20 C
Makwānpur
Homeमुख्य समाचारसंघीयता सवलीकरणका लागि प्रदेशका सवालबारे छलफल

संघीयता सवलीकरणका लागि प्रदेशका सवालबारे छलफल

हेटौंडा/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रमा अधिकार राखेर केही हुने नभएकाले प्रदेश बनाइएको र प्रदेशले आफ्‌नो अधिकार क्षेत्रभित्र पर्ने काम प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

बागमती प्रदेश सरकार र फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरको संयुक्त आयोजनामा काठमाडौंमा भएको ‘प्रदेशका सवालहरु’ विषयक छलफलमा उनले अब परिणाममुखी हुनुपर्ने र यसका लागि संविधानमा लेखिएको लागु गर्नुपर्नेमा जोड दिए । ‘हामी युद्धस्तरमा १८ वटा विधेयक संसदमा ल्याउने, कार्यविस्तृतीकरण प्रक्रिया अगाडि बढाउने र लगानी तथा एकीकत कानुन संशोधन गर्ने विषयमा काम गरिरहेका छौं,’ उनको जानकारी दिए ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामातामाङको सभाध्यक्षतामा भएको छलफलमा नेकपा एमालेका केन्द्रीय सचिव छविलाल बिश्वकर्माले संस्थाले संकलन गरेका प्रदेशका सवालहरुप्रति पार्टीको ध्यानाकर्षण भएको, उक्त विषय पार्टी नेतृत्वमा पुर्‍याउने र विमर्श गराउने प्रतिवद्धता व्यक्त गरे । ‘हाल दोष कतै थोपरेर उन्मुक्ति पाउने ठाउँमा हामी छैनौं,’ उनले भने ।

नेकपा माओबादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्‌नो अनुभवमा नेपालका राजनीतिक दलका मुख्य नेताहरुको दिमाग संघीयताको पक्षमा नभएको बताए । संघीय सरकार र शीर्ष नेताहरुको अरुचिका कारण प्रदेशका कार्यसम्पादनमा जटिलता आएको बताउँदै उनले मुलुक र जनताको पक्षमा चिन्ता गर्दै अघि बढे संघीयता सफल हुने बताए ।

एकीकत समाजवादीका केन्द्रीय उपाध्यक्ष भानुभक्त जोशीले संघका मन्त्रालय र जनप्रतिनिधिले तल अधिकार दिन चाहँदैनन् भन्ने सही भएको बताउँदै केही कुरामा आफू पनि आलोचित रहेको बताए । उनले संघका कर्मचारी कर्णाली र मधेश प्रदेशमा जान नचाहेको र स्थानीय सरकारले निमित्तबाट चलाउँदा राम्रो मान्ने प्रवृत्ति गलत भएको बताए ।

प्रदेशका सवालहरुका विषयमा संस्थाका तर्फबाट डा. दीपेन्द्र रोकाया र कार्यक्रम निर्देशक प्रह्‌लाद लामिछानेले प्रस्तुत गरेको कार्यपत्रमा प्रमुख दलका नेताहरु, संघीय सांसद्हरु र बागमती प्रदेशका मन्त्री, सांसद् तथा कर्मचारीले आआफ्‌ना धारणा राखेका थिए ।

संस्था अध्यक्ष डा. खिमलाल देवकोटाले सहजीकरण गरेको कार्यक्रममा जनमत पार्टी उपाध्यक्ष डा. जयकान्त राउत, प्रतिनिधिसभा सदस्य दीपा शर्मा, रामकृष्ण ताम्राकार, रामेश्वर श्रेष्ठ, नेपाली कांग्रेस प्रतिनिधिसभा सचेतक सुशीला थिङ, छुमी लामा, बागमती प्रदेशका आर्थिक मामिला सचिव कृष्णप्रसाद मैनाली, रञ्जित चित्रकार, बागमतीका राप्रपा दल नेता उद्धब थापा, एमाले दल नेता जेएन थपलिया, प्रमुख सचिव डा. हरि लम्साल, नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगानालगायतले मन्तव्य व्यक्त गरेका थिए । छलफलमा फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टर कार्यकारी निर्देशक प्रकाश पन्थले सञ्चालन र संस्था सदस्य तथा पूर्वसांसद् दिलकुमारी थापारावल (पार्वती) ले स्वागत मन्तव्य राखेका थिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here