मञ्जिता मैनाली
हेटौंडा/सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिंगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडीभित्र सुन्नेबित्तिकै ९ वर्षीया अञ्जली बिकलाई विद्यालय जान हतार भयो ।
पुरानो र ठाउँठाउँमा च्यातिएको थियो उनको विद्यालयको पोशाक । यताउता पल्टाएपछि अन्ततः घरमा बस्दा लगाएको कपडासँगै उनी विद्यालयका लागि निस्किन् । त्यसपछि ७ वर्षीया शोभा बिक र १४ वर्षीया पुष्पा बिक पनि भोकै पेट पछि लागे । घरमा खाने अन्न केही थिएन । मजदुरी गरेको पैसा नआएपछि त्यसकै जोहो गर्न आमा शान्ति बिक बाहिर निस्किएकी थिइन् ।
भोकै पेट पुष्पाका भाइबहिनीहरु कतिसम्म पढ्न सक्थे र ? खाजा खाने समय भन्दाअगाडि नै उनीहरु शिक्षकसँग सोधेर खाना खान जान्छौ भनेर घरमा आए । चार वर्षअघि भारत कमाउन गएका पुष्पाका बुबा उतै बेपत्ता भए । आमाले मजदुरी गरेर पाँच भाइबहिनीको खर्च जोहो गर्दै आएकी छन् ।
विहान खाए साँझ के खाउँ र साँझ खाए विहान के खाउँ भन्ने समस्यामा छन् उनीहरु । त्यसमाथि धुलो र धुवाँमा काम गर्नुपर्दा शान्ति बिरामी छिन् । ‘बुबा विदेश गएर घर आउनुभएन,’ पुष्पाले भनिन्-आमा बिरामी हुनुहुन्छ । धुलो धुवाँमा काम गरेर हामीलाई पाल्नुहुन्छ । साँझ विहानको दुई छाक जुटाउन मुस्किल रहिआएकाले विद्यालयको पोशाक नभएको उनले बताइन् । ॅभोकै विद्यालय जानुपर्छ, लगाउने डे्रस पनि छैन,’ उनले भनिन्-कहिलेकाहीं हामी आमालाई सघाउन काममा पनि जानुपर्छ ।
पुष्पा माइली छोरी हुन् । उनी हेटौंडा-१९ स्थित लेखपानीमा रहेको जीवनज्योति आधारभुत विद्यालयमा पढ्छिन् । घरमा खानै नपुग्ने भएपछि जेठी दिदी स्वस्तिकाले १६ वर्षमै विवाह गरिन् । उनका बहिनीहरु अञ्जली र शोभा दुई कक्षामा पढ्छन् । सानो भाइ आयुषको मुटुमा समस्या भएपछि रोग पाल्नुको विकल्प छैन । आयुष आमासँगै काममा जान्छन् ।
गाउँका ओमबहादुर बिकको पनि अवस्था उस्तै छ । भोको पेट विद्यालय जान्छन् । न उनीसँग विद्यालयको पोशाक छ न कापीकलम नै । शिक्षकले लेख्न लगाउँदा कापी नभएपछि कहिले साथीहरुले लेखेको हेर्छन्, कहिले घरतिर फर्कन्छन् । ६ वर्षअघि बुबा बितेपछि आमा विवाह गरेर अन्तै गइन् । ओमप्रकाशका तीन भाइबहिनी बिचल्लीमा परे । हाल ओमबहादुर हजुरआमासँगै बस्दै आएका छन् भने उनका दुई बहिनी आफन्तले पाल्न लगेका छन् । गिट्टी कुटेरै हजुरआमाले उनको पालनपोषण गरेकी छन् । ‘भोकै स्कुल जान्छु,’ ओमप्रकाशले भने-हजुरआमाले गिट्टी बेचेको पैसाले राम्रोसँग खान पुग्दैन ।
