19 C
Makwānpur
Homeमुख्य समाचारपूर्णकालीन बालश्रमिक ६७ प्रतिशत्

पूर्णकालीन बालश्रमिक ६७ प्रतिशत्

हेटौंडा/बाल हेल्पलाइन (सिविन) नेपाल मकवानपुरले संकलन गरेको हेटौंडाका विभिन्न वडाहरु र मनहरी गाउँपालिकाको तथ्यांक जनप्रतिनिधिहरुबीच सार्वजनिक गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-१, ३, १०, ११ र १९ नम्बर वडा र मनहरी गाउँपालिकाको १, ३, ५,७ र ९ नम्बर वडामा बालबालिकासँग सम्बन्धित विभिन्न विषयमा संकलन गरिएको तथ्यांक सोमबार सार्वजनिक गरिएको हो । बालबालिकाको जोखिम, शिक्षा, श्रम र अपांगताका विषयमा अक्टोबरबाट सर्वेक्षण गरिएकोमा सोमबार सार्वजनिक गरिएको सिविन नेपाल मकवानपुर संयोजक झवीन्द्र ज्ञवालीले बताए ।

बालश्रम र बालविवाह न्यूनीकरण गर्दै सामाजिक कार्यमार्फत् शिक्षा प्रवद्र्धन गर्ने लक्ष्यले सर्वेक्षण गरिएको बताइएको छ । बालश्रममा संलग्न बालबालिकाको पहिचान र कारण विश्लेषण गर्ने, बालविवाहको अवस्था र प्रभाव अध्ययन गर्ने, समाजमा आर्थिक र सेवाका चुनौती मूल्यांकन गर्ने, बालबालिकाको शिक्षा र स्वास्थ्य सेवामा पहुँचको अध्ययन गर्ने उद्धेश्यले तथ्यांक संकलन गरिएको हो ।

तथ्यांकअनुसार हेटौंडाका यी वडाहरुका बालबालिकाको कुल संख्या १ हजार ३ सय ४५ र मनहरीमा ८ हजार ७ सय ८६ बालबालिका रहेको देखिएको छ । जसमा हेटौंडामा बालकको संख्या ६ हजार ८ सय ५९ र बालिका ६ हजार १ सय ८६ छन् भने मनहरी गाउँपालिकामा बालकको संख्या ४ हजार ५ सय ३१ र बालिकाको संख्या ४ हजार २ सय ५४ रहेको तथ्यांक छ । मनहरीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका एक जना रहेको सिविनको तथ्यांक छ ।

सिविनले गरेको सर्वेक्षणअनुसार जातीय संरचनामा मुख्यतः तामाङ, व्रह्‌माण र क्षेत्री छन् । जन्मदर्ता भएका घरधुरी ९३ प्रतिशत्, नागरिकता प्रमाणपत्र प्राप्त भएका घरधुरी ९५.३१ प्रतिशत्, घरधुरीको औसत मासिक आम्दानी ३५ हजार, अपांगता भएका घरधुरीको संख्या ३ सय ५७, विद्यालयमा सार्वजनिक विद्यालय प्रयोग, विद्यालय भर्ना भएका बालबालिकाको संख्या १० हजार ६ सय २ र विद्यालय छाड्‌ने बालबालिकाको संख्या ३ सय ६९ रहेको तथ्यांकले देखाएको छ ।

विवाहको उच्च जोखिममा रहेको बालबालिकाको संख्या ५३ जना भटिएको सर्वेक्षणले देखाएको छ । शिक्षाका लागि बाधा परेका विभिन्न विषयमा समेत सिविनले सर्वेक्षण गरेको छ । जसमा आर्थिक समस्या ७५ प्रतिशत्, सुबिधा अभाव १० प्रतिशत्, अपांगता भएका बालबालिकाको संख्या १.२ प्रतिशत् अर्थात् १ सय १७ बालबालिका, अपांगता प्रमाणपत्र ३१ प्रतिशत् बालबालिकाले प्राप्त गरेको तथ्यांकले देखाएको छ । सर्वेक्षणको क्रममा बालश्रममा संलग्न ७३ घरधुरी रहेको तथ्यांकले देखाएको छ । पूर्णकालीन बालश्रमिक ६७ प्रतिशत् फेला परेका छन् । जसमा २६ प्रतिशत् यातायात क्षेत्रमा बालश्रम गर्दै आएको पाइएको छ भने ११ प्रतिशत् बालबालिका कारखानामा श्रम गर्दै आएको तथ्यांकले देखाएको छ ।

सर्वेक्षणमा स्वास्थ्य बिमा भएका घरधुरीको ५३.६९ प्रतिशत् रहेको तथ्यांकले देखाएको छ । स्वास्थ्य समस्याको दर ६.५६ प्रतिशत्, बालबालिकामा लागुपदार्थ प्रयोग १ प्रतिशत् रहेको तथ्यांकले देखाएको छ । बालअधिकारको चेतना प्राप्त भएको ६५ पाइएको छ भने समुदाय सहभागिता १३.४ प्रतिशत्, दुवै अभिभावकविहीन बालबालिकाको संख्या २ हजार ५ सय ३३ रहेको पाइएको तथ्यांकले देखाएको छ । बालविवाहको जोखिममा रहेका बालबालिकाको संख्या ५३ छ भने विवाह प्रमाणपत्र उपलब्धता ८९ प्रतिशत् रहेको सिविनको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणका लागि सिविन नेपाल मकवानपुरले सर्वेक्षक नियुक्त गरेको थियो । तीन महिना सर्वेक्षण सम्बन्धित जनप्रतिधिहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो । सिविनले संकलन गरेको तथ्यांक बालमैत्री नगर बनाउनका लागि सहयोग पुग्ने जनप्रतिनिधिहरुले बताए । हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा-१ का वडा अध्यक्ष सबिन न्यौपाने, ३ नम्बर वडा अध्यक्ष ढलक थापा, ९ नम्बर वडा अध्यक्ष सुकराम केसी, १० नम्बर वडा अध्यक्ष फुर्वा लामा, ११ की वडा अध्यक्ष जुना दाहाल र १९ नम्बर वडा अध्यक्ष नरनाथ सुबेदीलगायतको उपस्थिति थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here