बसन्त भण्डारी
हेटौंडा/मंसिर १६ गते हुने उपनिर्वाचन नजिकिँदै गर्दा हेटौंडा-१२ मा राजनीतिक दलहरुले मतदाताको मन जित्न तीव्र अभियान सञ्चालन गरिरहेका छन् । पुराना र नयाँ उम्मेदवारहरुले विहानदेखि बेलुकासम्म मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा प्रस्तुत गर्न समय बिताइरहेका छन् ।
झीनो हारपछि पुनः मैदानमा
नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विगतमा झीनो मतले वडाध्यक्ष गुमाएका थिए । हाल उनी विगतका उपलब्धिहरु र विकासप्रतिको प्रतिबद्धता मतदातासमक्ष राख्दै घरदैलो अभियानमा सक्रिय छन् । तिवारीले भने-यस पटक मतदाताले विगतमा थोरै मतले पराजित भए पनि जनताको सेवामा निरन्तर खटिएको मर्मलाई बुझेर मलाई जिताउनेछन् ।
नयाँ रणनीति
नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटी विगतको तेस्रो स्थानबाट अघि बढ्न व्यापक तयारीमा छन् । उनको टोलीले वडाका विभिन्न टोलमा संगठितरुपमा मतदातासँग भेटघाट गरिरहेको छ । नगरकोटीको दाबी छ-मतदाताले नयाँ जोश र एजेण्डा बोकेको नेतृत्व रोज्नेछन् ।
दबाबपूणर् स्थिति माओबादी केन्द्रका उम्मेदवार रविन प्रधान आफ्नो दलको हेटौंडा-१२ मा झण्डा गाड्न सफल हुने एकमात्र वडालाई जोगाउन हरसम्भव प्रयास गरिरहेका छन् । उनले मतदातालाई विकास र समृद्धिको वचन दिँदै आफ्नो पक्षमा माहोल बनाउन जोड दिएका छन् ।
अन्यको अभियान
राप्रपाका प्रेम भोलन र राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बलले पनि वडाध्यक्षका लागि व्यापक जनसम्पर्क अभियान चलाइरहेका छन् । अन्य स्वतन्त्र उम्मेदवार पनि आफ्नो एजेण्डा प्रस्तुत गर्दै मतदातासँग संवाद गरिरहेका छन् । २०७९ सालको निर्वाचनमा ६ हजार ४ सय ६५ मतदाता रहेको वडामा हाल मतदाताको संख्या बढेर ८ हजार ५३ पुगेको छ । ३१ महिना अन्तरालमा १ हजार ५ सय ८८ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार मतदातामध्ये ४ हजार १ सय ७४ महिला छन् ।
उम्मेदवारहरु मूल सडक र टोलमात्र होइन, खेतबारि र व्यस्त जनजीवनसम्म पुगेर मतदातासँग संवाद गरिरहेका छन् । मतदाताले घरदैलोमा पुगेका उम्मेदवारलाई वडाका समस्या र अपेक्षा राखिरहेका छन् । चुनावी माहौल चर्किंदै जाँदा मंसिर १६ को दिन कुन उम्मेदवारले वडाध्यक्ष जित्ने भन्ने प्रश्न मतदातामाझ मुख्य चासोको विषय बनेको छ ।