सुनिता बिष्ट
हेटौंडा/चितवनको रत्ननगर नगरपालिका–१३, जयमंगलाकी ७० वर्षीया कृष्णकुमारी थापाको पुस १६ गते मंगलबार गैंडाको आक्रमणमा परेर ज्यान गयो । घरमै घाम तापेर बसिरहेको अवस्थामा गैंडाले आक्रमण गर्दा कृष्णकुमारी घाइते भइन् । परिवारका सदस्यले उनलाई भरतपुर अस्पताल पुर्याए । उपचारको क्रममा उनको सोही दिन मृत्यु भयो । कृष्णकुमारीका पति सोही गैंडाको आक्रमणबाट घाइते भए । उनका ७८ वर्षका पति डम्बरबहादुर थापाको भने उपचारपछि ज्यान जोगियो ।
पुस १४ गते आइतबार मकवानपुरको मनहरी गाउँपालिका–५, वसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बाको मृत्यु भयो । अपराह्न ४ बजेतिर घरनजिक बारिमा घाँस काट्न गएकी कान्छीमायालाई बाघले आक्रमण गर्यो । बाघको आक्रमणबाट मृत्यु भएकी कान्छीमायाको शव आइतबार साँझतिर बारिमा भेटियो । यी र यस्ता घटनाहरु त केही प्रतिनिधि उदाहरणमात्र हुन् । राष्टिूय निकुञ्जको खुला क्षेत्रका कारण वर्षेनी दर्जनौं मानिस जंगली जनावरको शिकार हुने गरेका छन् । पशुचौपायाको क्षति त झन् कतिकति । निकुञ्जले जंगली जनावरले पुर्याएको मानवीय क्षतिमा जंगली जनावरको प्रकृति हेरेर पीडित परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउँछ ।
४ जनाको मृत्यु
चालु आर्थिक वर्षको हालसम्मको अवधिमा १५ जनालाई जंगली जनावरले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांक छ । जसमध्ये ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको विनयत्रिवेणी गाउँपालिका–१ का ६२ वर्षका जीतबहादुर थिङ छन् । उनको कार्तिक २ गते बाघको आक्रमणबाट मृत्यु भएको थियो । नवलपुरको बर्दघाट सुस्तापूर्व कावासोती–७ का ६५ वर्षका शुकबहादुर बोटेको कार्तिक २० गते गैंडाको आक्रमणबाट मृत्यु भएको बताइएको छ । नवलपुर बर्दघाट सुस्तापूर्व मध्यविन्दु नगरपालिका–६ का ६५ वर्षीय नाथुराम महतोको गैंडाको आक्रमणमा परेर मंसिर ८ गते मृत्यु भएको छ भने खैरहनी नगरपालिका–१३ बस्ने ३२ वर्षकी म्हेन्दोमाया भण्डारीको पुस १४ गते गैंडाको आक्रमणमा परेर मृत्यु भएको निकुञ्जले जनाएको छ ।
पुस १६ गते मृत्यु भएकी रत्ननगर नगरपालिकाकी कृष्णमायाको पनि गैंडाकै आक्रमणबाट मृत्यु भएको थियो । तर, उक्त क्षेत्र मध्यवर्ती क्षेत्रमा नपर्ने भएकोले उनको रेकर्ड निकुञ्जसँग नहरेर डिभिजन वन कार्यालयसँग रहने निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनाकारी दिए ।
जनावरले मारे नगदमै सीमित
जनावरको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले क्षतिपूर्तिस्वरुप चालु आर्थिक वर्षको हालसम्मको अवधिमा २७ लाख भन्दा बढी रकम निकासा गरेको जनाएको छ । हालसम्मको अवधिमा वन्यजन्तुबाट हुने क्षतिको राहत शीर्षकमा साउनदेखि मंसिर मसान्तसम्म २७ लाख ८८ हजार ९ सय ९२ रुपियाँ वितरण गरिएको निकुञ्जका सूचना अधिकारी थापामगरको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका वन्यजन्तुबाट प्रभावित स्थानीयलाई उक्त राहत रकम वितरण गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका पीडितका परिवारलाई क्षतिपूर्तिस्वरुप १० लाख दिन्छ । बाघ, गैंडा र हात्तीको आक्रमणबाट मृत्यु भए समान १० लाख राहत रकम उपलब्ध गराइने निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए । ‘घाइते भए बिरामीको अवस्थाअनुसार उपचार खर्च उपलब्ध गराउँछौं,’ उनले भने–मृत्यु भए पीडित परिवारलाई १० लाख क्षतिपूर्ति रकम उपलब्ध गराउँछौं चालु आर्थिक वर्षमा मृत्यु भएका केहीको क्षतिपूर्ति रकम दिन बाँकी छ ।
जनावर मारे जरिवाना र कैद
निकुञ्ज क्षेत्रमा जनवारको चोरीपैठारीका घटनाहरु पनि उल्लेख्य बढेको पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको हालसम्मको अवधिमा १ सय ५८ वन्यजन्तुसम्बन्धि विभिन्न कसुरमा पक्राउ परेका छन् । जसमा गैंडा मारेको कसुरमा ५ जना पक्राउ परेका छन् भने बाघ मारेको कसुरमा १ जना पक्राउ परेका
छन् ।
बाँकी अन्य भने बँदेल, माछा र सालकलगायत शिकारको क्रममा पक्राउ परेका हुन् । बिनाअनुमति निकुञ्ज प्रवेश गर्नेदेखि निगुरो टिप्न जाने र घाँसदाउरा लिन जाने मानिसलाई समेत निकुञ्जले पक्राउ गरी कारबाही गर्दै आएको छ । जसमध्ये ३ वटा मुद्धा थप अनुसन्धान तथा कारबाहीका लागि अदालतमा दर्ता गरिएको निकुञ्जले जनाएको छ भने ६ वटा मुद्धाको फैसला भएको तथ्यांक छ ।
मानिसले जनावर मारेको पुष्टि भए १० देखि १५ लाख जरिवानासहित कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ । बाघ, गैंडा र हात्ती मारेको पुष्टि भए जरिवाना र कैद दुवै सजाय हुने निकुञ्जका सूचना अधिकारी थापामगर बताउँछन् । उनका अनुसार जनावरले मान्छे मारे पीडित परिवारले १० लाख क्षतिपूर्ति पाउँछन् भने मान्छेले जनावर मारे १० देखि १५ लाख जरिवाना र कैद सजाय भोग्नुपर्ने हुन्छ ।
निकुञ्जका जनावर बाहिर आएर घरमै बसेका मानिसहरुलाई आक्रमण गरी मृत्यु भए निकुञ्जले १० लाख उपलब्ध गराएर पन्छिन खोज्ने निकुञ्जको नियमले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय दिकदार छन् । जनावरको सुरक्षाका लागि बनाइएको कानुन र नियम भन्दा पनि मानिसको क्षतिमा दिइने राहतको दायरा कमजोर भएको स्थानीयले गुनासो गर्दै आएका छन् ।