हेटौंडा/‘जलवायु कार्यको स्थानीयकरणः सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैंगिक दृष्टिकोण’ बारे प्रदेशस्तरीय संवाद कार्यक्रम सोमबार हेटौंडामा सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामातामाङले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनलाई औपचारिकतामा मात्र सीमित गरिन नहुने बताए । ॅईआईए रिपोर्ट छ वा छैन भन्नेमात्र हेरिन्छ, रिपोर्टमा के छ भनेर हेर्ने गरिँदैन । यस्तो चलन हट्नुपर्छ, प्रभाव हेरेर काम गर्नुपर्छ,’ उनले भने । वातावरण संरक्षणमा सबैको दायित्व रहेको भन्दै उनले यसमा सबै पक्ष उत्तिकै सजग हुनुपर्ने बताए । वातावरणीय प्रभावलाई मूल्यांकन र समाधान गरेर काम गर्नुपर्ने र प्रदुषण न्यूनीकरणमा लाग्नुपर्ने र बाँकी काम गर्दै जानुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीश्रेष्ठले सरकार बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् । स्थानीय उत्पादन, महिला उद्यमीलाई आफूले प्राथमिकता दिएको भन्दै उनले उद्यमशीलता र वातावरणमैत्री बनजन्य उत्पादनलाई जोडेर लगिएको स्पष्ट पारिन् । प्राकृतिक सम्पदा र सार्वजनिक सम्पत्ति संरक्षणमा सबैले जोड दिनुपर्ने उनले बताइन् । छलफलमा उठेका महत्वपूर्ण विषयहरुलाई प्रदेश सरकारसम्म ल्याइदिन आग्रह गर्दै उनले यस्ता विषयलाई सम्बन्धित निकायमा लैजाने र आफ्नो तर्फबाट गर्नुपर्ने भूमिका पूरा गर्ने स्पष्ट पारिन् ।
प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले प्लाष्टिक नियन्त्रण र प्रकृति संरक्षणमा जोड दिए । हाम्रा क्रियाकलापहरु सुधार गरेर वातावरण जोगाउने हो भनेमात्र नयाँ पुस्तालाई हामीले सुन्दर पृथ्वी हस्तान्तरण गर्न सकिने उनले बताए । मन्त्री सिलवालले भने-पृथ्वीलाई नोक्सान पार्ने मान्छे नै हो । यस पृथ्वीलाई अरुले नोक्सान गरेको छैन । त्यसैले यसको संरक्षण पनि हामीले नै गर्नुपर्छ ।
माडी नगरपालिका मेयर ताराकुमारी काजी महतोले प्राकृतिक सम्पदाको सम्भावनासँगै स्थानीय तहमा कानुनी जटिलताका कारण काम गर्न समस्या भएको बताइन् । ‘संघीय कानुनअनुसार चल्नुपर्छ, सरकार भन्नै अप्ठ्यारो लाग्छ,’ उनले भनिन् । कतिपय अवस्थामा कानुन बाझिने स्थिति रहेको भए पनि आफ्नो स्थानीय तहले सम्पदाको संरक्षण गर्दै जलवायु परिवर्तन न्यूनीकरणका क्रियाकलाप गर्दै आएको बताइन् ।
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, गैरसरकारी संस्था महासंघ वागमती प्रदेशका कार्यबाहक अध्यक्ष कमलकुमार बिश्वकर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा एक्सन एड् नेपालका महिलाअधिकार कार्यक्रम परियोजना अधिकृत कविता बस्नेतले जलवायुका सवालमा हाम्रो स्थान के छ वा यससम्बन्धि बनेका ऐन, ऐनका कार्य र प्रभाव, कार्बन व्यापार र लाभलगायत विषयबारे देशको अवस्था झल्काउने प्रस्तुति दिइन् । वन तथा वातावरण र जलवायुसँग सम्बन्धित यथेष्ट ऐन, नियम र नियमावलीहरु बनेको भए पनि यसको कार्यान्वयन प्रक्रिया वा सजाय र न्याय सरल नभएको विषय उनको प्रस्तुतिमा समेटिएको थियो ।
