मनिता राना
हेटौंडा/सोमबार विहान करिब साढे ७ बजे दामनदेखि छोरीको नागरिकता बनाउन हेटौंडा हिँडेका बाबुलाल थिङ जिल्ला प्रशासन आइपुग्दा ‘सरकारी बिदा’ भन्ने थाहा पाएपछि झस्किए । बिदा भन्ने नै नसुनेको र हेटौंडा आइपुग्दा बिदा भन्ने थाहा पाएपछि उनी अलपत्र परे । १० बजे नै हेटौंडा आइपुगे । आएपछि कहाँ जाने, के खाने अन्दाधुन्दमा परे ।
एक आफन्तकोमा बस्छु अनि भोलि आउँछु भनी सोचेर आफन्तको घरतिर लागे । ॅहिजोदेखि दौडिएको दौडिएकै छौं । तर, छोरीको नागरिकता बनाउन सकेको छैन,’ थिङले गुनासो गरे । ॅअब त बन्ला कि भनेर दिनभरि उभिरहेको छु । सरकारी काम भनेजस्तो नहुने रहेछ,’ जिल्ला प्रशासनमा भेटिएका उनले भने । एक दिनमा हुने कामका लागि बारम्बार आइरहनु पर्दा झन्झट भएको उनले गुनासो गरे । पहिला पनि नागरिकता बनाउन गाह्रै भएको र हाल पनि मुस्किल नै भएको उनले अनुभव सुनाए । विहानदेखि लाइनमा पालो कुरेर बसेको उनले पीडा पोखे ।
हेटौंडा-१३, पदमपोखरीका बलराम थापा एक हप्ता पहिले नागरिकतासहित पैसा भएको झोला चोरी भएपछि प्रतिलिपि नागरिकता बनाउन विहान ७ बजेदेखि लाइनमा बसेको तर काम नबनेकाले दिक्क लागेको बताए । ॅकाम नबन्ने भए आज बन्दैन भनिदिए घर गएर अरु काम गर्न हुन्थ्यो । दिनभरि लाइनमा उभिँदा खुट्टा नै दुखिसक्यो,’ उनले चिन्ता व्यक्त गरे ।
जिल्ला प्रशासन कार्यालयमा विहानदेखि बेलुकासम्म नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिने तथा अन्य कार्यका लागि भिडभाड देखिन्छ । सेवाग्राहीलाई कार्यालयले व्यवस्थितरुपमा सेवाप्रवाह गर्नुपर्ने देखिन्छ । जिल्ला प्रशासन कार्यालयमा दिनमा १ सयदेखि १ सय ५० सम्म नागरिकता सेवाग्राहीको उपस्थिति हुने गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । नागरिकता बनाउन आउने सबैको कागजात सही छन् भने बेलुकासम्म बसेर काम गरिदिने गरेको उनले बताए ।
सरकारले सोमबार दिएको सार्वजनिक बिदाले नागरिकलाई भने सास्ती दिएको छ । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सोमबार सार्वजनिक बिदा दिने निणर्य गरेको थियो । बिदा भए पनि धेरैजसो कर्मचारी कार्यालय पुगिसकेका थिए । यस्तो अवस्थामा सरकारले अचानक सार्वजनिक बिदा दिँदा कर्मचारी रनभुल्लमा मात्र परेनन्, सेवाग्राहीले समेत सास्ती व्यहोर्नु परेको थियो । हेटौंडाका कतिपय सेवाग्राहीसमेत कार्यालय पुगिसकेको अवस्थामा बिदा हुँदा समस्या भयो । केही कार्यालयमा त कार्यालय खुल्नुभन्दा केही घण्टा अघिदेखि नै लाइन लागेको थियो ।
मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निणर्य गरेको हो । ढुंगानाको भने आइतबार दिउँसो निधन भएको थियो । सरकारले ढिलो गरी निणर्य गर्दा कर्मचारी र सर्वसाधारणले दुःख पाएका थिए । सरकारको निणर्य सार्वजनिक हुँदै गर्दा कतिपय कर्मचारी तथा सेवाग्राही कार्यालय पुगिसकेका थिए । प्रशासन, यातायात कार्यालयहरुमा विहानदेखि नै सेवाग्राहीको भिड लाग्ने गर्छ । यी कार्यालय अचानक बन्द हुँदा समस्या भएको थियो ।
सरकारले अचानक सार्वजनिक बिदा दिएपछि कार्यालय पुगेका कर्मचारीको पनि बिजोग भएको थियो । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निणर्य गर्दा अधिकांश कर्मचारी कार्यालय पुगिसकेका थिए । कतिपय कर्मचारीले त हाजिर गरिसक्दा गृह मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको थियो । त्यसैले कार्यालयमा उपस्थित भइसकेका कर्मचारी घर फर्किनुपर्ने बाध्यता आइपरेको थियो ।