Homeमुख्य समाचारतीन किशोर खेलाडी गुमेपछि शोकमा हेटौंडा

तीन किशोर खेलाडी गुमेपछि शोकमा हेटौंडा

हेटौंडा : सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका मकवानपुरका ३ किशोर खेलाडीको शव ल्याइएपछि सोमबार हेटौंडा शोकमा डुबेको छ । उनीहरुप्रति श्रद्धा व्यक्त गर्न हजारौंको उपस्थिति थियो । स्थानीयले मृतक खेलाडीको शवमा पुष्पगुच्छा अर्पण गरेका थिए । मृतक खेलाडीको पार्थिव शरीरमा खेलाडी, प्रशिक्षक, खेलप्रेमी, जनप्रतिनिधिहरुले पुष्पगुच्छाअर्पण गरेका थिए ।

काठमाडौंस्थित शिक्षण अस्पतालमा शवपरीक्षणपश्चात् मृतकमध्ये हेटौंडा-१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन र बारा निजगढका विकल रेग्मी छन् । शवहरु हेटौंडा ल्याइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । प्रजिअ चिलुवालले शव अन्त्येष्टिका लागि परिवारजनलाई बुझाइएको बताए । प्रजिअ चिलुवाल र मकवानपुर प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालको उपस्थितिमा शव आफन्तलाई जिम्मा लगाइएपछि सभा गरिएको थियो ।

जिल्ला खेलकुद विकास समितिनजिक हेटौंडा-४ स्थित हुप्रचौरमा गरिएको श्रद्धाञ्जलीसभामा मृतकका आफन्त, खेलाडी, खेलप्रेमी तथा स्थानीयको उपस्थिति थियो । एन्फा मकवानपुरको संयोजनमा खेलाडीहरुको शव उक्त स्थानमा राखिएको थियो । बिहीबारदेखि ३ दिन परेको वर्षाका कारण पहिरोमा परेर मकवानपुरका ७ जनाले ज्यान गुमाउँदा तीमध्ये ६ विद्यार्थी सिस्नेरीको पहिरोमा पुरिए । फुटबल प्रशिक्षणका लागि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित सिस्नेरी पुगेका ४० मध्ये ६ किशोरको सपना पहिरोले थिच्यो ।

त्यही पहिरोमा पुरिएका ६ जनामध्ये एक थिए हेटौंडा-१२ का अनुपम घलान । जिल्ला समन्वय समिति प्रमुख ललित घलानका एकमात्र छोरा थिए अनुपम । २०६७ कार्तिक २५ गते जन्मिएका उनी सानैदेखि फुटबलमा औधी रुचि राख्थे । छोराको इच्छा र फुटबलप्रतिको लगावले घलानले छोराको इच्छा पूरा गर्न सिस्नेरी पठाएका थिए । तर, शनिबार सिस्नेरीले घलानपुत्र अनुपमलाई चुडेर लग्यो र परिवारमा कहिल्यै निको नहुने घाउ दिएर गयो । ४० जना साथीसँगै बत्सलादेवीको होस्टेलमा बसेका घलानसहित ६ बालक कहिल्यै नफर्कने गरी बिदा भए ।

कक्षा-९ मा अध्ययनरत् अनुपम ४ वर्षका लागि ७ महिना अघिमात्र सिस्नेरी पुगेका थिए । अनुपमले शुक्रबार राति बाबुलाई फोनमा मलाई लिन आउनु भनेका थिए । छोराको बोली सम्झिँदै घलानले आफू र परिवारलाई सम्हाल्न सकेका छैनन् । कुलेखानी जलविद्युत् आयोजनाले ड्याम खोलिएको सूचना पाएपछि विद्यालय क्षेत्र पनि डुबानमा पर्ने भएकाले होस्टेलबाट अन्यत्र सारिँदै गर्दा घलानसहित ६ बालकलाई होस्टेलबाट केही माथि पुगेपछि पहिरोले पुर्‍यो । छोरा पहिरोको चपेटामा परेको खबर पाउनासाथ जिसस प्रमुख घलानले बचाउने प्रयत्न गरे ।

