सुनिता बिष्ट
हेटौंडा/मकवानपुरको राक्सिराङ गाउँपालिका–३ की ५१ वर्षकी विष्णुमाया थिङ सोमबार सवेरै उठिन् । करेसाबारिमा लहलह भएका रायोको साग, भान्साको र्याकमा राखिएको तीन बट्टा घिउ र अघिल्लो दिन टिपेर मुठा बाँधेको १० मुठा तोरीको साग र तीन पोको सिस्नु ठीक्क पारिन् । ५ किलोजति वनतरुल र ३ किलोजति पिंडालुका सेलासहित सबै सामान मिलाएर एउटा डोका राखिन् ।
विष्णुमायाले विहानको खाना हतारमै खाइन् । पिंढीमा राखेको उक्त सामानसहित डोको बोकेर उनी लागिन् राक्सिराङ–५, चैनपुरमा लाग्ने कृषि हाटबजारतिर । विहानको यस्तै ११ बजेतिर हाटबजारस्थलमा पुगिन् उनी । हाट भर्नका लागि हेटौंडा बजारदेखि मनहरीसम्मका मानिसहरु पुगेका थिए । विष्णुमायाले आफ्नो डोको बिसाएर सामान भुइँमा राख्न नपाउँदै उनले ल्याएको रायोको साग बिक्री भयो । साग हातमा लिँदै हाट भर्न आएकी महिलाले सोधिन्–आमा, यो सागको कति रुपियाँ हो ? लामाले अकमक्क हुँदै जवाफ फर्काइन्–खै नानी भर्खर आको, अरुले कातिमा बेचेको छ थाहा छैन । ती महिलाले भनिन्–अन्त त ५० रुपियाँ भनिराछन्, तपाईंकोमा कति हो र ?
लामाले मुसुक्क हाँस्दै भनिन्–अब, साग त धेरै राम्रो छ नानी । आर्गानिक नै हो । ५० रुपियाँ मुठामै लानुस् न त । विष्णुमायाले त्यति भनेपछि ती महिलासँगै आएका अन्य दुई जनाले पनि एक/एक मुठा साग किने । क्षणभरमै ३ मुठा सागको १ सय ५० कमाइन् । त्यसको केहीबेरमा मनहरी बजारबाट पुगेका एक समूहले लोकल कुखुराको अण्डा र तरुल किनिदिए । उमेर ढल्किएर चाउरिएका गालाहरु पैसा सम्हालेर पोल्टामा राख्दै तनक्क बनाएर मुस्कुराइन् विष्णुमाया ।
‘बिक्ला नि नबिक्ला भनेर मुलै सामान धेरै ल्याकै थेन,’ उनले भनिन्–यहींका मान्छेले के किनेर लैजालान् भन्ने लागेको थ्यो । त्यही भएर सामान पनि धेरै ल्याथेन । हाट भर्न सहरकै मान्छे धेरै आउँदा रैछन् । सागहरु बिक्यो । खुशी लागेको छ । राक्सिराङ–५, सरिखेतकी केशरकुमारी कार्कीका घरमा दुहूनो भैंसी कहिल्यै टुट्दैन । पहिल्यैबाट दही, मोही खानकै लागि भैंसी पाल्दै आएकी उनका घरमा ५ मानाजति नै घिउ जम्मा भएका थिए । छोराछोरी बाहिर रहेका कारण दम्पत्तिले मात्र खाइनसकेको घिउ उनले सोमबार चैनपुरमा लागेको कृषि हाटबजारमा ल्याइन् । बारिमै फलेका साग, कागती र मुलासमेत बेच्नका लागि ल्याइन् ।
घरमै पालेको लोकल भैंसीको सेतो घिउको बट्टा देख्नेबित्तिकै हाटबजार पुगेका धेरैका नजर पर्यो । दिनभरजसोमा उनले लगेका सबै सामान बिक्री भयो । पोल्टामा ६/७ हजार जम्मा भएपछि कार्कीले दंग पर्दै भनिन्–घरमा अलिकति मास पनि थियो, त्यो पनि ल्याउन पाको भए बिक्री हुने रैच । म त कहाँ यस्तो बिक्री होला भन्ने सोचेकी थिएँ र । खाएर धेरै भएको अनि गाउँमा बेचेर पनि नसकिएको घिउ के गर्ने होला भइरहेको थियो । यसरी बिक्री हुँदा त सपनाजस्तै लागिराछ ।
