20 C
Makwānpur
Homeमुख्य समाचारबैंकहरुको ७ खर्ब केन्द्रीय बैंकको पार्किंङमा

बैंकहरुको ७ खर्ब केन्द्रीय बैंकको पार्किंङमा

हेटौंडा/लामो समयदेखि बैंकहरुमा अधिक तरलता भएर कर्जाको ब्याजदर निकै तल्लो विन्दुमा झरेपनि माग नबढ्दा बैंकहरुमा अस्वस्थ्य प्रतिस्पर्धा देखिन थालेको छ । बैंकहरुबीच ऋण खोसाखोसको अवस्था सुरु हुन थालेको छ ।

हाल बैंकहरुको कर्जाका ब्याजदर एकल अंकमा झरेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको कात्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशत्मा झरेको छ । यो कोभिडपछिको सबभन्दा सस्तो ब्याजदर हो । हाल बैंकहरुको औसत आधार दर ८ प्रतिशत्भन्दा तल झरेको छ । पछिल्लो एक वर्षअगाडिदेखि नै बैंकहरुमा अधिक तरलता थुप्रिएको छ । ब्याजदर पनि निरन्तर रुपमा घट्दो अवस्थामा छ ।

ब्याजदर जति घटे पनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन । चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन । अझै कर्जाका माग बढने नदेखिएपछि बैंकहरु अस्वस्थ्य प्रतिस्पर्धामा उत्रिएको बैंकरहरु बताउँछन् । हाल बैंकहरु थप कर्जा विस्तार गर्न नसक्दा अन्य बैंकको कर्जा खोस्ने प्रतिस्पर्धामा समेत उत्रिएको एक बैंकरले बताए । हाल केही बैंकहरु अन्य बैंकको कर्जा स्वीप गरी आफ्नो कर्जा बढाउने रणनीतिमा समेत छन् ।

अधिक तरलता रहेका कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दरसमेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशत्सम्म प्रिमियम थप गर्ने बैंकहरु हाल एक प्रतिशत् प्रिमियम थपेर कर्जा दिन थालेका छन् । कतिपय ग्राहकलाई त हाल बैंकहरुले आधारदरमा नै कर्जा दिन थालेका छन् । डेढ वर्षअघि औसत ब्याजदर १२ प्रतिशत्माथि पुगेको थियो । तर, हाल बैंकहरुमा अधिक तरलताको कारण निक्षेपको ब्याजदर निरन्तर घटाउँदा कर्जाको ब्याजदर पनि घट्दै गएको हो ।

हाल बैंकहरुमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ । तर, बजारमा कर्जाको माग छैन । कर्जा बढाउन नसक्दा बैंकहरु ३ प्रतिशत्भन्दा कम ब्याजदरमा बढी भएको पैसा केन्द्रीय बैंकमा लगेर पार्किंङ गर्न बाध्य छन् । जसले गर्दा बैंकहरुले निक्षेपमा तिरेको ब्याजसमेत उठाउन सकेका छैनन् । यसले गर्दा बैंकहरुलाई जसरी पनि कर्जा लगानी बढाउनुपर्ने बाध्यता छ । हाल समग्र बैंकिङ क्षेत्रको कर्जा लगानी धेरै बढ्न सकेको छैन । तर, केही बैंकहरुले भने अस्वस्थ्य प्रतिस्पर्धा सुरु गर्दा उनीहरुको कर्जा लगानी बढिरहेको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here