Homeमुख्य समाचार‘निर्वाचन प्रणाली परिवर्तन अपरिहार्य’

‘निर्वाचन प्रणाली परिवर्तन अपरिहार्य’

बसन्त भण्डारी

हेटौंडा/पूर्वप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा चुनाव जित्न अधिक खर्च गर्नुपर्ने चलनले भ्रष्टाचारलाई बढावा दिएको भन्दै निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन आवश्यक रहेको बताएका छन् ।

मकवानपुर प्रेस सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान निर्वाचन प्रणालीले उम्मेदवारलाई चुनावी खर्चको भारी बोझमा धकेल्ने र यसबाट भ्रष्टाचारको शुरुवात हुने बताएका हुन् । दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था भ्रष्टाचार न्यूनीकरण र स्थिर शासनका लागि प्रभावकारी हुनसक्ने धारणा राखे ।

उनका अनुसार जनतासँग प्रत्यक्ष सम्बन्ध हुने कार्यकारी प्रमुखको व्यवस्था भएमा राज्यको स्रोत र साधनको दुरुपयोग कम हुनेछ र भ्रष्टाचार नियन्त्रणमा थप बलियो भूमिका खेल्न सकिनेछ । दाहालले माओबादी केन्द्रले देशभरका स्थानीय तहमा खबरदारी अभियानको तयारी गरिरहेको जानकारी पनि दिए । उनले वर्तमान सरकारका केही निणर्यप्रति असन्तुष्टि व्यक्त गर्दै खबरदारी अभियानका माध्यमबाट जनतालाई सरकारका गलत कदमप्रति सजग बनाउने योजना रहेको बताए ।

उनका अनुसार माओबादी केन्द्रले सरकारबाहिर रहँदा जनताको माझ पुग्न र संगठनका आन्तरिक कमजोरी सुधार्दै परिवर्तनको आवाजलाई थप सशक्त बनाउने प्रयास गर्दै आएको छ । केही दिनभित्र देशभरका पालिकामा खबरदारी अभियान सुरु हुने र जनचेतना जगाउन विभिन्न गतिविधि सञ्चालन गरिने उनले बताए ।

सहकारी ठगी प्रकरणका सन्दर्भमा दाहालले सरकारले राजनीतिक प्रतिशोधका आधारमा केही व्यक्तिहरुलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए । उनले उक्त मुद्धामा पक्षपात नगरी सबैलाई समानरुपमा कानुनी दायरामा ल्याइ निष्पक्ष छानबिन गर्नुपर्ने बताए । दाहालले सहकारी ठगीमा संलग्न सबै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गर्दै यस विषयमा राजनीतिक स्वार्थभन्दा बाहिर रहेर न्यायपूणर् अनुसन्धान हुनुपर्ने बताए । आफ्नो र पराइको व्यवहार नगरी ठगीको विषयमा सबै पक्षमा अनुसन्धान हुनुपर्ने दाहालको भनाइ छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले निर्वाचन प्रणालीको स्वरुप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउनुपर्ने बताए । पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले देशमा स्थिरता कायम गर्न प्रत्यक्ष कार्यकारीमा जान संविधान संशोधन गर्न सकिने बताएका हुन् । नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन नभएसम्म देशमा स्थिर शासन र देशको विकास नहुने उनको भनाइ छ । ‘अबको व्यवस्थामा सांसद्लाई मन्त्री बनाउने व्यवस्था हटाउनुपर्छ । विज्ञ समूहबाट मन्त्री बनाउनुपर्छ,’ उनले भने ।

हालको सरकारले प्राप्त अधिकार र उपलब्धिलाई खोस्ने गरी संविधान संशोधन गर्न खोजेको देखिएको भन्दै प्रचण्डले माओबादीले उक्त अवस्था आउन नदिने बताए । माओबादी सरकारबाट बाहिरिँदा आफूले कांग्रेस-एमालेलाई धन्यबाद दिएको बताउँदै प्रचण्डले अब खुलेर जनतामाझ गएर आफूहरुको सरकारले गरेको उपलब्धि र अबको कार्यक्रमबारे जानकारी दिने समय मिलेको बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here