राक्सिराङ–८, देवीटारका राजकुमार स्यांतानले हाटबजार भर्न आएका मानिसहरुलाई गिठ्ठाको स्वाद चखाइरहेका छन् । हिमाली देवीटार कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका स्यांतान जंगलमा पाइने गिठ्ठा बेचेर आम्दानी गर्न पाएकोमा उनी दंग छन् । उनलाई सघाउनका लागि सहकारीमा आवद्ध सदस्यहरु पनि सँगै आएका छन् । आफ्नो बारिमा भएका सामानमा सहकारीको लेबल लगाएर बिक्री गर्छन् । बिक्री गरेबापत् २ रुपियाँ सहकारीको लागि जम्मा हुन्छ भने बाँकी पैसा उनीहरुले आफ्नो घरखर्चमा प्रयोग गर्ने गरेका छन् ।
गाउँमै फलेका गिठ्ठाभ्याकुर, रायोको साग, कोदो, फापरको पिठो, पानीघट्टामा पिसेको मकैको पिठो पाइने भएपछि हाटबजारमा राक्सिराङका मात्र होइन, हेटौंडादेखि मनहरीसम्मका ग्राहक पुग्ने गरेका छन् । स्थानीय उत्पादनलाई गाउँमै बिक्री गरेर आम्दानीको स्रोत बढाउने लक्ष्यसहित गाउँपालिकाले हाटबजार सञ्चालन गर्ने निर्णय गरेको हो । जसअनुसार पुस १५ गते अर्थात् सोमबारबाट त्यहाँ हाटबजार लाग्न सुरु भएको हो । अब हरेक १५ दिनमा अर्थात् हरेक महिना १ र १५ गते हाटबजार लाग्नेछ ।
सोमबार राक्सिराङ– ५, चैनपुरमा सञ्चालित हाटबजारमा गाउँमै उत्पादित रैथाने बालीदेखि सिस्नु र अर्गानिक च्याउदेखि वनतरुलसम्म बिक्री गर्नका लागि स्थानीयले ल्याएका थिए । अघिल्लो वर्षदेखि हिउँदमा लगाइने कृषि हाटबजारले राक्सिराङका नागरिकहरुमा उत्साह थपिएको छ । आफ्ना बारिमा लगाइएका थोरै तरकारीहरु बिक्री गर्ने ठाउँ नहुँदा गाईवस्तुलाई खुवाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीयहरु खुशी देखिएका छन् । पालिकाले अघिल्लो वर्षबाट सुरु गरेको हाटबजार बर्खा लागेपछि केही समय रोकिएको थियो । यस वर्षको हाटबजार पुस १५ बाट सुरु गरिएको पालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
‘स्थानीय सँस्कृति र रैथाने बाली संरक्षण र सम्वद्र्धनका लागि हामीले हाटबजार सञ्चालन गर्ने निर्णय गरेका हौं,’ उनले भने–हामीले स्थानीयलाई आयआर्जनमा जोड्न र यहाँको सँस्कृति संरक्षणका लागि हाटबजार सञ्चालन गर्ने निर्णय गरेका थियौं । सोहीअनुसार सञ्चालन गरिरहेका छौं । यसको जिम्मा प्रत्येक वडालाई दिएका छौं । उत्कृष्ट हुने वडालाई पुरस्कृत गर्ने योजना पनि छ । अघिल्लो वर्ष उत्कृष्ट भएका वडालाई यस वर्षको उद्घाटन समारोहमा पुरस्कृतसमेत गरेका छौं ।
पालिकाको आयोजनामा भएको उद्घाटन कार्यक्रममा चेपाङ जातिको पहिचान झल्काउने नाच, गान तथा नाटकहरु समेत प्रस्तुत गरिएको थियो । हाटबजारमा स्थानीय उत्पादनहरु चिउरीको मह, तरुल, गहत, मास, मस्याङ, भटमास, गोलभेंडा, काउली, गुन्द्रुक, लोकल कुखुरा, लोकल खसीको मासु, लोकल बंगुरको मासु, आरनबाट उत्पादित फलामे औजारसहित स्थानीय उत्पादनको बिक्री हुने गरेको छ ।
चालु आर्थिक वर्षमा १० पटक त्यहाँ हाटबजार गर्ने योजना छ । अध्यक्ष मल्लका अनुसार हाटबजारलाई अब नितान्त मौलिक उत्पादन, कला, साहित्यको चौतारीका रुपमा विकास गरिनेछ । अब हरेक हाटबजारमा फरकफरक वडाले आफ्नो कला, साहित्य, सँस्कृति प्रदर्शन गर्नेछन् भने प्रतियोगितात्मकरुपमा कार्यक्रमहरु गरिनेछ ।