हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु व्यवसायीको घरदैलोमा मत माग्दै धाउन थालेका छन् । विभिन्न अवधारण लिएर अध्यक्षका प्रत्यासी अनिल अग्रवाल नेतृत्वको समूह व्यवसायीको टोली बुधबार दिनभर हेटौंडा बजार क्षेत्रका मतदातासमक्ष पुगेका छन् ।
संघका अध्यक्षका प्रत्यासी अनिल अग्रवाल, वाणिज्यतर्फ उपाध्यक्ष उम्मेदवार राजु अधिकारी, युवा व्यवसायी बिकेशलाल श्रेष्ठ, वाणिज्यतर्फ सदस्य उम्मेदवार रविन ढकाललगायत चुनावी माहौल आफ्नो पक्षमा बनाउन घरदैलोमा व्यस्त भएका छन् । उनीहरुले कान्तिराजपथ, मेनरोड, बुद्धचोकहुँदै टीसीएन बाइपास रोडसम्मका व्यवसायीको गुनासो सुन्दै मत मागेका छन् । घरदैलोको क्रममा व्यवसायीबाट पाएको मायाका कारण आफ्नो समूहलाई निर्वाचनमा सफलता मिल्ने दाबी अध्यक्षका प्रत्यासी अग्रवालले गरे । अग्रवाल नेतृत्वको व्यापारिक समूह दैनिकरुपमा हेटौंडा बजार क्षेत्रमा व्यवसायीसँग अन्तक्र्रिया गर्दै विभिन्न स्थानमा मत मागिरहेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष उम्मेदवार प्रमोदसिंह रानाभाट पनि बुधबार आफ्नो टिमसहित मनहरीका मतदातासँग भेटघाटका लागि पुगेका छन् । व्यवसायीको हितमा स्पष्ट योजना लिएर अघि बढिरहेका रानाभाटलाई मतदाताले उत्साहपूर्वक स्वागत गरेका छन् ।
चुनावी अभियानका क्रममा मतदातासँग संवाद गर्दै रानाभाटले आफू मकवानपुरका व्यवसायीको समस्या समाधान र व्यवसाय प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको बताएका छन् । उनले नयाँ उद्योग स्थापना, एकद्वार प्रणाली कार्यान्वयन, महिला र युवा उद्यमीलाई सहुलियत कार्यक्रम र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजनाबारे उनले आफ्नो दृष्टिकोण प्रस्तुत गरे ।
मतदातासँगको संवादपछि रानाभाटले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । ‘मतदाताको उत्साह र समर्थनले हाम्रो अभियानलाई अझ बलियो बनाएको छ । उनीहरुले हाम्रा योजनालाई समर्थन र भरोसा व्यक्त गरेका छन्,’ उनले भने । मनहरीका व्यवसायी र नागरिकले मकवानपुर उद्योग वाणिज्य संघमा सशक्त नेतृत्वको खाँचो रहेको बताउँदै रानाभाटप्रति विश्वास व्यक्त गरेका छन् । व्यवसायीले निर्वाचनलाई नेतृत्व चयनको मात्र नभइ व्यवसाय क्षेत्रको भविष्य तय गर्ने अवसरका रुपमा हेरेका छन् । संघको निर्वाचन प्रक्रिया पुस २४ गतदेखि २७ गतेसम्म चल्नेछ ।