मनिता राना
हेटौंडा/चितवनको पर्यटकीय नगर सौराहामा चेपाङ संग्रहालय स्थापना गरिसकिएको छ । चेपाङ बालबालिकाको पठनपाठन र भरणपोषणका लागि क्रियाशील गामबेसीको चेपाङ संरक्षण केन्द्रले संग्रहालय स्थापना गरेको हो । स्थापना गरिएको संग्रहालयमा चेपाङ समुदायले परापूर्वकालदेखि प्रयोग गर्ने सामग्रीहरु संग्रहित छन् । चेपाङ समुदायले दैनिक प्रयोग गर्ने औजार, भाँडावर्तन, सिकार खेल्दा प्रयोग गर्ने हतियार, उपचारमा प्रयोग गर्ने सामान, कन्दमुल, गिठ्ठा र भ्याकुरलगायत ३ सय ५३ प्रकारका सामग्रीहरु संग्रहित गरिएको चेपाङ संरक्षण केन्द्रले जानकारी दिएको छ ।
संग्रहालयमा चेपाङ जातिले जीविकोपार्जनका लागि प्रयोग गर्ने र धार्मिक तथा साँस्कृतिक महत्व बोकेका पुरातात्विक सामानहरु राखिएकाले पर्यटकका लागि आकर्षणको विषय बनेको छ । चेपाङ संग्रहालयलाई पनि व्यवसायीहरुसँग सहकार्य गरेर प्याकेज कार्यक्रमका रुपमा स्थापित गर्ने योजना छ । सौराहामा जाने पर्यटकमध्ये ८० प्रतिशत्लाई चेपाङ संग्रहालयको अवलोकन गराउने योजना छ । अवलोकन गर्ने पर्यटकमध्ये ८० प्रतिशत् स्वदेशी र २० प्रतिशत् विदेशी पर्यटक रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रले जानकारी दिएको छ ।
भुकम्पले भत्केको मकवानपुरको राक्सिराङ चैनपुरमा रहेको चेपाङ (प्रजा) संग्रहालय पुनर्निर्माण गरिएको थियो । रोटरी क्लब अफ मकवानपुरले एक लाख ७५ हजार रुपियाँ आर्थिक सहयोगमा भवन पुनर्निर्माण गर्नुका साथै र्याक बनाएर अवलोकन गर्न सामान राखिदिएको हो । मुलुकको एकमात्र चेपाङ संग्रहालय भवन भत्केपछि सामानहरु थुपारेर राखिएको थियो । चेपाङ समुदायले विगतमा प्रयोग गर्दै आएका विभिन्न किसिमका लोपोन्मुख सामग्री राखिएको संग्रहालय भवन २०७२ को भुकम्पले भत्काएको थियो ।
भुकम्पले संग्रहालय भवनको एक पाखा भत्किनुका साथै र्याक भाँच्चिएको थियो । चेपाङहरुको पहिचान, सँस्कृति र सभ्यतासँग जोडिएको संग्रहालय भुकम्पले सञ्चालनमा आउन नसकेपछि पुनर्निर्माणका लागि आर्थिक सहयोग गरिएको थियो । चेपाङ समुदायको पहिचान र सँस्कृतिसँग जोडिएका सामानहरु संग्रहालयमा अवलोकनका लागि राख्न मकवानपुरमा राक्सिराङ गाउँपालिकाले संग्रहालय भवन निर्माण गरिरहेको छ । चेपाङ बाहुल्य रहेको पालिकाले चेपाङ समुदाय परापूर्वकालदेखि प्रयोग गर्दै आएको तर लोपोन्मुख अवस्थामा रहेका सामग्री अवलोकनका लागि राख्न चेपाङ संग्रहालय निर्माण गरेको हो ।
उनीहरुले विगतमा प्रयोग गरेका तर हाल लोप हुने अवस्थामा पुगेका सामग्री संरक्षण गर्ने उद्धेश्यले पालिकाले ठूलै लगानीमा संग्रहालय निर्माण गरिरहेको पालिका अध्यक्ष राजकुमार मल्लले बताए । चैनपुरमा ३ करोड ६३ लाख लागतमा संग्रहालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए । तीनतले भवनको तलो तलामा चेपाङ समुदायले विगतदेखि वर्तमानसम्म प्रयोग गर्दै आइरहेका र उनीहरुको सँस्कृति र पहिचान झल्कने सामग्री राखिने व्यवस्था छ ।
