाम्रो घरवरपर वा सडक सफा राख्नका लागि वरपरको फोहोर जम्मा गरेर बाल्ने गर्दछौं । त्यसमा पनि चिसो मौसममा आगो ताप्न फोहोर बाल्ने गरिन्छ ।
चिसो बढेसँगै हेटौंडाका विभिन्न स्थानमा जताततै भेटिने फोहोरमा विशेषगरि प्लाष्टिक वा जंकफुडका खोलदेखि टायरसमेत हुन्छन्, जसलाई बालेर ताप्ने गरिन्छ । वरपर वा सडक सफा राख्दा धेरैले जानेको काइदा नै हो, वरपरको फोहो जम्मा गरेर बालिदिने ।
त्यसमा पनि चिसो बढेसँगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले वातावारण प्रदुषित बनाइदिन्छ । स्वास्थ्य तथा वातावरणविद्का अनुसार हेटौंडामा घरबाहिरका फोहोर बाल्ने यही प्रचलन वातावारण प्रदुषणको प्रमुख कारण बन्दै गएको छ । फोहोरबाट निस्कने धुवाँमा विभिन्न हानिकारक ग्यास हुने भएकाले यसले सीधै फोक्सो ड्यामेज गर्छ र कहिल्यै निको नहुने रोग लाग्न सक्छ । फोहोरबाट निस्कने धुवाँको ग्यासलाई मास्क लगाएर पनि छेक्न सकिन्न । हेटौंडामा विहान ८ बजेदेखि ९ बजेसम्म बढी प्रदुषण हुने र मध्याह्न र साँझ घट्ने अध्ययनले देखाएको छ ।
जर्मनस्थित इन्स्टिच्युट फर एड्न्भान्स सस्टेनेबिलिटी स्टडिज (आईएएसएस) का अनुसन्धान प्रमुख महेश्वर रुपाखेतीसहित टोलीले गरेको वायुको गुणस्तरसम्बन्धि एक अध्ययनले प्रदुषित वायु मध्याह्नपछि मात्र घट्ने गरेको देखाएको थियो । मध्याह्नसँगै तातेर हलुंगो भएपछिमात्र वायु विस्तारै अन्यत्रतिर लाग्ने र त्यहाँबाट बाहिरिने गरेको अध्ययनले देखाएको छ ।
मौसम परिवर्तनले गर्दा मानिसको स्वास्थ्यमा पनि परिवर्तन आउँछ । सामान्यतया गर्मी मौसम र जाडो मौसम गरी २ थरि मौसम हामीकहाँ बढी चलनमा आउने गरेका छन् । यी दुवै मौसममा बिरामीहरु तथा स्वस्थ्य मानिसले समेत विशेष ख्याल गर्नु आवश्यक छ । यदि यी मौसममा अघिपछिजस्तै सामान्य तरिकाले जीवनयापन गर्न खोजियो भने जीवनमा सोच्न नसकिने समस्याहरु आउँछन् ।
न अति जाडो ठीक हुन्छ न अति गर्मी । न जाडो न गर्मीको मौसम सँधै पाउन सकिँदैन । त्यसकारण हामीहरु अति जाडो र अति गर्मीबाट बच्नुपर्ने हुन्छ । जाडो र गर्मी मौसमअनुसार लवाइ, खुवाइ तथा पथपरहेजमा बस्न सकेको खण्डमा त्यतिसारो आत्तिइहाल्नु पनि पर्दैन । मुल कुरा जीवनयापनको तरिका हो, जिउने शैली हो । यो तरीकालाई हामीले मौसममैत्री बनाउन सक्नुुपर्दछ ।
