मनिता राना
हेटौंडा/प्रत्येक वर्षझैं यस वर्ष पनि खेतीपातीका लागि मल अभाव भएको छ । हाल मकवानपुरको थाहा नगरका किसानलाई रासायनिक मलअभाव हुँदा आलुखेतीको चिन्ता बढिरहेको छ । थाहामा मल वितरण गर्न १७ वटा सहकारी र २ निजी व्यापारीले जिम्मा पाएका छन् । तर, कृषि सामग्री संस्थानमा थाहाका लागि छुट्याइएको मलको कोटा सकिएपछि हाल थाहामा मलको हाहाकार भएको छ ।
थाहामा मलअभाव भएपछि मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद् महेशकुमार बर्तौलाले मल सहज गरिदिन बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालय आइपुगेका छन् । थाहाको समस्यालाई लिएर नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानसहित टोलीले सोमबार मन्त्री प्रकाश श्रेष्ठलाई भेट गरी समस्या समाधान गरिदिन आग्रह गरेको छ । आलु रोप्ने सिजन लागिसक्दा डीएपी र युरियालगायत रासायनिक मलअभाव भएपछि थाहा नगरपालिकाका किसान समस्या समाधान गरिदिन अनुरोध गर्दै बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालय आएका हुन् ।
किसान टोलीले मन्त्री प्रकाश श्रेष्ठलाई भेटेर मल उपलब्ध गराइदिन आग्रह गरे । आलु रोप्न ड्याङ तयार भइसक्दा पनि मलको अभावमा किसानले आलु रोप्न सकेका छैनन् । हाल निजी क्षेत्रका ब्यापारीसँग महँगो मूल्य तिरेर किसानले आलु रोप्नुपरेको छ । मकवानपुरको थाहा नगरपालिकालाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । आलुको व्यावसायिक खेती हुँदै आएको पालिकामा रासायनिक मलको आपूर्ति सहज बनाउन पालिकाको पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको किसानहरुको गुनासो छ ।
एमाले थाहा अध्यक्ष प्रधान, सचिव सुजन रायमाझी, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीसहितको भेटमा मन्त्री श्रेष्ठले कृषि सामग्री संस्थान हेटौंडाका प्रमुख प्रकाश चन्द्र ज्ञवालीलाई थाहाको माग सम्बोधन गर्न निर्देशन दिए । भेटमा संस्थान प्रमुख ज्ञवालीले मन्त्रालयले निर्णय गरिदिए तत्कालका लागि समस्या समाधान गर्न संस्थान तयार रहेको बताए । मन्त्री श्रेष्ठले मंगलबार बैठक राखी थाहामा थप कोटा पठाउने निर्णय गर्ने बताए । ॅहाल तत्कालका लागि आवश्यक मल पठाइदिन्छौं । बाँकी मल माघ पहिलो हप्ताभित्र उपलब्ध गराउँछौं,’ मन्त्री श्रेष्ठले भने । ७ सय हेक्टर क्षेत्रफलमा आलुखेतीका लागि ५ सयदेखि ६ सय टन डीएपी र ३ सय टन युरिया मल आवश्यक पर्छ । करिब ७० हजार किलो वीउ आलु लगाउने गरिन्छ ।
बागमती प्रदेशको यसअघिका कृषि तथा पशुपक्षी मन्त्री केशवप्रसाद पोखरेलले बागमती प्रदेशमा मलअभाव हुन नदिने दाबी गरेका थिए । मन्त्री पोखरेलले पदभारग्रहण गर्ने क्रममा केन्द्रीय सरकारसँगको सहकार्यमा प्रदेशस्तरमै रासायनिक मल कारखाना स्थापना गर्ने बताएका थिए । मन्त्री पोखरेलले भनेका थिए–प्रदेश सरकार बागमती प्रदेशमा कृषि उत्पादन वृद्धि गर्न रणनीति तवरले कार्ययोजना नै तयार गरी सशक्तरुपमा लाग्छ । मन्त्रालयले प्रदेशस्तरमा रहेका हरेक खेतीयोग्य जमिनमा आधुनिक र व्यावसायिक तवरले कृषि उत्पादनमा जोड दिने उनको कथन थियो । मन्त्री पोखरेलले व्यावसायिक खेतीकिसानी गर्ने कृषकलाई प्रोत्साहन गर्न कार्यनीतिअनुरुप उत्पादन, उत्पादकत्व र बजारीकरण गर्दै कृषिबाट आयआर्जन गर्ने वातावरण तयार गर्ने पनि बताएका थिए ।
बागमती प्रदेश सरकारले २०७८ मै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने ‘तयारी’ गरेको थियो । संघीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको थियो । संघीय सरकारले रासायनिक मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै प्रदेश सरकारले उद्योग स्थापनाको विषयलाई अगाडि बढाउने तयारी गरेको थियो ।
रासायनिक मल उद्योग स्थापनाका विषयमा प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अध्ययन तथा प्राविधिक परामर्श र छलफल प्रारम्भ गरेको पनि थियो । छलफलका क्रममा काठमाडौं विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याबका संयोजक विराजसिंह थापाले कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमा हाइड्रोजनबाट युरिया मल उत्पादन गर्न सहज र कम खर्चिलो हुने उल्लेख गरिएको थियो ।
मन्त्रालयले उद्योग स्थापनाका लागि काठमाडौं विश्वविद्यालयसँग हेटौंडामा आवश्यक प्राविधिक परामर्शसमेत गरिसकेको छ । लामो समयदेखि मल उद्योग खोल्ने विषयमा अध्ययन गरिरहेको काठमाडौं विश्वविद्यालय, धुलिखेलसँग मन्त्रालयले सरोकारवाला पक्षको उपस्थितिमा प्राविधिक परामर्श तथा छलफल भएको हो । आगामी दिनको भविष्य हाइड्रोजनमा नै रहेकोले हाइड्रोजन, नाइट्रोजन र कार्बनडाइअक्साइडको प्रयोग गरेर मल उत्पादन गर्न प्राविधिक टोलीले सुझाव दिएको थियो । विद्युत्बाट हाइड्रोजन ग्यास बन्ने भएकाले प्राकृतिक ग्यासबाट भन्दा हाइड्रोजनबाट युरिया बनाउँदा सस्तो हुने र नेपालमा सबभन्दा बढी हाइड्रोजन बन्नसक्ने अवस्था रहेकाले मल उत्पादनको गर्न सहज हुने उनीहरुको भनाइ थियो । हाइड्रोजन प्रयोगबाट मल उत्पादन गरेर विश्वबजारमा निर्यात गर्न सकिने सम्भावना रहेको पनि उनीहरुको भनाइ थियो ।
बागमती प्रदेश सरकारको २०७८ माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा तीन वटा मल कारखाना खोल्ने निर्णय गरिसकेको छ । प्रदेश सरकारले मध्यमस्तरका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ । प्रदेश सरकारले हेटौंडा, चितवन र सिन्धुलीमा मध्यमस्तरको मल उत्पादन कारखाना स्थापना गर्न अध्ययन गर्ने तयारी गरेको छ । नेपालमा वार्षिकरुपमा ४० अर्ब बराबरको युरिया मल आयात हुने गरेको छ । प्रदेश सरकारले मल उद्योग खोल्छ वा अध्ययन अनुसन्धानमै सरकारको बजेट सकिन्छ भन्नेमा अन्यौलता भने कायम छ ।