आगामी चैत महिनासम्म संग्रहालय निर्माण सम्पन्न हुने पालिकाले जनाएको छ । राक्सिराङ गाउँपालिकाको केन्द्रसमेत रहेको चैनपुरमा विगतमा चेपाङ संग्रहालय सञ्चालनमा थियो । अवलोकन र अध्ययनका लागि विभिन्न स्थानबाट मानिस आउने गर्थे । २०७२ सालमा आएको भुकम्पले संग्रहालय भवनमा क्षति पुर्याएको थियो । उक्त भवनको मर्मत र सम्भार गरिएको हो । भवन जीर्ण हुँदै गएकाले २०७८ साउनदेखि नयाँ भवन निर्माण कार्य सुरु गरेको हो । संग्रहालयको पुरानो भवन भत्काएर नयाँ भवन निर्माण गर्न थालेपछि संग्रहालयमा राखिएका सामग्री कोठामा सुरक्षित साथ राखिएको पालिका अध्यक्ष मल्लले बताए ।
देशका लोपोन्मुख जातिमध्ये एक चेपाङले प्रयोग गर्ने ढ्याङ्ग्रो, जाँतो, ढिकी, तीर, माछा मार्ने जाबी, ठेकी, डोको र चिउरी चेपुवालगायत सामग्रीसहित उनीहरुले खान प्रयोग गर्ने गिठ्ठा, भ्याकुर, भार्लाङ र कागुनुलगायत सामग्री संग्रहालयमा संग्रहित छ । तत्कालीन जिविसले करिब एक लाख खर्चेर २०६६ जेठ १४ गते संग्रहालय स्थापना गरेको हो । संग्रहालयमा सशुल्क प्रवेश व्यवस्था छ । नेपाल विभिन्न जातजातिको संगमस्थल हो । नेपालका विभिन्न जनजातिमध्ये आधुनिकीकरणको रेखाबाट अलि पर रहेको जनजाति चेपाङ हो । चेपाङहरु विकास र शिक्षामा पनि निकै पछाडि परेका छन् । यिनीहरुको मुख्य बसोबासस्थलमा धादिङ, मकवानपुर, चितवन र गोरखा जिल्ला हुन् । चेपाङहरु तुलनात्मकरुपमा सोझा, सरल र इमानदार हुन्छन् ।
मंगोलियन मुखाकृतिका यिनीहरु गहुँगोरो, थेप्चेनाक, ठुलो अनुहार, मझौला कद र फुर्तिलो शारीरिक बनावटका हुन्छन् । चेपाङहरु जंगलको छेउछाउमा बस्छन् । सामान्य खेतीपाती, पशुपालन, चोया तथा काठको घरेलु सामान बनाइ गुजारा चलाउँछन् । चेपाङहरु मुख्यगरि दुईथरि कछारे र पुकुन्थली जात थरका पाइन्छन् । कछारेहरु आफूलाई सुन प्रजा भन्न मन पराउँछन् । यिनीहरु मृग, बँदेल, घोरलको शिकार गर्दछन् ।
चेपाङहरु एकापसमा आफ्नै चेपाङ भाषा बोल्दछन् तर अरुसँग बोल्दा नेपाली भाषामा कुरा गर्दछन् । युवापुस्ताले भने मातृभाषा नै भुल्न थालिसकेका छन् । त्यसैले बुढापाकाहरु आफ्नो भाषा लोप हुन लागेकोमा चिन्तित छन् । चेपाङहरुका घरहरू प्रायः जसो ढुंगा, माटो, काठ, बाँसद्वारा निर्मित छाप्रा र कटेरा हुन्छन् । हरेकका घरमा पिंढी हुन्छ । पाहुनाहरुलाई गर्मीका दिनमा यही सुताइन्छ ।
चेपाङहरु प्रकृतिपूजक हुन्छन् । यिनीहरुमध्ये कतिपयले हिन्दुले जस्तै चाडपर्व मनाउने गर्दछन तर, पूर्णरुपमा हिन्दु हुन् भन्न सकिँदैन । यिनीहरु अलौकिक शक्तिमा विश्वास गर्दछन् । यिनीहरु कुलपूजा, शिकारी देवता, भूमिपुजा र पशुदेवताको पूजा गर्दछन् । यिनीहरु दशै, तिहार, साउने संक्रान्ति, न्वागी पर्व मनाउँछन् । न्वागीलाई यिनीहरु ‘छोनाम’ भन्दछन् । चेपाङहरु झँँक्रीलाई पाँडे भन्दछन् । यिनीहरु आफ्नो समुदायमा कोही बिरामी परेमा उपचारका लागि झँँक्री बोलाउँछन् र रातभर ढयाङ्ग्रो ठोकेर देवीदेउताको नाम उच्चारण गर्दछ र उफ्रन्छन् । सँस्कृतिमा निकै धनी रहेका चेपाङहरु विकासको मुलधारबाट पछाडि छन् ।