प्राध्यापक समीक्षा श्रेष्ठले सहरी विकास योजनासम्बन्धि प्रस्तुति दिइन् । सार्वजनिक सम्पत्तिको नास हुँदै गएको र मानवीय जीवन पनि जोखिममा परेका विषयहरु उनको प्रस्तुतिमा समेटिएका थिए । कार्यक्रमअन्तर्गत् पहिलो छलफलमा प्रदेश र स्थानीय सरकारमा जलवायु कार्यहरु विस्तार गर्ने जलवायु योजनाहरु र बजेट निर्माण तथा कार्यान्वयनका विषय थियो । छलफलमा प्रदेशसभा सदस्य भारती पाठक, पर्यावरण पत्रकार प्रतीक घिमिरे र दीगो विकास संस्था कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठ प्यानलिष्ट थिए भने जलवायु अभियन्ता सागर कार्कीले सेसन सञ्चालन गरेका थिए । नीतिनिर्माताले वन तथा वातावरण क्षेत्रमा संवेदनशील हुनुपर्ने छलफलको निष्कर्ष थियो ।
सार्वजनिक सम्पदाको अवधारणा बुझ्ने र यसलाई लैंगिक दृष्टिकोणबाट जलवायु समाधानका रुपमा अन्वेषण गर्ने विषयमा प्यानल छलफल थियो । छलफलमा नीति तथा योजना आयोग वागमती उपाध्यक्ष डा. गंगादत्त नेपाल, माडी नगरपालिका योजना अधिकृत शिवप्रसाद सुबेदी, प्राकृतिक स्रोतमा महिलाअधिकार सञ्जाल अध्यक्ष आरती पाठक र प्राकृतिक स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र पर्यावरणीय पर्यटनका विशेषज्ञ डा. रोचन शेरचन प्यानलिष्ट थिए भने सेसनको सहजीकरण जलवायु अभियन्ता निश्चल बानियाँले गरेका थिए । प्राकृतिक स्रोतसँग महिलाहरु नजिक रहेको र यसलाई महिलाहरुले नै बुझ्ने तथा व्यवहार गर्ने गरेकोले महिलालाई जोडेर लैजान सकेमा प्रभावकारी हुने छलफलको निष्कर्ष थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, कृषि तथा वन विश्वविद्यालय, वन संकाय हेटौंडाका सहायक डिन सञ्जय उपाध्याय, लीलुकुमारी मगर, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्याब्सन मकवानपुर अध्यक्ष बिनोद सुबेदीको आतिथ्यता थियो । कार्यक्रममा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि र समुदायमा गठन भएका समूहका प्रतिनिधिहरु सहभागी थिए ।
जलवायुसम्बन्धि संघीय कानुन, जलवायु कार्यको स्थानीयकरण तथा सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैंगिक दृष्टिकोणबारे छलफल गर्ने उद्धेश्यसाथ एक्सन एड् नेपाल, मकवानपुर महिला समूह र चितवन सक्रिय महिला प्रतिष्ठानले कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा बेटर चितवन, जीवन्त नेपाल, सीडीए नेपाल, एम्नेस्टि इन्टरनेशनल, फरेस्ट्री युथ नेटवर्क, दीगो विकास इन्स्टिच्युट, एनवाईसीए हेटौंडा, एफओएफ हेटौंडा, ग्रिन फाउण्डेशन र वागमती युनेस्को क्लबको सहकार्य थियो । मकवानपुर महिला समूह कार्यक्रम संयोजक तथा महिला अधिकारकर्मी निशा लामा र जीवन्त नेपाल अध्यक्ष तथा युवा जलवायु अभियन्ता प्रसुज मैनालीले कार्यक्रम सञ्चालन गरेका थिए ।