Homeमुख्य समाचार‘वर्तमान सरकार दलाल र पुँजीपतिहरुको प्रतिनिधि’

‘वर्तमान सरकार दलाल र पुँजीपतिहरुको प्रतिनिधि’

हेटौंडा/नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दलाल र पुँजीपतिहरुको प्रतिनिधिका रुपमा रहेको आरोप लगाएका छन् । भ्रष्टचारी र बिचौलिया कारबाहीमा पर्न थालेपछि कांग्रेस र एमालेले उनीहरुलाई जोगाउन आफू नेतृत्वको सरकार ढालेको पूर्वप्रधानमन्त्री प्रचण्डको आरोप छ ।

शनिबार मकवानपुरको थाहामा वाईसीएलको दोस्रो नगरसभामा अध्यक्ष प्रचण्डले संविधान संशोधन र सुशासनका नाममा कांग्रेस र एमालेले संख्याको बलमा आफ्नो सरकार ढालेको बताए । नराम्रो पनि गर्दिनँ र गर्न पनि दिन्नँॅ भनेर सरकार सञ्चालन गर्ने इमान्दार कोशिस गर्दै सबै बेथिति र विसंगतिविरुद्ध उभिँदा एमाले र कांग्रेस मिलेर सरकार ढालेको उनको भनाइ थियो ।

संविधान संशोधन र सुशासन यिनीहरुको बहानामात्र हो । देशमा सुशासन कायम हुन थाल्यो । भ्रष्टाचारीहरु कारबाहीमा पर्न थाले भनेपछि मेरो नेतृत्वको सरकार ढालियो, उनले भने-भ्रष्टाचारीहरुलाई बचाउनुपर्ने बाध्यता आइलागेपछि तिनीहरुकै प्रतिनिधिका रुपमा एमाले र कांग्रेस सरकारमा छन् ।

अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकार कांग्रेस-एमाले मिलेर नबनेको बताए । माओवादी केन्द्रको नेतृत्ववाला सरकारले बिचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरुले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएपछि सरकार परिवर्तन भएको उनको भनाइ छ ।

अधिवेशनमा पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरुको नेतृत्वको सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ गर्न थाल्दा आत्तिएकाहरुले कुनै एउटा व्यवसायीको घरमा बसेर सरकार ढाल्ने कथा लेखेको बताए । आफू अघिल्लो सरकारमा सके राम्रो गर्छु, तर नराम्रो गर्दिनँ र नराम्रो गर्न दिन्न भन्ने संकल्पसहित आएको र सोहीअनुसार काम गर्दा दलालहरुको सात्तो गएको उनको भनाइ छ ।

आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मञ्चमा समेत शिर उठाउने गरी राम्रा काम भएको बताउँदै प्रचण्डले सयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनबारे आफ्ना धारणा सुनेर संघका महासचिव नेपाल आएर नेपालबाट अन्तर्राष्ट्रिय सन्देश दिएको बताए । प्रचण्डले कांग्रेस-एमालेले चाहेअनुसार माओवादी आन्दोलन नमर्ने दाबी गरे । ३२ सिट हुँदा त एमाले-कांग्रेसको सात्तो गएको भन्दै उनले अबको निर्वाचनमा माओवादीले बहुमत ल्याउँदा उनीहरुको होस नै उड्ने जिकिर गरे ।

उनले अब चाँडै माओवादीले देशको सबै जिल्ला, स्थानीय तहमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए । प्रचण्डले आफू अझै ५-७ वर्ष स्वस्थ्य हुने र नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नगरी विश्राम नलिने बताए । उनले सबै उत्पीडित वर्ग र समुदायको साथ लिएर ७ सय ५३ वटै स्थानीय तहमा नयाँ खबरदारीसभा गर्ने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाको एजेन्डासहित आन्दोलनमा जाने अध्यक्ष दाहालले उद्घोष गरे ।

‘संसदीय पुराना खेलाडी जालझेल गर्न सिपालु, तर हामीले गरेको कामबारे जनतामाझ लैजान नसकेको कारण हामी केही पछि परेका हौं कि भन्ने भान भएको छ’ प्रचण्डले भने । हालको सरकारले सय दिनमा गरेको भनेर सार्वजनिक गरिएको कार्यक्रम आफ्नो कार्यकालमा भएको कार्यक्रमको फेरिहस्त भएको उनले बताए ।

अध्यक्ष दाहालले सरकारी जग्गा जालझेल गरेको आरोपमा हिरासतमा पुगेको व्यक्तिबाट जग्गादान लिएर वर्तमान प्रधानमन्त्री केपी शर्माओलीले भ्रष्टचारलाई संस्थागत् गर्न खोजेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले आफ्नो सरकारले राम्रा काम गरेकै स्थानमा हालको सरकारले प्रहार गरिरहेको आरोप लगाए । विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन हदैसम्मको प्रयास गर्नु एउटा उदाहरणमात्र भएको उनको भनाइ छ । ॅहालको सरकारलाई देश लोडसेडिङमुक्त भएको बिल्कुल मन परेको छैन । उनीहरु देशलाई फेरि पनि अँध्यारो युगतिर लैजान चाहन्छन्, ॅ प्रचण्डले भने-उनीहरु दलाल पुँजीपतिहरुलाई विद्युत् महसुल तिर्न नपर्ने बनाउनका लागि र गरिब जनताहरुलाई तिर्नैपर्ने बाध्यता गर्नका लागि कुलमानलाई निकाल्न लागिपरेका छन् ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा आक्रोश रहेको जिकिर गरे । उनले जनताले फेरि पनि माओवादी केन्द्रको नेतृत्वमा एउटा आन्दोलनको नेतृत्व होस् भन्ने चाहेको दाबीसमेत गरे । माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलनको आँधीबेहरी सिर्जना हुने उल्लेख गर्दै त्यसका लागि तयार रहन उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले आफू पहिलो पटक प्रधानमन्त्री भएका देशलाई रणनीतिकढंगले एकताबद्ध गर्नुपर्छ भनेर मध्यपहाडी पुष्पलाल लोकमार्ग आफूले प्रस्ताव गरेको र त्यो हाल पूणर् हुने अवस्थामा रहेको बताए । त्यसले पहाडमा पूर्वदेखि पश्चिम जोड्न लागेको उल्लेख गर्दै उत्तर दक्षिण जोड्ने मार्गहरु निर्माणको काममा पनि सफल भएको उल्लेख गरे ।

कार्यक्रममा माओवादी केन्द्र उपाध्यक्ष अग्नि सापकोटाले माओवादीलाई कांग्रेस र एमालेले कमजोर ठानेर गल्ती गरिरहको भन्दै चेतावनी दिए । उनले माओवादीलाई चिलको संज्ञा दिँदै उनले जुनसुकै बेला र परिस्थितिमा चिललेजस्तै माओवादीले पनि उडान भर्नसक्ने दाबी गरे । उनले माओवादीले देशबाट भ्रष्टाचारीहरुलाई निर्मूल नपारुञ्जेल विश्राम नलिने बताए ।

कार्यक्रममा शहीद तथा बेपत्ता परिवार, पूर्वजनमुक्ति सेनालाई सम्मान गरिएको थियो । कार्यक्रमलाई भव्य बनाउन थाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झँँकीसहित पदैल र्‍याली गरिएको थियो । र्‍यालीमा महिला पञ्चैबाजा, तामाङको झँँक्री नाच, महिलाको खैंजडी, गोपालीहरुको बाँसुरीको धुन, नेवारहरुको धिमे बाजासहित विभिन्न झँँकीले अध्यक्ष प्रचण्डको स्वागत गरिएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here