सुनिता बिष्ट
हेटौंडा/विभिन्न आयस्रोतको अनुमान गर्दै वागमती प्रदेश सरकारले असार १ गते कुल ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपियाँको बजेट ल्यायो । घरजग्गा रजिष्ट्रेसन शुल्कदेखि संघीय सरकारबाट प्राप्त अनुदान, बाँडफाँटबाट प्राप्त राजस्वलगायत शीर्षकबाट प्राप्त हुने रकमलाई आम्दानीको स्रोत बनाएर तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट सदनमा प्रस्तुत गरे । चालु आर्थिक बर्ष २०८१/०८२ मा ६४ अर्ब भन्दा बढी रकम आयको अनुमान गरेर बजेट ल्याइएपछि यसले सरकारको लक्ष्य भेट्नेमा भने शंका छ ।
चालु आर्थिक वर्षको ५ महिना बित्दा वागमती प्रदेश सरकारले मुस्किलले २३.८१ प्रतिशत् अर्थात् १५ अर्ब ३६ करोड ८८ लाख ७६ हजार राजस्व संकलन गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । जसमा प्रदेश सरकारले लिएको लक्ष्य पूरा हुने गरी यातायात क्षेत्रको राजस्वमा संकलनमा भने उत्साह देखिएको छ । चालु आर्थिक वर्षमा कुल २२ अर्ब ५० करोड ८ लाख ९७ हजार राजस्व संकलनको अनुमान गरिएकोमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतमा रहेको यातायात कार्यालयबाट चालक अनुमतिपत्र, सवारीदर्ता किताबसम्बन्धि दस्तुर शीर्षकबाट यस अवधिमा ४२.६८ प्रतिशत् अर्थात् ९ अर्ब ६० करोड ६ लाख ९६ हजार राजस्व संकलन भएको आर्थिक मामिला मन्त्रालयको तथ्यांक छ ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म बाँडफाँटबाट प्राप्त राजस्व २९.२९ प्रतिशत् अर्थात् ८ अर्ब ६५ करोड ६६ लाख ४२ हजार संकलन भएको बताइएको छ । प्रदेश सरकारले यस आवमा २९ अर्ब ५५ करोड ८९ लाख संकलनको लक्ष्य लिएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान यस आवमा १५ अर्ब ५७ करोड ५६ लाख अनुमान गरिएकोमा मंसिर मसान्तसम्म अवधिमा ५ अर्ब १२ करोड ७० लाख ४० हजार ७ सय अर्थात् अनुमानित आयको ३२.९२ प्रतिशत् संकलन भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले चालु आवको ५ महिनामा आफ्नो स्रोतबाट १ अर्ब ४९ करोड ३७ लाख १२ हजार ३ सय राजस्व संकलन गरेको छ । लक्ष्यको ३२.९१ प्रतिशत् राजस्व संकलन गरेको प्रदेश सरकारले आफ्नै स्रोतबाट ४ अर्ब ५३ करोड ८४ लाख ७९ हजार ५ सय राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । बेरुजु तथा गत आर्थिक वर्ष २०८०/०८१ को नगद मौज्दात १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार १ सय ८० संकलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म ९ करोड १४ लाख ८१ हजारमात्र अर्थात् ०.६२ प्रतिशत्मात्र संकलन भएको छ ।
११ शीर्षकमा आय शून्य
वागमती प्रदेश सरकारले आयको अनुमान गरेको ११ शीर्षकको आयमा प्रगति शून्य छ । चालु आर्थिक वर्षको ५ महिना बित्दा वन रोयल्टीबाट प्राप्त हुने अनुमानित आय १५ करोड ७५ लाख १३ हजारमा हालसम्म अवधिमा राजस्व संकलनमा प्रगति नदेखिएको हो । बाँडफाँट भइ प्राप्त खानी तथा खनिजसम्बन्धि रोयल्टीबाट आय अनुमान गरिएको ४१ करोड १३ लाख १ हजार, बाँडफाँट भइ प्राप्त विद्युत्सम्बन्धि रोयल्टीबाट अनुमान गरिएको ३५ करोड ६७ लाख ५३ हजार, पर्वतारोहरणबापत् रोयल्टी १ करोड ८८ लाख १ हजार अनुमान गरिएकोमा हालसम्म राजस्व संकलन शून्य छ ।
विशेष अनुदान चालुमा २८ करोड ३९ लाख, विशेष अनुदान पुँजीमा ७० करोड ७४ लाख, समपुरक अनुदान पुँजीगत्मा ८५ करोड ५० लाख र संघ सरकारकाट प्राप्त हुनसक्ने अनुदानमा १ अर्ब ५० करोड आयको अनुमान गरिएकोमा प्रगति शून्य छ । टेलिभिजन सञ्चालन दस्तुरबाट ७२ लाख राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा त्यसमा पनि हालसम्म अवधिमा उपलब्धि शून्य देखिन्छ भने धरौटी सदरस्याहाबाट १० लाख संकलन गर्ने लक्ष्य लिइएकोमा चालु आवको मंसिरसम्म प्रगति देखिएको छैन । गत आर्थिक वर्षको नगद मौज्दातबाट १४ अर्ब १३ करोड ३२ लाख ३२ हजार १ सय आय अनुमान गरिएको प्रदेश सरकारले यस अवधिसम्म उक्त शीर्षकमा पनि प्रगति शून्य देखिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
खर्चमा छैन प्रगति
वागमती प्रदेशको खर्च पनि निराशाजनक छ । चालु आर्थिक वर्षको ५ महिनामा पुँजीगत् खर्च ५.३६ प्रतिशत्मात्र भएको तथ्यांक छ । जुन तथ्यांकले वागमतीमा विकासका क्षेत्रमा कुनै प्रगति नभएको पुष्टि गर्छ । ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजारको पँुजीगत् खर्चका लागि छुट्याएकोमा ५ महिना अवधिमा १ अर्ब ९७ करोड ९३ लाख ५६ हजार ६ सयमात्र खर्च भएको प्रदेशको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार बजेट छुट्याइएको वागमतीमा मंसिर मसान्तसम्म ५ अर्ब ३९ अर्ब २५ लाख ६८ हजार ५ सय अर्थात् २०.६६ प्रतिशत् बजेट खर्च भएको छ । यस अवधिसम्म कुल बजेटको ७ अर्ब ३७ करोड १९ लाख २५ हजार २ सय अर्थात् कुल बजेटको ११.४२ प्रतिशत्मात्र बजेट खर्च भएको मन्त्रालयको तथ्यांक छ ।