यो पुसको महिना हो । यसै पनि पुस जाडोको मौसमले चिनिने महिनामा पर्दछ । हाल मौसम एक्कासि बदलिएको छ । मंसिरदेखि फागुन आधाआधीसम्म प्रायः चिसो मौसम नै रहन्छ । तापनि, पुस र माघ महिना अधिक जाडोका महिना हुन् । यस बेला अर्थात् पुस, माघमा अधिक जाडोले सताउने गर्दछ । बढी कपाउने जाडो यही मौसममा हुन्छ । हाल पनि तराईमा हुस्सु लागेको छ । शीतलहर देखापरेको छ । अस्पतालमा रुघा, खोकी, ज्वरो र निमोनियाका बिरामीहरु बढेका समाचारहरु आइरहेका छन् ।
जाडो बढेसँगै हामीलाई विभिन्न खालका रोगहरुले पनि सताउने गर्दछ । रोग गर्मीमा मात्र लाग्छ भन्ने कुरा गलत हो । जाडोमा जे खाए पनि पच्छ, यसैले रोग लाग्दैन पनि भन्ने चलन छ । तर। यस भनाइमा सत्यता छैन भनेर चिकित्सकहरु भन्ने गर्छन् । रोग जाडो र गर्मी दुवै सिजनमा लाग्छ । केबल जाडोमा लाग्ने रोगको संक्रमण र गर्मीमा लाग्ने रोगको संक्रमण एकनासको नहुनेमात्र हो । बालबच्चा, बुढाबुढी र श्वासप्रश्वासका रोगीहरुलाई जाडो महिनामा बढी च्याप्ने गर्दछ । जाडोले कतिपय ठाउँमा कठ्यांग्रिएर मानिसको मृत्यु भएको सुन्नमा आउँछ ।
जाडोले धनीलाई भन्दा गरिबलाई बढ्ता सताउने गर्दछ । किनभने, धनीहरु जाडोसँग लड्ने गरी बाक्ला कपडा लगाउन सक्छन्, विद्युत हिटर तापेर, एसी लगाएर जाडो भगाउन सक्छन् । उनीहरुले दैनिक खानपिनमा बढी गर्मी गर्ने चिजहरु समावेश गरेका हुन्छन् । तर, गरिबसँग यी सब कुराको बन्दोबस्ती नहुन सक्दछ । चाहेर पनि यी कुराहरु नपुग्न सक्दछ ।
अधिक चिसो छल्ने नाममा बढी रक्सी खाने र रातभर हिटर तापेर सुत्न खोज्दा निस्सासिएर मृत्युु भएका दुःखद् खबरहरु पनि सुन्नमा आउने गर्छन् । अधिक चिसोका कारण शारीरिक कमजोरी भएका बुढाबुढीहरु, घररबारविहीन परिवार, मजदुर बढी पीडित हुन्छन् । यस्तो बेला उनीहरुलाई झाडापखाला लाग्ने, निमोनिया हुने, टाउको दुख्ने, छाति दुख्ने, कान रातो हुने, रुघाखोकी लाग्ने, दम बढ्ने, अनुहारमा सेतो दाग देखिने, ओठ फुट्ने, हातखुट्टा फुट्ने, चिलाउने, छालामा फुस्रोपना आउने, चिसोको एलर्जी हुने, हातखुट्टा जोर्नी सुन्निने, मुटु र मष्तिष्कमा समेत असर पारेर हृदयघात हुनेसम्मका रोग देखापर्न सक्छन् । यसकारण अधिक चिसोबाट बेलैमा जोगिनुपर्दछ ।
भन्न जस्तो सजिलो गर्न छैन । मुख्य कुरा गरिबी हो । गरिबीलाई रातारात हटाउन पनि सकिँदैन । तसर्थ, हामीसँग जे सम्भव हुन्छ, त्यसको प्रयोग गरी जाडो कम गर्ने वा चिसोबाट बच्ने उपाय अपनाउनु जरुरी छ । मकल ताप्ने, झोलिलो कुरा बढी खाने, पिउने गरेर केही हदसम्म चिसोबाट बच्न सकिन्छ । विहानको पारिलो घाममा बस्ने, पुराना नै भए पनि बाक्ला कपडा लगाएर चिसोलाई शरीरभित्र छिर्न नदिने गरेर पनि जाडोबाट बच्न सकिन्छ । बेलैमा सतर्कता अपनाए जाडोबाट बच्न त्यति कठिन हुँदैन ।