तामाङ समुदाय रहेको लेखपानीमा एउटामात्र विद्यालय छ । अभिभावक विहान मेलापात हिँड्ने कारण बालबालिकाहरु भोकै विद्यालय आउँछन् । उक्त ठाउँमा १२ बजेसम्म कसैको घरमा खाना नपाक्ने कारण बालबालिकाहरु भोकै विद्यालय आउने गरेको प्रधानाध्यापक कुमारसिंह गोलेको भनाइ छ । बालबालिका विद्यालय आएपछि भोको पेटका कारण कोही झोक्राएर बस्छन् त कोही रुन थाल्छन् । आर्थिक अवस्था कमजोर भएको र भोको पेट विद्यालय पढ्न विद्यार्थी आउने गरेका कारण राम्रो शिक्षा लिन र दिन नसकिएको बताउँदै उनले बालबालिकालाई पेटभर खुवाउन महिनाको ४/५ बोराजति चामल व्यवस्था भइदिए बच्चा भोको पेट पढ्नुनपर्ने बताए ।
प्रधानाध्यापक गोले भन्छन्-बच्चाहरुका लागि छुट्याएको खाजाखर्चले पुर्याउन मुस्किल पर्छ । तर, भोको पेटमा बालबालिकालाई राम्रो शिक्षा दिन नसक्ने कारण विद्यालय आउनेबित्तिकै खाना खान दिएरमात्र पढाउन सुरु गर्ने गरिएको छ । अन्य विद्यालयमा जस्तो टन्न पेट भरिएर विद्यालयमा कहिल्यै बालबालिका आउँदैनन् । अभिभावकको आयस्रोत नभएका कारण बालबालिकालाई पेटभरि खान समस्या रहेको उनी बताउँछन् ।
विद्यालयमात्र नभइ गाउँमै खानेपानीको निकै ठूलो समस्या छ । ठाउँको नाम लेखपानी भए पनि पानीको निकै अभाव छ । विद्यालयका लागि खानेपानीको निकै समस्या छ । ५ किलोमिटर पर एउटा इनार छ, त्यही इनारबाट गाग्रोमा भरेर पानी ल्याउनुपर्छ । बाटोमा अलिकति खुट्टा खुस्कियो भने ज्यान जोगाउन मुस्किल पर्छ ।
उक्त विद्यालयमा ५ कक्षासम्म पढाइ हुने कारण ५ पछि लगभग ७० प्रतिशत् बच्चाले पढाइ छाड्ने गरेका छन् । बालबालिकाको पढाइ राम्रो हँुदाहँुदै पनि कति बालबालिकाले घरको आर्थिक अवस्थाका कारण लेवट बजारसम्म आएर पढ्न सक्दैनन् । ३० प्रतिशत् बालबालिका घरपरिवार अलि शिक्षित भएका कारण लेवट बजारसम्म ल्याइ पढाउने गरेका छन् । बाँकी बालबालिकाले १५/१६ वर्ष उमेरमा भागेर विवाह गर्ने गरेका छन् भने अभिभावकले पनि सहमति जनाउने गरेका छन् । कति अभिभावकले ‘५ सम्म पढेर अक्षर चिने पुग्छ’ समेत भन्ने गरेका छन् ।
विद्यालयमा पर्खाल लगाउने काम सुरु भएको छ । विद्यालयनजिक चारैतिर जंगल र ठूलो भिर भएका कारण बालबालिका लडेर हातखुट्टा भाँच्चिने र घाइते हुने गरेको समाचार हेटौंडा सन्देशले प्रकाशन गरेपछि वागमती प्रदेश सरकारले ८ लाख बजेट बिनियोजन गरेसँगै पर्खाल लाउने काम अगाडि बढेको हो । नगरपालिकाभित्रकै विद्यालय भए पनि लेखपानी र उक्त स्थानमा रहेको विद्यालय सबैतिरबाट पिछडिएको प्रधानाध्यापक गोलेले बताउँछन् ।
‘प्रदेश सरकारले ८ लाख बजेट परेर विद्यालयवरिपरि पर्खाल लाउने काम भइरहेको छ भने मुलगेट बनाउन र विद्यालयदेखि १५ मिटर पूर्व १५ मिटर घेराबारको काममा बजेट अपुग भनेको भन्दै सम्बन्धित निकायबाट त्यसतर्फ ध्यानाकर्षण भइदिए सहज हुने थियो,’ उनले आशा व्यक्त गरे । केही महिनाअघि विभिन्न संघसंस्था तथा सञ्चार कर्मीको समाचार सम्प्रेषण तथा पहलमा उक्त बजेट परेर पर्खाल लगाउने काम केही दिनदेखि सुरु भइरहेको छ ।
