सुनिता बिष्ट
हेटौंडा/दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि पर्यटकका लागि खुला गरिएको छ । लामो समयसम्म सुरुङमार्गको दुवै ढोका बन्द गरेर राखिएकोमा अब भने पर्यटकहरुले यसको अवलोकन, भ्रमण तथा फोटो खिच्नका लागि प्रयोग गर्न पाउने भएका हुन् ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा निर्माण गरिएको सुरुङमार्गको जीर्णोद्धारपछि सर्वसाधारणका लागि खुला गरिएको हो । मकवानपुरको हेटौंडा-१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएको हो ।
वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएको हो । सुरुङमार्ग उद्घाटनपश्चात् हेटौंडा उपमहानगरपालिकालाई सुरुङको स्वामित्व हस्तान्तरण गरिएको थियो । १९ बैशाख २०७८ मा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौं स्युचाटारसँग सुरुङमार्ग पुनर्निर्माणको सम्झौता भएको थियो । जीर्ण अवस्थामा रहेको सुरुङमार्गको निर्माणमा अनेक चुनौती खेप्नुपरेको निर्माण कम्पनीका प्रमुख अच्युत भण्डारीको अनुभव छ ।
सुरुमा त सुरुङमार्गको नक्सामात्र थियो, उनले भने-पहिला/पहिला मान्छे हिँड्नका लागिमात्र प्रयोग गरेको सानो गोरेटोमात्र रहेछ । त्यसमा पनि पहिरोहरुले ठाउँठाउँमा बिगारेको । सय मिटरजतिमा त्यति समस्या देखिएन । त्यसभन्दा उताको बक्स कटिङमा निकै सकस खेप्नुपर्यो । यद्यपि, हाइड्रोपावरको सुरुङ बनाइसकेको अनुभव भएर केही सहज भयो ।
प्रदेश सरकारले ३ करोड ६५ लाख खर्चिएर सुरुङमार्गको जीर्णोद्धार सम्पन्न गरेको झण्डै वर्ष दिनपछि सञ्चालनका लागि स्थानीय तहलाई हस्तान्तरण गरेको छ । जसअनुसार हेटौंडा उपमहानगरपालिकाले सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि तयार गरेको बताइएकोे छ । उद्घाटन तथा हस्तान्तरण समारोहमा मेयर मीनाकुमारी लामाले सञ्चालनमा सहजताका लागि टिकट बिक्री दर तोकिएको बताइन् ।
विदेशी पर्यटकका लागि १ सय रुपियाँ, आन्तरिक पर्यटकका लागि ५० रुपियाँ र विद्यार्थीहरुका लागि १० रुपियाँको टिकट लिनुपर्ने व्यवस्था मिलाइने उनले बताइन् । उनका अनुसार ५ वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार हुँदा सुरुङमार्ग जीर्णोद्धारको काम सुरु गरिएको थियो । इतिहासको पानामा लेखिएको धरोहरलाई संरक्षण गर्ने उद्धेश्यले थालनी गरिएको सुरुङमार्ग सञ्चालनमा आउँदा आफ्नो सपना पूरा भएको पूर्वमुख्यमन्त्री पौडेलले बताए । इतिहास जोगाउनका लागि आफू नेतृत्वको सरकार हुँदा उक्त बजेट विनियोजन गरेर जीर्णोद्धार कार्यको थालनी गरिएको उनले बताए ।
२०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको करिब वर्ष दिन भन्दा बढी समयपछि सर्वसाधारणका लागि खुला गरिएको हो । शताब्दीको इतिहासलाई जीवन्त राख्दै हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरोस् भन्ने चाहनासहित हस्तान्तरणपत्रमा हस्ताक्षर गरिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बताए । बेलाबेलामा प्रदेश सरकारले यसको अनुगमन तथा निरीक्षण गर्ने मन्त्री मास्केको भनाइ छ ।
२ सय २५ मिटर लामो सुरुङको चौडाईं २.५ मिटर छ भने उचाईं ३ मिटर छ । नेपालका प्रथम ग्राजुएट इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङबीच भागमा भासिएर जोखिम अवस्थामा थियो । काठमाडौंलाई हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको दि हिमालयन किङ्डम अफ नेपाल नामक पुस्तकमा उल्लेख छ ।