31.9 C
Makwānpur
Homeमुख्य समाचारसशक्त नेतृत्वले मात्र व्यवसायीको हकहित सुनिश्चित

सशक्त नेतृत्वले मात्र व्यवसायीको हकहित सुनिश्चित

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष उम्मेदवार प्रमोदसिंह रानाभाट संघको सशक्त नेतृत्वको आवश्यकताबारे आफ्‌नो स्पष्ट दृष्टिकोणसाथ प्रस्तुत भएका छन् । संघको हालका गतिविधि र व्यवसायीका समस्याप्रति असन्तुष्टि व्यक्त गर्दै उनले व्यवसायीको हक, अधिकार र हितलाई सुदृढ गर्न आफ्‌नो उम्मेदवारी घोषणा गरेको बताउँछन् । व्यावसायिक सोच, योजनाबद्ध दृष्टिकोण र सुधारको अठोट लिएर अघि बढिरहेका रानाभाट हाल संघका उपाध्यक्षसमेत हुन् ।

रानाभाट संघको नेतृत्वमा व्यवसायीको हित सुनिश्चित गर्न थप सुधार र सशक्तीकरणको आवश्यकता महसुस गर्छन् । उनका अनुसार संघ व्यवसायीको साझा मञ्च हो, तर विगतका वर्षमा संघले व्यवसायीको वास्तविक समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । रानाभाट भन्छन्‌–संघले व्यावसायिक वातावरण सुधार गर्नुपर्छ । व्यवसायीका समस्यामा समाधान खोज्ने, उनीको हक र अधिकारका लागि सरकारसमक्ष बलियो आवाज उठाउने आवश्यकता छ । म यही कमीलाई पूरा गर्न आएको हुँ ।

रानाभाटका अनुसार व्यवसायीले स्थानीय सरकारदेखि संघीय सरकारसम्म करप्रणाली, अनुमति प्रक्रिया र अन्य प्रशासनिक जटिलताका कारण धेरै समस्या भोगिरहेका छन् । व्यावसायिक हितका लागि प्रभावकारी नीति र त्यसको कार्यान्वयन अभाव हुँदा व्यवसायीले आफ्‌नो व्यापारलाई सहज बनाउन कठिनाइ महसुस गरिरहेका छन् । उनी भन्छन्‌–व्यवसायीको समस्या समाधान संघको मुख्य भूमिका हो । तर, विगतमा संघले यी समस्यालाई सम्बोधन भए पनि पर्याप्त भएको दिएको छैन । व्यवसायीको आवाजलाई सशक्त बनाउँदै उनीहरुको समस्यामा दीगो समाधान खोज्न म प्रतिबद्ध छु ।

हेटौंडा बजारमा भइरहेको सडक विस्तारलाई व्यवस्थित गर्न र व्यवसायीको हितलाई सुनिश्चित गर्न पनि रानाभाटले सरकारसँग समन्वयकारी भूमिका खेल्न आवश्यक देखेका छन् । ‘सडक विस्तार हेटौंडाको विकासका लागि जरुरी छ । तर, यो काम व्यवस्थितढंगले अघि बढ्नुपर्छ । व्यवसायी र घरधनीलाई मर्का नपर्ने गरी सरकारले समन्वय गर्नुपर्छ,’ उनले भने । संघलाई सबै व्यवसायीको प्रतिनिधित्व गर्ने प्रभावकारी संस्था बनाउने योजनासहित रानाभाट अघि बढेका छन् । व्यावसायिक हितका लागि संघको पहुँच प्रत्येक व्यवसायीसम्म पुर्‍याउने उनको अठोट छ । उनी भन्छन्‌–संघ केवल केही सीमित व्यवसायीको संस्था होइन । यो सबै व्यवसायीको साझा मञ्च हो । मेरो नेतृत्वमा संघले व्यवसायीका हरेक गुनासोलाई समयमै समाधान गर्नसक्ने बनाइनेछ ।

रानाभाटले महिला र युवा उद्यमीको सशक्तीकरणलाई पनि प्राथमिकतामा राखेका छन् । उनले विशेष तालिम, सहुलियत ऋण, र व्यावसायिक अनुदान कार्यक्रमहरु सञ्चालन गरेर उनीहरुको क्षमता विकास गर्ने योजना अघि सारेका छन् । ‘महिला र युवा उद्यमशीलतामा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनीहरुलाई सशक्त बनाउन विशेष पहल गरिनेछ,’ रानाभाटले बताए । मकवानपुरका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन ठोस योजना र रणनीति आवश्यक रहेको उनले बताएका छन् । ‘हाम्रो उत्पादन गुणस्तरीय छ । तर, अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सही रणनीति छैन । संघले व्यापार प्रवद्र्धनका लागि निर्यात योजनामा काम गर्नेछ,’ उनले भने ।

रानाभाटलाई भोट किन दिने भन्ने प्रश्नमा उनी आफ्‌नो अनुभव र प्रतिबद्धता प्रस्तुत गर्छन् । ‘मकवानपुर उद्योग वाणिज्य संघ व्यवसायीको हक र अधिकारका लागि बनेको संस्था हो । तर, विगतमा यो संस्था व्यावसायिक अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन । मेरो नेतृत्वमा संघले व्यावसायिक हितलाई प्राथमिकता दिनेछ । व्यवसायीका समस्यामा दीगो समाधान खोज्ने र उनीहरुको हकको रक्षा गर्ने मेरो प्रतिबद्धता छ । म केवल नेतृत्वका लागि होइन, व्यवसायीको विश्वास जित्न आएको हुँ । यस पटकको निर्वाचनले संघलाई सही नेतृत्व दिनेछ,’ रानाभाटले भने ।

उनले व्यवसायीलाई संघको महत्व बुझ्न र सही नेतृत्व छान्न आग्रह गरेका छन् । ‘यो निर्वाचन केवल नेतृत्वको चयन होइन । यो मकवानपुरका व्यवसायीको भविष्यको दिशा तय गर्ने अवसर हो । संघ व्यवसायीका लागि हो र यसलाई सशक्त बनाउन तपाईंहरुको मतको आवश्यकता छ । आउनुस्, सबै मिलेर संघलाई प्रभावकारी बनाऔं,’ उनले भने ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here