सुनिता बिष्ट
हेटौंडा/हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत गरी ॅमेघा विद्यालय’ सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ । जसअन्तर्गत् दुई विद्यालय व्यवस्थापन समिति र शिक्षकको उपस्थितिमा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामालाई पत्र पेश गरिएको हो ।
शिक्षा मन्त्रालयले ‘बिग स्कुल’ को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका दुई ठूला भुटनदेवी मावि (प्राविधिक शिक्षालय) र आधुनिक राष्ट्रिय मावि एकीकृत गर्ने विषयमा छलफल सुरु गरिएको हो । २०१६ सालमा स्थापना भएको भुटनदेवी मावि हेटौंडा नगरकै पहिलो विद्यालय पनि हो ।
ती विद्यालयहरुबाट हरेक वर्ष प्रवेश परीक्षा दिएका एक हजार पाँच सय विद्यार्थीलाई भर्ना लिन सकिएको छैन । पर्याप्त कक्षाकोठा र जनशक्ति भएको अवस्थामा चार हजारदेखि ४ हजार ५ सय विद्यार्थी विद्यालयमा हुने थिए । हेटौंडा-४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र भुटनदेवी माध्यमिक विद्यालयलाई ‘मेगा विद्यालय’ बनाउने उद्धेश्यसाथ आवश्यक प्रक्रिया पूरा गर्ने तयारीमा जुटेको भुटनदेवी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
वडा अध्यक्षसमेत रहेका सिग्देलले आवश्यक प्रक्रिया अगाडि बढाउन दुवै विद्यालय व्यवस्थापन समितिको निणर्य र वडा कार्यालयको सिफारिससहित वडा अध्यक्ष, दुवै विद्यालयका प्रधानाध्यापकसहितले नगर प्रमुख लामासमक्ष पत्र पेश गरेका जानकारी दिए । उनका अनुसार यसपछि ‘मेगा विद्यालय’ का लागि कागजी प्रक्रिया सुरु भएको हो ।
वडा अध्यक्ष सिग्देल हेटौंडा, वागमती प्रदेशको राजधानी भएका कारण मेघा विद्यालय सञ्चालन गरी हेटौंडालाई शैक्षिक हब बनाउने गरी अगाडि बढ्न खोजिएको बताउँछन् । सिग्देलले देशकै नमूना विद्यालय बनाउने उद्धेश्यले मेघा विद्यालयको अवधारण ल्याइएको बताएका हुन् । ‘वागमती प्रदेशको राजधानी हेटौंडालाई शैक्षिक हबका रुपमा विकास गर्ने उद्धेश्यले दुई ठूला विद्यालयलाई एकीकृत गर्न लागेका हौं,’ अध्यक्ष सिग्देलले भने-सधैं एउटै अवधारणाबाट पठनपाठन हुँदा शिक्षाक्षेत्रको विस्तार हुन सकेन । यहाँ सामुदायिक विद्यालयमा पढ्न चाहने विद्यार्थीहरु पनि सीमित सिटका कारण पढ्न पाएका छैनन् । यसलाई मध्यनजर गरेर मेघा विद्यालयको योजना अघि बढाएका हौं । ‘हाम्रो संकल्प छ, हेटौंडाको शिक्षाक्षेत्रमा नयाँ कदम अगाडि बढाउँदैछौं,’ उनले भने ।
यी दुई विद्यालय भौतिकरुपले जोडिएका छन् । धेरै विद्यार्थी रहेका ती विद्यालयहरु एकीकृत गरी शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य राखेर यस विषयमा छलफल अघि बढाइएको आधुनिक राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष समिम खानले जानकारी दिए ।
हाल आधुनिक राष्ट्रिय माविमा करिब २ हजार ७ सय विद्यार्थी छन् भने भुटनदेवी माविमा २ हजार २ सय बालबालिका अध्ययनरत् छन् । आधुनिक मावि विगत १५ वर्षदेखि देशभरका सामुदायिक विद्यालयमध्ये एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयमध्ये एक हो । भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । आधुनिकमा व्यवस्थापन, विज्ञान विषयमा जोड २ सम्म र भुटनदेवीमा इञ्जिनियरिङको समेत अध्यापन हुँदै आएको छ । भुटनदेवीमा इञ्जिनियरिङतर्फ कक्षा ९-१२ मा करिव २ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।
दुवै उत्कृष्ट विद्यालयलाई एकीकृत गर्दा चुनौती पनि उत्तिकै रहेको उनीहरुले बताएका छन् । ‘विद्यालयको व्यवस्थापन, शिक्षकहरुको व्यवस्थापन, विद्यार्थी तथा अभिभावकको सन्तुष्टिलगायत थुप्रै विषयमा ध्यान दिनुपर्ने हुन्छ । यो चुनौतीपूणर् त छ नै । तर, यसलाई मूर्तरुप दिन सकियो भने देशकै नमूना विद्यालयका रुपमा स्थापित गराउन भने सकिन्छ,’ अध्यक्ष खानले भने ।
