हेटौंडा/चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र राष्ट्रिय दुग्ध विकास बोर्डले संयुक्तरुपमा सञ्चालन गरेको मिल्क एनालाइजर मर्मतसम्भार तालिम शनिबार सकिएको छ । दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक एवम् कर्मचारीहरुका लागि पुस ९ गतेबाट सञ्चालन गरिएको तालिम शनिबार वागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलको उपस्थितिमा समापन भएको हो ।
चितवन जिल्ला सहकारी संघ सहसचिव विष्णुप्रसाद बाँस्तोलाले चितवनमा सिकेको सिपले मिल्क एनालाइजर मेसिन बिग्रिएको खण्डमा हतार गरेर हेटौंडा दौडिनुपर्ने बाध्यता अन्त्य भएको बताए । प्राविधिक ज्ञान प्राप्त गरेपछि आवश्यक पर्दा एकर्कालाई सिकाउँदै सिप विकास गर्दै लैजानुपर्ने उनको सुझाव छ ।
दुग्ध उत्पादक सहकारी संस्थाहरुमा सामान्य खालको प्राविधिक ज्ञानसमेत नहुँदा सहकारी संस्थासँगै किसानले पनि दुःख पाइरहेको समयमा किसानकै हितका लागि प्राविधिक तालिम सञ्चालन गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष किशोर बगालेले जानकारी दिए । उनका अनुसार दूधको बजार अभावसँगै प्रविधिको ज्ञानसमेत नहुँदा त्यसले प्रत्यक्षरुपमा किसानलाई समस्या परेको थियो । तर, सहकारी संस्थाका कर्मचारीलाई तालिम दिएपछि आवश्यक पर्दा दूधको गुणस्तर नाप्ने र मूल्य निर्धारण गर्ने मेसिन नै बिग्रिए पनि मर्मत गर्न सकिने अध्यक्ष बगालेको भनाइ छ । अब सरकारले दूधको बजारीकरणमा ध्यान दिन सके चितवनका किसानले दैनिक ६ लाख लिटरसम्म दूध उत्पादन गर्न सक्ने उनले दाबी गरे ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले किसानको हित र उत्पादनलाई बजारीकरण गर्ने विषयमा अध्ययन गरेर काम गर्ने प्रयास गरिएको उनले बताए । दूधको खपत बढाउनका लागि छिट्टै चकलेट उत्पादन थाल्ने तयारी भइरहेको समेत अध्यक्ष बगालेले जानकारी गराए । ‘हाललाई कसरी हुन्छ दूध उत्पादनको लागत मूल्य घटाउने र भएका उत्पादनलाई खपत गर्ने विषयमा मात्र हाम्रो ध्यान केन्द्रित भएको छ,’ उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि एवम् बागमती प्रदेश दुग्ध विकास बोर्ड उपाध्यक्ष पौडेलले पाँच दिनमा सिकेको सिपलाई विकास गरी चितवन जिल्लाभर रहेका सबै दुग्ध उत्पादक सहकारी संस्थासम्म विस्तार गर्नुपर्ने सुझाव दिए । आगामी दिनमा अझ गुणस्तरीय तालिमको माग गरेर दुग्ध उत्पादनको क्षेत्रमा थप योगदान दिन सक्ने गरी काम गर्न उनले आग्रह गरे ।
दक्ष प्राविधिकसहितको नयाँ प्रविधि विकास गर्न सके दूधलाई डेढ/दुई वर्षपछि पनि प्रयोग गर्न सकिने गरी व्यवस्थापन गर्न सकिने उनले बताए । ‘त्यसकारण अब हामीले दूधजस्तो आजको आजै खपत गर्नुपर्ने वस्तुलाई पनि लामो समयसम्म टिकाउन सकिने गरी काम गर्नुपर्छ,’ उनले भने ।
राष्ट्रिय दुग्ध विकास बोर्ड कार्यकारी निर्देशक राजेन्द्र यादबले चितवनको दूध क्षेत्रले कृषि मन्त्रालयअन्तर्गत् सबभन्दा ठूलो रोजगारको क्षेत्र ओगटेको भन्दै यसलाई जोगाउन सरकारी क्षेत्रबाट पनि प्रयास भइरहेको आश्वासन दिएका छन् । ‘किसानदेखि व्यापारी हुँदै उद्योगसम्म थुप्रै प्रकारका व्यक्तिहरुले रोजगार पाएका छन्,’ उनले भने–कृषि मन्त्रालयको तथ्यांक नै हेर्ने हो भने पनि नेपालमा व्यवस्थित रोजगारी सिर्जना गर्ने क्षेत्र भनेकै दूध हो,’ उनले भने ।
करिब ३५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षक नारायण पौडेलले प्रशिक्षण दिएका थिए । तालिमबाट उत्कृष्ट भएका तीन जनालाई पुरस्कृत गरिएको छ । तालिमका आधारमा परीक्षा सञ्चालन गरेर नवकृषक दुग्ध उत्पादक सहकारी संस्थाकी शान्ति सापकोटा प्रथम भएकी छन् । नवउज्ज्वलधारा दुग्ध उत्पादक सहकारी संस्थाका सञ्जीव पौडेल द्वितीय र शान्तिकुञ्ज महिला सहकारी संस्थाकी बबिता बगाले तृतीय भएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ सचिव कल्याण अधिकारीले जानकारी दिए । उनका अनुसार कुल एक सय अंकमा सबैले ४२ अंकदेखि ९२ अंकसम्म प्राप्त गरेका थिए ।