27.9 C
Makwānpur
Homeमुख्य समाचारनिर्वाचन मिति नजिकिएसँगै उवा संघमा विवाद

निर्वाचन मिति नजिकिएसँगै उवा संघमा विवाद

हेटौंडा/निर्वाचनको मिति नजिकिएसँगै मकवानपुर उद्योग वाणिज्य संघमा विवाद बढेको छ । मताधिकारको विषयलाई लिएर संघका ९ साधारण सदस्यले एसोसिएट सदस्यता कायम राख्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निवेदन दिएका हुन् ।

प्रशासन कार्यालय पुगेर टोलीले सहायक जिल्ला प्रमुख अधिकारी ढोलकराज अधिकारीलाई निवेदन हस्तान्तरण गरेको हो । मउवा संघले केही समयअघि आसन्न निर्वाचनको प्रयोजनार्थ संघआवद्ध सदस्यहरुलाई सदस्यता नवीकरण गर्न सूचना निकालको थियो । सेवा उद्योग तथा वाणिज्यतर्फका उद्योगी तथा व्यवसायीले एसोसिएटमा परिमार्जन गर्न संघमा निवेदन दिएका थिए ।

मणि खाद्यान्न सेन्टर सञ्चालक काव्यमणि अधिकारी, बानियाँ ट्रेडर्स सञ्चालक राजेश बानियाँ, ओमबाबा वैद्यनाथ भण्डार प्रालि सञ्चालक सुदर्शन खरेल, ए एण्ड ए इन्टरप्राइजेन सञ्चालक अरुणकुमार दाहाल, आरबी अर्वान विल्डर्स एण्ड सप्लायर्स प्रालि सञ्चालक राजेश भेटवाल, शिवशक्ति ट्रेडर्स सञ्चालक जानुका नेपाल, रोहनी हाउजिङ एण्ड सप्लायर्स सञ्चालक विष्णुप्रसाद घिमिरे, स्वस्तिक डेभलपर प्रालि सञ्चालक भीमप्रसाद तिमल्सिना र स्यार्सेकालिका पेट्रोलियम सञ्चालक गोकर्णप्रसाद पराजुलीलगायतले निवेदन दिएका थिए ।

निवेदकहरुले आवश्यक कागजपत्र संलग्न राखी विधानको दफा ८ बमोजिम एसोसिएट सदस्यका लागि निवेदन दिइ कार्यालय प्रमुखले तोक लगाइ दस हजारका दरले आवश्यक दस्तुर बुझाइसकेको काव्यमणि अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार निवेदकहरुले नेपालको संविधान, प्रचलित कानुनबमोजिम सम्बन्धित निकायमा व्यवसाय प्रमाणपत्र दर्ता गरी प्रत्येक आर्थिक वर्षको कर नेपाल सरकारलाई बुझाउँदै आएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको विधानको २०५१ दफा ५ बमोजिम सदस्यता लिइ उद्योगव्यापार क्षेत्रमा आफूहरु काम गर्दै व्यापारी तथा उद्योगीका क्षेत्रमा आफ्‌नो हकहित वकालत गर्दै आइरहेको उनले बताए । १६ पुसमा संघको कार्यसमितिको बैठक बसी सदस्यता स्वीकृत गरेको तर निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी एकल निर्णय गरेकाले आफूहरु अन्यायमा परेको उनले बताए ।

उनले भने–विधानमा संघको सदस्यता प्राप्त गरेको मितिले निर्वाचन हुने मितिसम्ममा पूरा एक वर्ष पुगेका सदस्यले मात्र मतदान गर्न पाउने छन् भन्ने व्यवस्थालाई टेकेर हामी हामी विगत वर्षदेखि संघको सदस्यता कायम भएको तर विधानमा भएको व्यवस्थाबमोजिम एसोसिएट सदस्य हुन चाहेको अवस्थामा कार्यसमितिले विधानविपरीत र प्रचलित कानुनविपरीत निर्णय गरेको हुँदा हामीलाई अन्याय भएको छ ।

‘हामीले सदस्यता शुल्क तिर्दा हामीलाई संघले पुरानै सदस्यता नम्बरबाट रसिदसमेत दिएको छ । हामीबाहेक सञ्जय फिलिङ स्टेसनलगायत अन्य फर्मको रसिद काटी मनलाग्दीरुपमा उक्त रसिदलाई खारेज गरेर संघको विधानले तोकेको व्यवस्थालाई आफूखुसी र आफूअनुकूल निर्णय गरेको हुँदा उक्त निर्णय तत्काल खारेज गरी पुस २७ गतेको निर्वाचनमा एसोसिएटतर्फ तोकिएबमोजिम सदस्यता कायम गराइ मतदान गर्न पाउने अधिकार सुरक्षित गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हौं,’ उनले भने ।

उनीलगायत निवेदकहरुले प्रमाणस्वरुप संघमा पेस गरेका निवेदनहरु, सदस्यता शुल्कको नगदी रसिद, पुस १६ मा गरेको कार्यसमितिको निर्णय प्रतिलिपि र संघको विधानलगायत कागजातसहित निवेदन दिएका छन् । सहायक जिल्ला प्रमुख अधिकारी अधिकारीले जिल्ला प्रमुख अधिकारीसँग समन्वय गरी छलफलका लागि जानकारी गराउने बताए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here