तर, उनको प्रयत्न सफल हुन सकेन । अन्ततः उनका छोरासहित नेपाली फुटबलको भविष्यका खेलाडीले बिदा लिए । छोराको निधनबाट गहिरो चोट बोकेका घलानले सामाजिकसञ्जाल फेसबुकमा लेखेका छन्-छोरा अनुपम, मैले तिमीलाई बचाउन सकिनँ । शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी अनुपमसहित मृतक खेलाडीको शव सोमबार विहान हेटौंडा ल्याइएको छ । विहान करिब ९ बजे हेटौंडा-११ स्थित वागमती प्रदेश प्रहरी कार्यालयमा हेलिकोप्टरमार्फत्म कवानपुरका ३ खेलाडीको शव ल्याइएको थियो । अनुपमसहित मकवानपुरको सिस्नेरी घर भएका दिवस बानियाँ, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको पहिरोले पुरेर मृत्यु भएको थियो । शव सोमबार ल्याइए पनि लामा विधि पूरा गरेपश्चात् मंगलबार विहानमात्र अनुपमको अन्तिम संस्कार हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा रहेका ४० खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर निधन भएको
थियो । ती विद्यार्थीहरुमा धादिङका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी पनि छन् । सन्तान गुमाउनुको पीडा त छँदैछ । नजिक रहेको दशैंमा घलान परिवारले पीडा खेप्नुपरेको छ । घलान परिवारमा एउटा नसोचेको वियोग आइपरेको छ । हाँसीखुशी चाडपर्व मनाउनुपर्नेमा आँशुमा चाडपर्व बित्ने भएको छ । आफ्नो घरसमेत आउन नपाइ छोराको प्राण गएपछि घलान परिवार गहिरो शोकमा छ ।

पुलिसले सुरक्षित ठाउँमा गएर बस्न माइकिङ गरेर आतंकित गर्ने, एन्फाका वार्डेनसहित व्यवस्थापन टिमले समयमै निणर्य गर्न नसकेको कारण दुःखद् अवस्था सामना गर्नुपरेको हो, पिता ललित घलानले भने-कुलेखानीको ड्याम खोलिसक्यो भाग भनेपछि सबै माथि जाने क्रममा ६ जना पहिरोमा पुरिएछन् । अब एन्फाले यसलाई शिक्षाका रुपमा लियोस्, मैले जस्तो कुनै अभिभावकले अकालमा आफ्ना खेलाडी बालबच्चा गुमाउनु नपरोस्, उनले भने । जहाँ खेलाडी राख्दै आएका थिए, त्यहाँ बाढीपहिरोले कुनै असर गरेको छैन । कुलेखानीको ड्याम खोल्दा पनि असर नपुग्ने सुरक्षित स्थानबाट खेलाडीहरुलाई किन भीरको बाटो हुँदै माथि लैजानुपरेको भन्ने विषयमा परिवारसँग समन्वय नगरिएको आरोप छ । पहिरोमा ज्यान गुमाएका मकवानपुरका योञ्जनका आफन्तले भने-सबै खेलाडीलाई सँगै लगिएको भन्नेमा शंका छ ।

सुरक्षित स्थानमा लगिएका ३० प्रशिक्षार्थीलाई काठमाडौं लगिएको छ । उद्धार गरिएका ३४ मध्ये ३० जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । एन्फाले पूणर्अध्ययनबिना खोलाकिनारमा एकेडेमी सञ्चालनको निणर्य गरेको आरोप छ । जसले गर्दा दुर्घटना भएको भन्दै एन्फाको विरोध जारी छ । जेठबाट सुरु एकेडेमी निर्माणमा दुरदर्शिता नअपनाउँदा अप्रिय घटना घटेको हो । एकेडेमीमा तोकिए भन्दै धेरै खेलाडी राखिएको, प्रारम्भिक छनौटमा नपरेका खेलाडीको बाहुल्यता रहेको, सामान्य प्राथमिक उपचार केन्द्र नरहेको र खेलाडीहरुको वीमा नभएको बुझिएको छ ।

फुटबल संघ मकवानपुरका पूर्वउपाध्यक्ष सुबिन घिमिरेले भिजनलेस प्रोजेक्ट र लापरबाहीका कारण खेलाडीहरुले ज्यान गुमाउनुपरेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । । नेपाली फुटबलमा कालो दिनको रुपमा रह्यो । ६ कलिला खेलाडीहरु नेपालको राष्ट्रियस्तरको खेलाडीको रुपमा स्थापित हुन्छु भन्ने आकांक्षामा पूणर्विराममात्र लागेन कि, जीवन नै गुमाउन पुगे । एन्फाप्रति विश्वास र भरोसा गरी सिस्नेरीमा सञ्चालन गरिएको फुटबल एकेडेमीमा पुगे । सायद एन्फाले सञ्चालन गर्ने स्तरको अवश्य थिएन । तर, विश्वासले गए, उनले भने ।

उक्त विद्यालयमा एकेडेमी सञ्चालनबारे २०८० चैत ३० गते सम्झौता भएको थियो । फुटबलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसाथ १३ वर्षमुनिका ३० पुरुष खेलाडीलाई विद्यालयमा प्रशिक्षणमा राख्न सहमतिपत्रमा हस्ताक्षर भएको हो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको उपस्थितिमा महासचिव किरण राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here