31.9 C
Makwānpur
Homeमुख्य समाचार‘फाइल खोल्न आँट गरौं’

‘फाइल खोल्न आँट गरौं’

हेटौंडा/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक नेतृत्वहरुले भ्रष्टचारको फाइल खोल्न आँट गर्नुपर्ने बताएका छन् । कांग्रेस, एमाले, माओबादीलगायत सबै दलका नेताहरुले भ्रष्टचारका फाइलहरुको लिस्ट बनाएरै फाइल खोल्न आँट गर्न सक्नुपर्ने उनको भनाइ छ ।

४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा महामन्त्री थापाले शक्तिशाली आयोग वा कानुन बनाएर फाइल खोलेर दोषीलाई कारबाही गर्न सक्नुपर्ने उल्लेख गरे । राज्य कानुनद्वारा चल्ने भएकोले दोषी जोसुकै जति शक्तिशाली भए पनि कारबाहीको दायरा ल्याउनुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले भ्रष्टाचार नेपालको सबभन्दा ठूलो रोग भएको उल्लेख गरे । नेतृत्वहरु भ्रष्टचारमा लिप्त भएर देश विकास हुन नसकेको भाष्यलाई चिर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा महामन्त्री थापाले जोड दिए । नेताहरुले गरेको गल्तीको भारी कार्यकर्ता र व्यवस्थाले बोक्न नसक्ने उनले बताए ।

महामन्त्री थापाले संविधानमा उल्लेख भएका व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने बताए । संविधानलाई स्थिर बनाउन अनुभवको आधारमा पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ । सबै राजनीतिक दलहरुकै समझदारीमा प्रदेश र स्थानीय सरकार प्रभावकारी र बलियो हुने व्यवस्था संविधानमा नै उल्लेख गरिनेसमेत उनले स्पष्ट पारे । महामन्त्री थापाले २०८४ सालको चुनावमा ४० प्रतिशत् मत प्राप्त गर्ने पार्टीले ५ वर्ष सरकारको नेतृत्व गर्ने निर्वाचन प्रणाली अपनाउने गरी छलफल गर्न पनि शीर्ष नेतृत्वलाई आग्रह गरे ।

महामन्त्री थापाले पार्टीको महाधिवेशन समयमै हुने दाबी गरे । थापाले विधानअनुसार नै महाधिवेशन समयमै हुने दाबी गरे । ‘ढुक्क हुनुहोस् । महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी गर्नु जरुरी छैन । प्रतिवन्धित कालमा महाधिवेशन गरेको पार्टीले हाल समयमै महाधिवेशन गर्दैन कि भन्ने नसोच्नुहोला,’ उनले भने । पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको उल्लेख गर्दै थापाले १५ औं महाधिवेशन आनन्दसँग गरिने पटकपटक दाबी गरे ।

उनले पार्टीका मञ्चहरुमा र केन्द्रीय समितिमा २०८४ को चुनाव र १५ औं महाधिवेशनबारे कुरा हुने गरेको भन्दै १५ औं महाधिवेशनको विषयमा रुवाबासी गर्नुनपर्ने बताए । ‘नेतृत्वको विषयमा महाधिवेशनको समयमै सोचौंला । हाल २०८१ मा छौं, काम गर्ने हो २०८४ को चुनावको चिन्ता गर्ने होइन,’ उनले भने ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले इच्छाले नभइ राजनीतिक स्थायित्व र जनताको निराशालाई चिर्न हालको गठबन्धन बनेको बताए । कांग्रेस र एमालेको सरकार पनि टिक्न नसक्दा व्यवस्थामाथि संकट पैदा हुने उनको भनाइ छ । सभापति बानियाँले हालको सरकारले नराम्रो काम नगरे पनि राम्रो काम पनि केही गर्न नसकेको बताए । कार्यक्रममा पार्टीका पूर्वसभापतिहरु, पार्टीमा लामो समय योगदान गरेका अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here