27.9 C
Makwānpur
Homeमुख्य समाचारनिर्दोष सपनाको अन्तिम सास

निर्दोष सपनाको अन्तिम सास

रुपक कालीराज

हेटौंडा/फूलमाया सुनारको मन भित्रभित्रै खिन्न थियो । छोराले विहान घरबाट निस्कँदै गर्दा भनेका थिए-आमा, म राक्सिराङ जान्छु । साँझ फोन गर्छु, चिन्ता नलिनु । ती शब्दहरु उनका कानमा अझै गुञ्जिरहेका छन् । साँझभर उनले छोराको खबर पर्खिन् । हरेक घण्टामा उनको नजर ढोकातिर पुग्थ्यो । ‘सञ्च आउँछ, त्यसपछि हामीसँगै खाना खाउँला,’ सोच्दै थिइन् ।

तर, समय बित्दै जाँदा न फोन आयो, न त छोरा । फूलमायाको मन आत्तियो । ‘के भयो होला ?,’ उनी भित्रभित्रै शंकामा थिइन् । मंसिर २८ गते विहान ६ः१५ बजे उज्यालो हुनै लाग्दा मोबाइलको घण्टी बज्यो । उनी हत्तारिँदै उठिन् । फोनको आवाज आयो-तपाईंंको छोरा इञ्चराङस्थित भित्री कच्चीबाटोमा मृत अवस्थामा भेटिएका छन् । यी शब्दले उनको संसार समाप्त पार्‍यो ।

मोबाइल उनको हातबाट खस्न पुग्यो । आँखाअगाडि अन्धकार छायो । ॅमेरो सञ्च मसँगै भएको भए यो हुने थिएन,’ भन्दै उनी छट्पटाइन् । विहान ७ः३० बजे घटनास्थल पुगेकी फूलमायाले देखेकी थिइन् आफ्ना छोराको शरीर भुइँमा छरिएको थियो । टाउको फाटेको, हातगोडा निलो परेको । सञ्चलालको अनुहार, जसलाई उनले सधैं हाँसिरहेको देख्थिन्, अब निश्चल थियो ।

उनले चिच्याउँदै भनिन्-मेरो सञ्च, तँलाई के गर्‍यो ? तँ त निर्दोष थिइस् । यी निष्ठुरीले तँलाई किन यस्तो गरे ?’, वरपरका मानिसले उनलाई सम्हाल्न खोजे । तर, उनको आक्रोश रोकिएन । सोधपुछपछि खुल्यो—बाख्राको पाठो चोरेको विवादमा नवीन प्रजा, विसु प्रजा र बाबुलाल स्याङ्बोले कुटपिट गरेको आरोप छ । उनीहरुको निर्दयी व्यवहारले १८ वर्षे जवान सञ्चको ज्यान लियो । घटनास्थलबाट फर्किएपछि फूलमाया जिल्ला प्रहरी कार्यालय पुगिन् । आँसु पुछ्दै उनले भनिन्-मेरो छोरा निर्दोष थियो । उनीहरुका लागि एउटा पाठो मेरो छोराभन्दा ठूलो भयो । मेरो छोरा मरेर गयो । अब मलाई न्याय चाहिन्छ ।

दिउँसो १२ बजे पोष्टमार्टमका लागि अस्पताल पुग्दा फूलमायाको आँखाले छोराको शरीरको अन्तिम रुप देख्नुपर्‍यो । टेबलमा सञ्चको शून्य शरीर थियो । उनले बिलौना गरिन्-मेरो सञ्च, तँ त भर्खर १८ को थिइस् । तँलाई मैले सधैं माया गरें । तँलाई ठूलो मान्छे बनाउने सपना देखेकी थिएँ । तँ भन्थिस् कि आमा, अब तिमीलाई दुःख गर्न दिन्नँ । तर, तँ किन यस्तो मौन भइस् ? तैंले हेर्नुपर्छ, म तेरो लागि लड्छु । तर, तँ यसरी गुमाउनु मेरा लागि अन्याय हो । अस्पतालमा रहेका सबैले फूलमायाको चित्कार सुने । उनीहरुको आँखा ओभाएका थिएनन् ।

साँझ करिब ५ बजे । घटनाले गाउँ शोकमा डुब्यो । ‘यस्तो निर्दोष बालकलाई कसरी यस्तो गरे ?’ भन्ने प्रश्न गाउँभरि सुनियो । तर, फूलमायाका लागि यस शोकभन्दा धेरै ठूलो थियो । उनी निरन्तर भन्दै थिइन्-मेरो सञ्चको आत्माले शान्ति पाउनुपर्छ । तिनीहरुले मेरो सन्तान खोसे, म न्याय खोज्न छाड्दिनँ । मेरो छोराको रगत खेर जान दिन्नँ । फूलमायाको यो आक्रोश केवल एउटा आमाको दुःखमात्र होइन, हाम्रो समाजको अन्याय र निर्दोषको हत्या गर्ने हिंस्रक प्रवृत्तिको विरोध थियो । उनका शब्दहरुले सोच्न बाध्य पार्छ-कसरी समाज यति निर्दयी भयो ? एउटा निर्दोष छोराको हत्या गर्नेहरु कहिले न्यायको कठघरामा उभिन्छन् ? न्याय पाउन कति समय लाग्छ ?

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here