हेटौंडा/मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको छ ।
चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । मनहरी–५, वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा मृत अवस्थामा आइतबार राति करिब १० बजे घरनजिक बारिमा भेटिएकी थिइन् । बाघले सोमबार विहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सात वटा बाख्रा मारेको थियो । दुई वटा घटनापछि वसन्तपुरबासी त्रसित बनेका थिए ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पुस १५ गते सोमबार दिउँसो २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका–३, लामिटार बेसबाट खटिएको नेपाली सेनाको चार वटा हात्तीसहित टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली चार जना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।
घटना भएको क्षेत्रमै बाघ रहेको पाइएको छ । बाघलाई खोजी गर्ने क्रममा मंगलबार साँझ ७ बजे मनहरी–५, वसन्तपुरस्थित सुकौराखोलामा डार्ट प्रविधिद्वारा नियन्त्रणमा लिइएको डीएसपी अर्यालले जानकारी दिए । बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको छ । मनहरीमा बाघ, हात्तीलगायत वन्यजन्तुको आतंक विगतदेखि नै छ । चार महिनाअघि मात्र मनहरी–६, प्रतापपुरमा भैंसीले बाघ मारेको थियो । भदौ ५ गते मनहरी–६, प्रतापपुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीको प्रतिकारमा बाघ मरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वीक्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ । मनहरीको पश्चिम क्षेत्रमा पटकपटक हात्तीले पनि क्षति गर्ने गरेको छ । मनहरी गाउँपालिकाको हेटौंडा उपमहानगरसँग सीमा जोडिएको पूर्वीक्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौंडाको १२, १३, १४ नम्बर वडामा आतंक मच्याउँदै आएका छन् ।