हेटौंडा/बाबुआमा तथा अभिभावक नभएर, विभिन्न कारण आफन्त नभएका, परिवारबाट अलग भएका, परिवारले त्याग गरेका, जोखिममा रहेका र बाबुआमासँग कैदीजीवन बिताइरहेका बालबालिकालाई बाल मन्दिरहरुमार्फत् संरक्षणमा राखी अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बाल संगठनको कामको वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रसंशा गरेका छन् ।
बालबालिकाको हक हितका लागि कार्य गर्ने सबभन्दा पुरानो, ठूलो र सशक्त संस्था नेपाल बाल संगठनद्वारा आयोजित पुनर्मिलन तथा पुनर्ताजगी कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले शनिबार यस्तो बताएका हुन् । बालबालिकाको सरोकारको यो महत्वपूणर् कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेतको उपस्थिति रहेको कार्यक्रममा उनले भने-भिन्न परिस्थितिबाट आएका नानीबाबुको खानपान, बास, स्नेह, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, परामर्श, भविष्यको गोरेटो देखाउने कार्य कुनै चानचुन कुरा होइन ।
बालबालिकाहरु असीमित क्षमता हुने उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले बाज चराजस्तो गगनमा विचरण गर्ने थुप्रै बालबालिका पालुवा निमोठिएका बिरुवा जसरी बाँचिरहेका बताए । राज्यको मात्र मुख नताकी अवोध नानीबाबुको भविष्य कोर्न लागिपर्ने नेपाल बाल संगठन तथा बालमन्दिर र बालबालिका क्षेत्रमा काम गर्ने संस्था र सरोकारवाला सबैमा उनले हार्दिकता व्यक्त गरे । नेपालको संविधानले मौलिक हकअन्तर्गत् बालबालिकाको हकसम्बन्धि व्यवस्था उल्लेख गरेको स्मरण गर्दै बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक तथा संवेगात्मक विकासमा सबैले पहल गर्नुपर्ने बताए । बालबालिकाका आधारभुत आवश्यकता, प्रतिभा पहिचान र प्रष्फुटनमा गरिने मन, धन, वचन र कर्मको लगानी सबभन्दा महत्वपूणर् कार्य भएको उनले बताए ।
राज्य र मनकारी दाताले नेपाल बाल संगठन र बालमन्दिरको नाममा अर्पेको भौतिक सम्पतिबारे नरमाइला कुरा सुन्नु परेको भन्दै उनले सम्बन्धित निकायले उक्त विषयलाई गम्भीररुपमा लिनुपर्ने बताए । २०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले ६ दशक पार गरेको छ । ॅयो पुनर्मिलनको पलको साक्षी बन्दा ममा बेग्लै अनुभूति भएको छ । म भावुक भएको छु,’ उनले भने ।
२०२१ सालमा नेपाल बाल संगठनको स्थापनापश्चात् बालमन्दिर भवन निर्माण गरी विभिन्न जिल्लाबाट प्रतिकूल परिस्थितिमा रहेका बालबालिकाका लागि आवास तथा बालमन्दिर विद्यालय सञ्चालन गर्दै आएको अध्यक्ष विद्या उपाध्यायन्यौपानेले बताइन् ‘समृद्ध राष्ट्रको मूल आधार, सुरक्षा र मुस्कानसहितको बालअधिकार’ भन्ने नारासाथ संगठनले काम गरिरहेको अध्यक्ष न्यौपानेले बताइन् ।