हेटौंडा/पुस अन्तिममा मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । संघको चुनावी सरगर्मी बढ्दो क्रममा छ । चुनावको दिन नजिकिएसँगै अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका दुई उम्मेदवारहरु धमाधम प्रचार/प्रसारमा जुटिरहेका छन् । मकवानपुरको उत्तरी क्षेत्र थाहानगर, इन्द्रसरोवरदेखि पूर्वी मकवानपुरको बागमती, बकैया र पश्चिमी मकवानपुरको मनहरीसम्म दुवै उम्मेदवार र आफ्ना प्यानलका उम्मेदवारहरुसहित चुनावी प्रचार/प्रसारका जुटेका छन् ।
आगामी ३ बर्षे नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष प्रमोदसिंह
रानाभाट चुनावी मैदानमा उत्रिएका छन् । यी दुईजनाले अनौपचारिक रुपमा आफ्नो उम्मेदवारीसहित प्यानल नै बनाएर चुनावी कार्यक्रमहरु सार्वजनिक गर्दै आएका छन् ।
अध्यक्षका उम्मेदवारमात्रै होइन, निर्वाचनमा होमिएको ब्यवसायीले आफ्नो पक्षमा मतदाता रिझाउने क्रम सुरु गरेका छन् । उद्योगी व्यापारीहरु दुई खेमामा विभाजन भएर प्रचारबाजी चलिरहेको छ । संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष प्रमोदसिंह रानाभाटले लगभग आफ्नो प्यानलको उम्मेदवारको नाम टुंग्याएका छन् भने अर्का उम्मेदवार अग्रवाल भने प्यानल निर्माणकै चरणमा देखिन्छन् ।
यतिबेला बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा जताततै संघका उम्मेदवारहरुको प्रचार पर्चा र पोष्टहरुको बोर्ड देखिन्छ । पुष २४ गतेदेखि २७ गतेसम्म संघको ५८ औं साधारण सभाका तथा अधिवेशन हुँदैछ । आउ“दो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । हालसम्मको अवस्था हेर्दा संघको अधिवेशनमा यी दुई प्यानल बिचमा चुनाव हुने आंकलन गरिएको छ ।
मकवानपुरे उद्योगी, व्यवसायीको छाता संगठनका रुपमा रहेको मउवा संघमा २ हजार ९ सय ८० उद्योगी व्यवसायी आवद्ध छन् । ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिन लागेको हो । त्यसोत, अध्यक्ष पदका उम्मेदवार अग्रवाल र रानाभाट दुवै नेतृत्वदायी भूमिका गर्न सक्ने अब्बल उम्मेदवार हुन् । त्यसमा पनि रानाभाटलाई वहाल वाला अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको समेत साथ छ ।
उता, अर्का उम्मेदवार अग्रवाललाई भने अधिकांश पुर्वअध्यक्षहरु, आम मतदाता, ब्यवसायीक घरानाहरुसहित जिल्लाका प्रभावशाली व्यवसायी नेता राजकुमार न्यौपानेको साथ छ । गत निर्वाचनमा झिनो मतले पराजय भोगेका न्यौपानेले हाल अनिल अग्रवाललाई समर्थन गरेका छन् भने गत कार्यकालका बिजयी कृष्णकुमार गुप्ताले रानाभाटलाई समर्थन गरेका छन् । न्यौपाने जसरी पनि अग्रवाललाई जिताउने अभियानमा छन् भने वहालवाला अध्यक्ष अग्रवालले सार्वजनिकरुपमै रानाभाटको प्यानललाई समर्थन गर्दै आएका छ ।
उसो त अनिल अग्रवाल हेटौंडाका ब्यवसायी तथा जिल्लाका राजनैतिक दलका हरेक ब्यक्ति लगायत परिचित सबैको सामाजिक सञ्जालमार्फत् जन्म दिनको शुभकामना दिएर निकै लोकप्रिय ब्यक्ति हुन् । आमउद्योगी व्यवसायी माफ अग्रवाललाई निकै लोकप्रिय छन् भने रानाभाट घरानीया उद्योगीबिच परिचित ब्यक्ति हुन् ।
संघको कार्यकालको हिसावले अग्रवालले रानाभाटभन्दा बढी कार्यकाल बिताएका ब्यक्ति हुन् । अध्यक्षका उमेदवार राना भाटले ब्यापारीका हरेक समस्याको सम्बोधन गर्दै संस्थालाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ आफू अध्यक्ष बन्न चाहेको बताउदै आएका छन् । ॅव्यवसायीका हकहितका लागि ठोस योजना बनाएर संघलाई समृद्ध र प्रभावकारी बनाउन मेरो उमेदवारी हो, रानाभाटले भने ।
संघ वर्तमान बरिष्ठ उपाध्यक्ष समेत रहेका अग्रवालले अध्यक्षमा आफ्नो दाबी स्वभाविक भएको बताउदै कार्यकाल र आफुले यसअघि उद्योगी/ब्यवसायीका लागि धेरै काम गरेकोले पनि मतदाताको आग्रहमा आफु उमेदवार बनेको बताए । रानाभाटको प्यानलमा वाणिज्यतर्फको उपाध्यक्षमा राम प्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्षमा दिपक उप्रेती, एसोसिएट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई र वस्तुगत तर्फको उपाध्यक्षमा प्रदिप अर्याल छन् । यस्तै महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य र सहकोषाध्यक्षमा निलम वैद्य छन् ।
यता, संघमा बिगत १७ वर्षदेखिको संघर्षरत अग्रवालको प्यानलमा बाणिज्यतर्फको उपाध्यक्ष राजु अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा रविन्द्र घिमिरे, एसोसिएटतर्फको उपाध्यक्षमा विष्णु खनाल, कोषाध्यक्षमा तेजराज अधिकारी र सहकोषाध्यक्षमा राधिका सामरी पाण्डेको नाम टुंगाएको छ । निर्वाचनमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षलाई सबैले मतदान गर्नेछन् भने अन्यले बिषयगत मतदान गर्नेछन् ।