31.9 C
Makwānpur
Homeमुख्य समाचार‘भीष्म पितामह’ लाई अन्तर्राष्ट्रिय संगीत पुरस्कार

‘भीष्म पितामह’ लाई अन्तर्राष्ट्रिय संगीत पुरस्कार

हेटौंडा/हेटौंडाबाट प्रदान गरिने यस वर्षको बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार वरिष्ठ कलाकार, गीतकार नीर शाहलाई प्रदान गरिने भएको छ । नेपाली चलचित्र क्षेत्रमा उनलाई ‘भीष्म पितामह’ पनि भन्ने गरिन्छ । शाहले थुप्रै राष्ट्रिय अवार्डहरु समेत पाएका छन् ।

भीमविराग संगीत साहित्य कला प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरेर पुरस्कारबारे जानकारी दिएको हो । प्रतिष्ठान अध्यक्ष केशबलाल श्रेष्ठले १ लाख राशिको पुरस्कार शाहलाई प्रदान गरिने निणर्य भएको जानकारी गराए । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालदेखि पुरस्कार रकम प्रायोजन गर्दै आएका
छन् ।

चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाहले २०३२ सालदेखि निरन्तर नेपाली कलामा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । माघ १५ गते हेटौंडामा एक विशेष समारोहबीच शाहलाई पुरस्कार समर्पण गरिने बताइएको छ । शाह नेपाली सिनेकलाकार हुन् । शाहको आवाज दमदार रहेकाले पनि उनी नेपाली सिनेजगत्मा अझ प्रसिद्ध छन् । उनलाई नेपाली चलचित्र इतिहासका प्रमुख अभिनेता र बहुआयामिक पहिचान भएका अभिनेता मानिन्छ । उनी नेपालको
राजपरिवारसँग सम्बन्धित छन् ।

शाह धेरै नेपाली चलचित्रका निर्माता वा सहनिर्माता हुन् । उनले बासुदेव, पच्चीस बसन्त, बसन्ती, नेपाल भाषाका चलचित्र राजामतीलगायत धेरै नेपाली चलचित्र निर्देशन गरेका छन् । उनी ओस्कारमा मनोनित चलचित्रका सहनिर्माता पनि हुन्, जसलाई फ्रान्सेली चलचित्र निर्माता एरिक भल्लीले सहनिर्मित र निर्देशन गरेका थिए । कारभान (क्यानडामा) र हिमालय (डेनमार्क र फ्रान्स) को रुपमा पनि रिलिज भएको उक्त चलचित्र ओस्कार मनोनयन जित्ने नेपालको पहिलो चलचित्र थियो ।

शाहले प्रेमपिण्ड र बलिदान जस्ता चलचित्रमा विरोधीका साथै अन्य चरित्र भूमिका पनि निभाएका छन् । उनी केही बलिउड चलचित्रमा अतिथि कलाकारका रुपमा पनि देखिएका छन् । शाहले धेरै नेपाली र नेपाल भाषा गीत पनि लेखेका छन् । उनले आफ्ना केही चलचित्रको स्क्रिप्टलेखन पनि गरेका छन् । सन् २००१ मा उनले फिरदौस अजिम र श्याम बेनेगलसँगै दक्षिण एसियाली वृत्तचित्रको महोत्सव, फिल्म दक्षिण एसियाको निणर्ायकमा सेवा गरे ।

शाह नेपालको पहिलो टिभी स्टेसन नेपाल टेलिभिजनको पहिलो प्रमुख र संस्थापक हुन् र चलचित्र निर्माण र माइक्रोवेभ टिभी वितरण कम्पनी सांग्रीला टिभीका अध्यक्ष रहे । निर्मल निकोलस पलसँग मिलेर उनले ८८८ फिल्म्स् नामक निर्माण कम्पनी स्थापना गरे, जसले नेपाली र हिन्दी चलचित्र उत्पादन गर्छ । उनको अर्को कम्पनी नेसनल स्टुडियोले सिनेमा निर्माणका विभिन्न क्षेत्रमा तालिम दिन्छ । उनी फिल्म निर्माण कम्पनी न्यु सेञ्चुरी पिक्चर्स प्रालिका मालिक पनि हुन् । शाह नेपालमा कलेज अफ जर्नलिज्म एण्ड मास कम्युनिकेसनको गभर्निङ काउन्सिलमा पनि कार्यरत् छन् । नेपाली कला, सँस्कृति र पर्यटन उद्योगको प्रवद्र्धनमा गरेको योगदानको कदरस्वरुप सन् २००२ मा उनलाई सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट सम्मान गरिएको थियो ।

उनका दुई दाजुमध्ये एक कुमार खड्गविक्रम शाहको विवाह पूर्वराजा ज्ञानेन्द्र शाहकी तीन बहिनीमध्ये एक राजकुमारी शारदा शाहसँग भएको थियो । उनका दाजु र भाउजु दुवै सन् २००१ को कुख्यात शाही नरसंहारमा मारिएका थिए । उनका अर्का भाइ ललितविक्रम शाह हुन् । शाहले २०२४ सालमा हीरासिंह खत्री निर्देशित परिवर्तनबाट चलचित्रयात्रा सुरु गरेका हुन् । शाहले कुसुमे रुमाल, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दुर, गौंथली, जीवनसाथी, बाचाबन्धन, मुनामदन, सानो संसार, किस्मतलगायत चलचित्रमा अभिनय गरेका छन् । करिब ३ सय चलचित्रमा सफल अभिनय गरिसकेका उनले ७ सय रुपियाँबाट अभिनययात्रा सुरु गरेका थिए । शाहले लेखेका चलचित्रका गीतहरु पनि निकै सफल छन् ।

उनले लेखेका पर्खिबसें आउला भनी, छोरी मलाई भागीभागी नसताऊ, गहिराइमा डुब्दै नडुब, प्यारी बसन्तीलगायत गीत सर्वाधिक चर्चामा रहे । २०६४ सालमा अम्बर गुरुङलाई पुरस्कृत गरेर सुरु भएको बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट क्रमशः प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान र राजेन्द्र थापा पुरस्कृत भइसकेका छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here