जनकपुरधाम/किसानको खेतमा सिचाईं सुबिधा पुर्याउनका लागि भूमिगत् सिचाईं प्रणाली अत्यन्त महत्वपूणर् एवम् प्रभावकारी हुँदै गएको छ । मधेश प्रदेश सरकारले धनुषा र महोत्तरी जिल्लामा भूमिगत् सिचाईं प्रणालीको माध्यमबाट सिचाईं सुबिधा पुर्याउन थालेपछि कृषिपेसा सहज बन्दै गएको हो ।
आकाशे पानीको भरमा, नहर तथा नदीनालाबाट सिचाईंको व्यवस्था गर्नुपर्नेमा उक्त प्रविधि किसानका लागि बरदान सावित भएको बर्दिवास-२ का किसान श्याम महतोले बताए । उक्त प्रविधिबाट खेतीका लागि सिचाईंका साथै खानपिनका तथा दैनिक जीवनमा समेत प्रयोग भइरहेको उनले उल्लेख गरे । कृषिपेसामा आबद्धलाई हाल भूमिगत् सिचाईंबाट खेती गर्न सहज भएको उनले बताए ।
जलस्रोत तथा भूमिगत् सिचाईं विकास डिभिजन कार्यालय महोत्तरीद्वारा धनुषा र महोत्तरीका ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युबेल र पावरड्रिलबाट सिचाईं सुबिधा पुर्याइरहेको जनाइएको छ । एउटा डिपट्युबेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको कार्यालयका इञ्जिनियर अमलेश यादबले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी हालसम्म ३५ वटा डिपट्युबेल जडान भएर एक हजार चार सय बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको छ ।
एउटा डिपट्युबेलको संरचना निर्माणदेखि सञ्चालन गर्दाको अवस्थासम्म एक करोड भन्दा बढी खर्च हुने गरेको यादबले बताए । गत आर्थिक वर्षमा पाँच वटा डिपट्युबेल निर्माण प्रक्रिया सुरु भएको थियो । एउटा निर्माणमा ३० लाखसम्म खर्च भएको भन्दै चालु आवमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने कार्यालयले जनाएको छ । हाल पाँच वटाको निर्माणमा एक करोड ५० लाख खर्च भइसकेको छ ।
हालसम्म ५० वटा पावरड्रिल निर्माण भइ सञ्चालनमा रहेको कार्यालयका इञ्जिनियर यादबले जानकारी दिए । एउटा पावरड्रिलबाट नौं बिघा जमिनमा सिचाईं हुने गरेको छ । एउटा पावरड्रिल निर्माणदेखि सञ्चालनसम्म १६ लाख लाग्ने गरेको उनको भनाइ छ । कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षदेखि हालसम्म ८१ पावरड्रिल निर्माण प्रक्रियामा छन् । दुवै जिल्लामा डिपट्युबेल तथा पावरड्रिलबाट एक हजार आठ सय ५० बिघामा सिचाईं भइरहेको कार्यालय प्रमुख नयन पोखरेलले जानकारी दिए । डिपट्युबेल निर्माण उपभोक्ता समितिबाट भइरहेको छ ।
मधेश प्रदेश सरकारअन्तर्गत् कार्यालयका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन कम भएकाले काममा समस्या हुँदै आएको कर्मचारीले बताएका छन् । भूमिगत् सिचाईंका लागि २०४१ सालमा स्थापना भएको कार्यालयबाट निर्माण भएको एक दर्जन डिपट्युबेलको ट्रान्सफर्मर चोरी भएको इञ्जिनियर यादबले बताए । सम्बन्धित प्रहरी कार्यालयमा पटकपटक लिखित तथा मौखिकरुपमा जानकारी गराइए हालसम्म कसैलाई कुनै कारबाही नभएको उनले गुनासो गरे । ट्रन्सफर्मरमा तामाको क्वायल रहने हुँदा चोरी हुनसक्ने उनले उल्लेख गरे ।