मनिता राना
हेटौंडा/पश्चिम मकवानपुरस्थित मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट फेरि एक वृद्धाको ज्यान गएको छ । मनहरी–५, बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रुम्बाकी ७२ वर्षीया पत्नी कान्छीमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
रुम्बालाई आइतबार साँझ करिब ५ बजे घरनजिकको खोल्सामा बाघले आक्रमण गरेको जनाइएको छ । घटनापछि बसन्तपुर गाउँ त्रसित बनेको छ । मृतक रुम्बा घरनजिक बारिमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५ सय मिटर पूर्व शरीरमा चोट लागेको मृत फेला पारेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घटनाबारे प्रहरीलाई राति करिब १० बजे खबर भएको घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए ।
बाघले सोमबार विहान सोही ठाउँमा ७ वटा बाख्रा मारेको छ । सोमबार विहान करिब ५ बजे बसन्तपुरस्थित सूर्यबहादुर मोक्तानको घरनजिक रहेको बाख्राको खोरमा छिरेर बाघले ७ वटा बाख्रा मारेको हो । ७ वटा बाख्रामध्ये एउटा बाख्रा बाघले लगेको बताइएको छ । बाघ नियन्त्रणमा लिन नेपाल प्रहरी र सेनाको टोली परिचालन गरिए पनि बाघ कता लुकेको छ भन्ने पहिचान भएको छैन । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटिँदा पर्सा बन्यजन्तु आरक्षबाट २ वटा हात्ती र नेपाली सेनाका मेजरको कमाण्डमा सेनासाथ चितवन राष्ट्रिय निकुञ्जबाट समेत टोली खटिएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाबासी बेलाबेलामा बाघको आतंकबाट प्रताडित हुने गरेका छन् । मनहरी गाउँपालिकाको ७ नम्बरको बगर क्षेत्र र रमौली गाउँ आसपासका मध्यवर्ती क्षेत्रमा बाघले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न छाडेको छैन । केही समयअघि बाघको आक्रमणबाट स्थानीय ईश्वर राईको भैंसी, अर्का एक किसानको गाई र बाख्रा मारेको थियो । दिनदहाडै बाघले पशुचौपाया मार्न थालेपछि स्थानीय आतंकित बन्ने गरेका छन् । मध्यवर्ती उपभोक्ता समितिले बाघको आक्रमणबाट बच्न ड्यामसाइडमा हुने गरेको मर्निङवाक रोक्न अनुरोध गरेको छ । समितिले सार्वजनिक सूचना प्रकाशन गरी जंगली जनावरको आक्रमणबाट बच्न उक्त क्षेत्रमा मर्निङवाकमा नजान आग्रह गरेको छ । पशुचौपाया पनि घरमै बाँधेर पाल्न अनुरोध गरिएको छ ।
दुई वर्षअघि सोही जंगलमा मनहरी–७ की एक महिलालाई बाघले मारेको थियो । राप्ती नदीकिनारमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीय ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । महिलाको शव उठाउने क्रममा पुनः बाघ आएर आक्रमण गर्दा स्थानीय २ जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । ३१ वर्षीया आमा सरु अधिकारी र १६ वर्षीया छोरी सम्झनालाई मनहरी–७ को रमौलीमा आक्रमण गरी घाइते बनाएकोमा उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा पालिकाको सहयोगमा निःशुल्क उपचार भएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट हरेक वर्ष राप्तीखोला तरेर बाघलगायत बन्यजन्तु महेन्द्र राजमार्ग छेऊमा रहेको मध्यवर्ती क्षेत्रका बस्तीमा आउने गरेका छन् । मनहरी पालिका अध्यक्ष रञ्जन कालाखेतीले स्थानीयलाई बाघको आक्रमणबाट जोगाउन करिब ८ फिट अग्लो वाल लगाउनेबारे सोचिएको तर उक्त कार्यका लागि सरकारी सहयोगको अपेक्षा गरिएको बताए ।