आधुनिक मावि र भुटनदेवी मावि व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक-अभिभावक संघका प्रतिनिधिलगायत टोली केही दिनभित्र बुटवलको कालिका माविको अवलोकनमा जाने तयारीसमेत भएको छ । उक्त विद्यालयमा हाल करिब ९ हजार बढी विद्यार्थी अध्ययनरत् रहेको खानको भनाइ छ । भुटनदेवी र आधुनिक एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्ने विषयमा हाल प्रारम्भिक छलफल चलेको हेटौंडा उपमहानगरपालिकाको तर्क छ ।
उक्त काम चुनौतीपूणर् भए पनि दुवै विद्यालय एकीकृत गरी राम्रोसँग व्यवस्थापन गर्नसके नमूना विद्यालयका रुपमा परिचित गर्न सकिने हेटौंडा उपमहानगर मेयर लामाले बताइन् । मेगा विद्यालय निर्माणको पत्र बुझ्दै मेयर लामाले हेटौंडालाई शैक्षिक हबका रुपमा विकास गर्न नगरपालिकाले सधैं साथ दिने प्रतिवद्धता जनाइन् ।
शिक्षक दरबन्दी मिलानदेखि शिक्षक रोस्टर तयार जस्ता उत्कृष्ट कार्य उपमहानगरले गरिरहेको नगर प्रमुख लामाले जानकारी दिइन् । नयाँ पुस्ताले प्रविधिलाई जोडेर अघि बढ्न जरुरी रहेको बताउँदै नगर प्रमुख लामाले उक्त कार्यक्रमले हेटौंडाको शिक्षालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास लिइन् ।
दुई वा दुई भन्दा बढी विद्यालय एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता बढ्ने र हेटौंडालाई शैक्षिक हबका रुपमा विकास गर्न सकिने दाबी गरिएको छ । मेघा विद्यालय सञ्चालन गर्दा आउनसक्ने चुनौतीबारे पनि अध्ययन गर्नुपर्ने उनीहरुको धारणा छ । नेपाल सरकारले दरबन्दी मिलान गर्ने, विद्यालय मर्ज गर्ने, मेघा विद्यालयको सम्भाव्यतामा छलफल गर्ने काम स्थानीय तहलाई सुम्पेको छ ।
प्रदेश सरकारले प्रदेशका तीन विद्यालयलाई बृहत् विद्यालयका रुपमा स्थापित गर्ने निणर्य गरिसकेको छ । प्रत्येक प्रदेशमा तीन विद्यालयलाई बृहत् विद्यालयका रुपमा विकास गरिने कार्यक्रमअनुसार वागमती प्रदेशबाट विद्यालय छनौटमा परेको हुन् । प्रदेश सरकारले ३ वर्षअघि ५७ अर्ब ७२ करोड बजेट सार्वजनिक गर्दा बृहत् विद्यालयलाई पनि प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेशको राजधानी हेटौंडाबाट हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय बृहत् विद्यालयका रुपमा छनौट भएको छ ।
विकट र ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई पनि शहरका विद्यालयका विद्यार्थीसँगै शिक्षामा समता स्थापित गरिने उद्धेश्यले यस्ता विद्यालयमा पढाइ हुने बताइएको छ । समय अभावका साथै टाढाका विद्यार्थी घर जान सम्भव हुने नहुँदा विद्यालयमा नै आधारभुत अवश्यकता परिपूूर्तिसहित होस्टेलमा विद्यार्थी बस्ने वातावरण निर्माण गरिने प्रदेश सरकारले बताएको छ । होस्टल व्यवस्थाले पढ्न कमजोर रहेका विद्यार्थीहरुलाई पढाइमा अब्बल बनाउन प्रेरित गर्न सहयोग पुुग्ने सरकारी विश्वास छ ।
सामुदायिक विद्यालयमा सवलीकरण नभइ देश नबन्ने उल्लेख गर्दै हेटौंडाका शिक्षप्रेमीहरु पहिला विद्यालयलाई सवलीकरण गर्न जरुरी रहेको औंल्याउँछन् । सिपविकास र उद्यमशीलता, सामाजिक तथा साँस्कृतिक समावेशीता र समानता, सामुदायिक विकास उत्थानमा जोड दिएमात्र सामुदायिक विद्यालयको शिक्षामा सुधार हुने उनीहरुको भनाइ छ । खोजमूलक शिक्षालाई जोड दिनु जरुरी रहेको भन्दै उनीहरुले दुई वा दुई भन्दा बढी विषयवस्तुमा केन्द्रित रहेर विद्यार्थीको क्षमताअनुसार आधारभुत शिक्षा दिनुपर्ने बताएका छन् ।