मनिता राना
हेटौंडा/केदार घिमिरे नेपालका हास्य कलाकार तथा अभिनेता हुन् । उनी मेरी बास्सै नामक टेलिशृंखलाबाट लोकप्रिय बनेका हुन् । उनी मकवानपुरका स्थानीय बासिन्दा हुन् । उनी हास्य टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाको भूमिकामा अभिनय गर्ने कलाकार हुन् । उनलाई माग्ने बुढाको नामले चिनिन्छ । उनले २०५० सालमा एसएलसी परीक्षा पास गरेका हुन् ।
हास्य कलाकार घिमिरे (माग्ने बुढा) पछिल्लो समय छक्कापञ्जा सिरिजभन्दा बाहिरका चलचित्रमा अनुवन्ध भइरहेका छन् । माग्ने राजा, माइतीघर, जेरी अन टप, कंगारु उनले साइन गरेका चलचित्र हुन् । छक्कापञ्जा सिरिजबाट बाहिरका चलचित्र पनि खेल्ने भएपछि उनलाई थुप्रै मेकरले आफ्नो सिनेमाका निम्ति साइन गराइरहेका छन् । उनले छक्कापञ्जा सिरिजभन्दा बाहिर सबभन्दा पहिला साइन गरेको चलचित्र कंगारु हो । पछिल्लो साइन गरेको चलचित्र माइतीघर हो । केदारलाई निर्माताले महंगो पारिश्रमिक तिरेर चलचित्रमा अनुवन्ध गरिरहेका छन् । उनले एउटै चलचित्रबाट ६० लाखसम्म लिने गरेका छन् । स्रोतका अनुसार उनले कंगारुमा ६० लाख पारिश्रमिक लिएका छन् ।
‘उहाँ (केदार घिमिरे) को हालको पारिश्रमिक ५० लाख हो । ६० लाख पारिश्रमिक भनेर ५० लाख लिइरहनुभएको छ,’ केदार घिमिरेलाई आफ्नो चलचित्रमा अनुवन्ध गराएका एक निर्माताले भने-५० लाखबाट एक रुपियाँ पनि कम गर्नु हुन्न । एउटै नेपाली चलचित्रमा कलाकारलाई निर्माताले तिरेको यो सबभन्दा धेरै पारिश्रमिक हो । नायक अनमोल केसीले यसअघि सबभन्दा धेरै ५० लाख पारिश्रमिक लिएको समाचार सार्वजनिक भएको थियो । उनले ५० लाखको कर तिरेको रसिद पनि बाहिर आएको थियो ।
‘केदारजी ५० लाख भन्दा तल पारिश्रमिक लिन मान्नु हुन्न । केही रकम घटाउन आग्रह गर्दा मिल्दैन भन्दै अन्य चलचित्रमा गरेको ५० लाखको एग्रिमेन्ट पेपर नै देखाउनुहुन्छ,’ अर्का एक निर्माताले भने । महंगो पारिश्रमिक लिने केदार स्क्रिप्टदेखि नै बस्ने गरेका छन् । आफ्नो सिनमात्र होइन, पूरै स्क्रिनप्लेमा नै उनी काम गर्छन् । ॅकम्तिमा एक हप्ता उहाँ स्टोरी करेक्सनमा बस्नुहुन्छ । डाइलग आफैं लेख्नुहुन्छ,’ ती निर्माता अगाडि थप्छन्-उहाँले खेलेका चलचित्र कस्ता हुन्छन्, थाहा छैन । तर, स्क्रिनप्लेमा बसेकाले मेहनत गर्ने भने देखिन्छ । सायद, स्टोरीमा पनि काम गरेकाले पनि ६० लाख माग्ने गर्नुभएको होला । ५० देखि ६० लाख पारिश्रमिक एउटै कलाकारलाई दिँदा सिनेमाको लगानी उच्च हुन्छ । जति धेरै बजेट भयो, त्यति नै लगानी उठाउन रिस्क बढी हुन्छ । ५० देखि ६० लाख पारिश्रमिक लिएका केदारको सोलो लिडरोल भने माग्ने राजामा मात्र हो । अन्य चलचित्रमा उनीसँगै समानान्तररुपमा अन्य कलाकार पनि छन् ।