शौचालयका लागि पानी अभाव भएको मिडियामै आएपश्चात् हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको पहलमा ५ हजार लिटरका २ ट्यांकी उपलब्ध भएको उनले बताए । उक्त ट्यांकीमा बर्खामा परेको पानी थापेर जम्मा गरी हिउँदमा प्रयोग गर्ने गरेको उनले बताए । बालबालिकालाई भन्दा पनि लेखपानीका अभिभावकमा चेतनाको विकास गर्नुपर्ने अवस्था रहेको बताउँदै चेतनामूलक कार्यक्रम ल्याउन पाए केही परिवर्तन हुन्थ्यो कि भन्ने लागेको प्रधानाध्यापक गोले बताउँछन् ।
यस्ता समस्यमा गुज्रिएका विद्यालयका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरिएको छ । हेटौंडामा केही समयअघि सञ्चालनमा आएको सेवा सहयोग र आवाजमा हामी नामक संस्थाले विद्यार्थीहरुका लागि न्यानो कपडा आवश्यक रहेको जानकारी प्राप्त भएपश्चात् उपलब्ध गराइएको संस्था अध्यक्ष विशालराज महतले जानकारी दिए ।
केही समयअघि सञ्चारमाध्यममा समाचार आएपछि संस्थाकै सदस्यहरुमा थोरैथोरै रकम संकलन गरी विद्यार्थीका लागि कपडा हस्तान्तरण गरिएको अध्यक्ष महतले बताए । विद्यालयमा अध्ययनरत् ४१ बालबालिकाका लागि न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको महतले बताए । सेवा सहयोग र आवाजमा हामी संस्था अध्यक्ष महतको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह गोले प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा गोलेले विद्यार्थी संख्या थोरै रहेको बताउँदै बालबालिकालाई विद्यालय ल्याउन घरदैलो कार्यक्रमसमेत गर्ने गरेको बताए । शिक्षकमात्र नभइ अभिभावकले पनि बालबालिकालाई शिक्षामा अगाडि बढाउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा संस्था अध्यक्ष महतले थोरैथोरै पैसा जम्मा गरेर विद्यालयमा सहयोगको पहल गरेको बताए । बालमैत्री घोषणामा नगरले लाखौं बजेट खर्च गरिरहँदा यस्ता विद्यालयतर्फ नगरको ध्यान नगएको बताउँदै बालमैत्री घोषणामा लगाउने बजेट यस्ता विद्यालयमा लगानी गर्न उनले आग्रह गरे ।
न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोले, संस्था उपाध्यक्ष रामविक्रम थापा, सचिव राजेश थापा, सदस्यहरु हरिबहादुर कँुवर, सुबोध सुबेदी, राजेश श्रेष्ठ, अभिभावक र शिक्षकलगायतको उपस्थिति थियो । वडा बालमैत्री घोषणा भए पनि कार्यान्वयनको पक्ष भने नभएको र कागजमा सीमित बालमैत्री घोषणालाई कार्यान्वयनमा ल्याउने गरी काम गर्नु आवश्यक रहेको प्रधानाध्यापक गोलेको भनाइ छ । केही हदसम्म भने सुधार भएको उनले बताएका छन् ।