‘एक बाघलाई सातामा झण्डै ५० किलो आहारा चाहिन्छ । आहाराका लागि बाघ बस्तीतिर आउने गरेका छन्,’ पालिका अध्यक्ष कालाखेती भन्छन्–बाघको बासस्थान संरक्षणका लागि पालिकाले विशेष ध्यान दिनेछ । उनले बाघको ठूलो चुनौतीका रुपमा रहेको बाघ र मानिसबीच द्वन्द्व घटाउने काम गरिने र बाघको छाला तथा हाडलाई कालोबजारी गर्ने गिरोहलाई निस्तेज गरी त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याउन पालिका तयार रहेको दाबी गरे ।
बाघको हकमा उनीहरुको संख्या बढेसँगै वासस्थानमा प्रत्यक्ष चाप पर्नेगर्छ । नयाँ वासस्थान र आहाराको खोजीमा समेत बाघ जंगल र नजिकका बस्तीमा पुग्ने गरेको उक्त निकुञ्ज बताउँछ । सामान्यतया जंगलमा एउटा भाले बाघले ५२ र बघिनीले ३५ वर्ग किलोमिटर क्षेत्रफललाई आफ्नो वासस्थानका रुपमा प्रयोग गर्छन् । आफ्नो वासस्थानको क्षेत्रफलमा अरु बाघ/बघिनी आएर स्थायीरुपले बस्न खोजे बाघ बघिनीबीच झगडा पर्छ । पुरानाले आफ्नो क्षेत्र छाड्न चाहँदैन तर लडाइँमा हार्नेले वासस्थान र आहाराका लागि नयाँ ठाउँ खोज्नुपर्छ ।
यसरी एउटा बाघले आफ्नो क्षेत्रमा तीन वटासम्म बघिनीलाई बस्न दिने तर बघिनीले आफ्नो क्षेत्रमा नयाँ बघिनीलाई प्रवेश गर्न नदिने प्रवृत्ति पनि हुने गरेको छ । त्यस्तो अवस्थामा तीन बघिनीले सीमित क्षेत्रमा सीमा निर्धारण गर्दै आफ्नो वासस्थान बनाएर त्यसै सेरोफेरोभित्र बस्छन् । बघिनीहरुले रुखमा कोतर्ने, दिसापिसाब गरेर सांकेतिक सीमा निर्धारण गर्ने गर्छन् । त्यस सीमाभन्दा बाहिर अन्य बघिनीको सीमामा तिनीहरु प्रवेशसमेत गर्दैनन् । सामान्यतया एउटा बघिनीले दुईदेखि चार वटासम्म बच्चा पाउने र उनीहरुको गर्भ अवधि ९३ देखि १ सय २ दिनको हुन्छ ।
उता, चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर–१३ की ३२ वर्षीया म्हेन्दोमाया भण्डारी छन् । भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमण गरेको हो । निकुञ्जका अनुसार सोमबार विहान करिब ११ बजे घाँस काट्न गएकी भण्डारीको गैंडाको आक्रमणबाट घटनास्थलमा मृत्यु भएको हो । भण्डारीको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
मान्छे खुवाएर बाघ पाल्न सकिँदैन
प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयले कोप–२९ को समीक्षा गर्न आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेरमात्र नेपालले बाघ पाल्नुपर्ने बताए । नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए ।
‘जंगलमा मात्र होइन, गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हिँड्नुपर्छ । हामीले बाघ साढे ३ सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ,’ उनले भने–उपहार दिऔं, हाम्रा मित्रहरुलाई । कोही बाज, कोही मयुर पालेका हुन्छन्, त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प । विभिन्न देशलाई उपहार दिऔं बाघ, खोरसमेतै दिनुपर्छ भने नि दिऔं तर हाम्रो वनको क्षमताअनुसार जानुपर्छ । मान्छे खुवाएर बाघ पाल्न सकिँदैन । उनले नेपालको वनको क्षमताअनुसार १ सय ५० वटाभन्दा बढी बाघ पाल्न नसकिने भए पनि हाल नेपालमा ३ सयभन्दा बढी बाघ रहेको बताए । अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।