19 C
Makwānpur
Homeमुख्य समाचार‘आत्मविश्वासले जितायो खेल’

‘आत्मविश्वासले जितायो खेल’

जी न्यौपाने

हेटौंडा/नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौमा शनिबार सम्पन्न एनपीएल क्रिकेट प्रतियोगिता विजेता जनकपुर बोल्ट्‌सका एक खेलाडी हुन् हेटौंडाका शुभ कंसाकार । सन् २०१४ देखि क्रिकेट खेल्न शुरु गरेका उनले १० वर्षको अथक् प्रयासपछि एनपीएल प्रतियोगिता खेल्न पाएका हुन् ।

स्नातकोत्तर तहमा अध्ययनको तयारी अवस्थामा रहेका कंसाकारले २२-२३ दिन घरेलु मैदानमा आफ्‌नो खेलजीवनलाई जाँच्ने मौका पाए । प्रतियोगितामा खरो उत्रिएका उनले २४ रनको योगदान दिए । चर्चित विदेशी खेलाडीहरुको समेत सहभागिता रहेको घरेलु टिमहरुसँग खेल्नु त्यति सहज थिएन उनीहरुलाई ।

विश्व चर्चित खेलाडीहरुसँग खेल्नु र संसारका खेलप्रेमीहरुले हेरेका प्रथम संस्करणको खेल खेल्छु भन्ने कुरा आफ्‌नो कल्पना भन्दा पनि बाहिर थियो शुभलाई । ‘आत्मविश्वास बलियो बनाएर खेल्दै जाँदा सबैको राम्रो खेल प्रदर्शनले पनि जितियो,’ शुभले भने । पारस खड्‌काको संयोजकत्वमा भएको नेपालकै पहिलो प्रिमियर लिग विजेता टिमलाई पुबुदु दासानाइकेले प्रशिक्षण दिएका थिए । आसिफ शेखको कप्तानीमा खेलेको जनकपुर बोल्ट्‌सले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेलेका सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गरी नेपालको पहिलो प्रिमियर लिगको विजेता बनेको हो ।

‘दुई पटक पराजित भएको जनकपर बोल्ट्‌सलाई खेल जित्न आत्मविश्वास, निरन्तरताको प्रदर्शन नै थियो,’ कंसाकारले भने-हाम्रो प्रशिक्षकको हौसला, कप्तानको कप्तानी र सबैको असल टिमवर्कले नै हामीले खेल जितेका हौं । सबभन्दा ठूलो हामीसँग आत्मविश्वास थियो ।

पारस खड्‌का र उनको टिमले टी-२० विश्वकपमा नेपालको प्रतिनिधित्व गरेर क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउने उत्कृष्ट कार्यपछि नेपालमा क्रिकेट सम्भावना भएको देखियो र विश्वको नजर नेपाली क्रिकेटमा पर्न गयो । लगतै आईपीएल खेलबाट सन्दीप लामिछानेको उदय भएपछि नेपाली क्रिकेटले विश्वबजारमा थप ठाउँ पायो । विश्वको लोकप्रिय खेल फुटबलपछि नेपालमा सर्वाधिक सम्भावना बोकेको खेल युवापुस्ताले पनि सर्वाधिक रुचाएको खेल क्रिकेट हो । यसलाई पर्याप्त अभ्यास गर्ने ठाउँ र सबै सरोकारवालाहरुको संरक्षण भएमा आफूजस्ता खेलक्षेत्रमा भविष्य खोजिरहेका युवालाई सजिलो हुने कंसाकारको बुझाइ छ ।

नेपालकै पहिलो संस्करण खेलमा विजेता हुँदा कस्तो अनुभव भयो भनी प्रश्न गर्दा उनले भने-पछिल्लो समय विश्वचर्चित खेलले नेपालमा राम्रो खुट्टा टेक्न सफल भएको छ । म यही खेलमा आफ्‌नो भविष्य खोजिरहेको, १० वर्षदेखि क्रिकेट सिक्दै र खेल्दै आएको खेलाडी भएकाले खेल खेल्न पाउनु नै ठूलो कुरा थियोे । झन् यति ठूलो खेलमा विजयी टिमको सदस्य हुन पाउँदा अत्यन्त खुशी लागेको छ । म शब्दमा व्यक्त गर्नै सक्दिनँ ।

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा शनिबार सम्पन्न खेल विजेता टिमलाई १ करोड १० लाख, उपविजेतालाई ५१ लाख, तेस्रोलाई २५ लाख, चौथोलाई १५ लाख र उत्कृष्ट खेलाडीलाई कार पुरस्कार व्यवस्था गरिएको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here