हेटौंडा/वागमती प्रदेशमा चालु आर्थिक वर्षको ४ महिना अवधिमा २८ जनाको हत्या भएको छ । सबै घटनामा आफन्त, छिमेकी र चिनजानका व्यक्ति नै अभियुक्त रहने गरेको देखिएको छ । धेरैजसो हत्याका घटनामा घरेलु हतियार प्रयोग भएका थिए ।
पछिल्लो समय प्रदेशका विभिन्न जिल्लामा भएको हत्यामा पतिले पत्नीको, पत्नीले पतिको, भाइबुहारीले जेठाजुको, छोराले आमाको, छिमेकीले छिमेकीको, चिनजानकै भरमा हत्या गरिएका छन् । प्रहरीले हत्याका निर्मम घटनाहरु सार्वजनिक गर्दै आएको छ । पति/पत्नीबीच हत्या पनि बढ्दै गएका छन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा चितवनमा ७, मकवानपुरमा ४, सिन्धुलीमा ३, दोलखामा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ३, नुवाकोटमा ९, धादिङमा ५, रसुवामा २ गरी ४८ जनाको हत्या भएको थियो । आर्थिक वर्ष २०७९ /०८० मा चितवनमा १०, मकवानपुरमा ६, रामेछाप र दोलखामा ३/३, काभ्रेमा ६, सिन्धुपाल्चोकमा ५, नुवाकोटमा ६, धादिङमा ४ गरी ४३ जनाको हत्या भएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा चितवनमा ८, मकवानपुरमा ८, सिन्धुली र दोलखामा ६/६, काभ्रेमा ५, सिन्धुपाल्चोकमा ८, नुवाकोटमा ४, धादिङमा ३, रसुवामा १ गरी ४९ जनाको हत्या भएको थियो । प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीको बुझाइमा परिवार र आफन्तभित्र हुने हत्याका अधिकांश घटना आवेगप्रेरित देखिन्छ । घरेलुहिंसा, आर्थिक/मानसिक समस्या, शंका, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड/रक्सी र लागुऔषधका कारण पनि यस्ता घटना हुने गरेको रेग्मी बताउँछन् । पहिले संगठित हत्या हुने गर्थे भने हाल परिवार र आफन्तभित्र हत्या हुने गरेको उनको भनाइ छ ।
दम्पत्तीबीच हुने हत्याका अधिकांश घटनाको भित्री कारण पैसा, अविश्वास, यौनसम्बन्ध वा विवाहेत्तर सम्बन्ध रहेको देखिएको बताइएको छ । एक प्रहरी अनुसन्धान अधिकृतका अनुसार उक्त अवधिमा छिमेकीबाट पनि हत्या भएको छ । कतिको त चिनजानकै भरमा पनि घटना भएको छ । प्रदेश प्रहरी कार्यालयले हत्याका घटनाहरु रोक्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए ।
पछिल्लो समयमा असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, त्यो घरबाहिर होस् वा घरभित्र । तथापि, परिवार र आफन्तबीच हुने हत्याका श्रृंखला त्यसमा मात्र सीमित छैन । सामाजिक बनावट, घरभित्रको वातावरण, अविश्वास, विवाहेत्तर सम्बन्ध, यौन, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि एकले अर्काको हत्या गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ ।
रिसलाई नियन्त्रण गर्न, परिवार र समाजलाई व्यवस्थापन गर्न सकियो भने पनि यस्ता घटना कम गर्न सकिने प्रहरीको बुझाइ छ । यस्ता घटना कुनै उमेर समूहमा मात्र सीमित देखिँदैन । लागुऔषध प्रयोग र मदिरासेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अधिक रहन्छ । त्यसैले ससाना विषयमा हुने झैझगडा वा सानो विषयको विवाद पनि हत्यासम्म पुगेका थुप्रै उदाहरण रहेको बताइएको छ ।
हाल परिवार र आफन्तमा भएका अधिकांश हत्याको प्रवृत्ति हेर्ने हो भने रिस, आवेग, तनाव र मानसिक समस्याको कारणले भएको देखिन्छ । हाल व्यक्तिले अर्काको भावना नबुझ्ने, सहयोग नगर्ने प्रवृत्ति देखिएको छ । यो पनि मानसिक समस्याको उपज हो । जसका कारण ससाना कुरामा पनि आक्रोशित हुँदा व्यक्तिले अपराधको सहारा लिने गरेको पछिल्ला उदाहरणबाट बुझ्न सकिन्छ ।
आफन्तले रिस उठाए भने बदलाको भावना लिने, सहन नसक्ने, पीडित हुने, गाह्रो हुने स्वभाव बढ्छ । यस परिस्थितिमा आफ्नाले आफ्नैलाई हत्या, अरुको हत्या गर्ने जस्ता घटनाको क्रम बढ्दै जाने समाजशास्त्री गोबिन्दविक्रम चालिसेको भनाइ छ । परिवार आफन्तभित्र हुने हत्याको पछाडिको कारण सामाजिक विचलन भएको बुझाइ उनको छ ।
व्यक्तिगत् र सामाजिक कारण हुने अधिकांश हत्या अवसर अभाव र बदलासँग जोडिएका हुन्छन् । जुन परिवारमा बिखण्डन छ, आर्थिक समस्या छ, त्यसमा यस्तो घटना धेरै हुने गर्छ । पति र पत्नीबीच उब्जिएको शंका, उपशंका, अविश्वास, धर्म, सँस्कार, चरित्र, बदला र चित्त नबुझे पनि सम्बन्धमा रहनुपर्ने दबाबले गर्दा पनि एकर्काको हत्यासम्म गराउने गरेका थुप्रै उदाहरण छन् ।