मनिता राना
हेटौंडा/आर्थिक विकासमा प्रदेशको भूमिका निकै ठूलो देखिन्छ । राष्ट्रिय सोच, लक्ष्य एवम् उद्धेश्यप्राप्तिमा सहयोग गर्ने, सहकार्य गर्ने, प्रादेशिक नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने, समन्वय गर्ने, प्रदेशस्तरका आयोजना, अन्तरपालिका आयोजना कार्यान्वयन गर्ने, स्थानीय तहका साना आयोजना कार्यान्वयन नगर्ने कार्यमा प्रदेशले पाइला अगाडि बढाइरहेको अवस्था छ ।
प्रदेशमा लगानीको उपयुक्त वातावरण तयार गर्ने प्रदेश-प्रदेश र स्थानीय तहबीचमा विकास र समृद्धिका लागि सहकार्य गर्ने, समन्वय गर्ने, विकास/निर्माण कार्यमा प्रतिस्पर्धा गर्ने, स्थानीय तहको क्षमता विकासमा सहयोग गर्ने, स्थानीय तहबाट हुने सेवाप्रवाह, विकास निर्माणमा समन्वयकारी भूमिका निर्वाह गर्ने, प्रदेशभित्रका राजनीतिक, प्रशासनिक, वित्तीय, आयोजना सञ्चालनलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र प्रदेशभित्रका निजी तथा सहकारी क्षेत्रको कार्यमा आवश्यक सहजीकरण, समन्वय तथा सहकार्य गर्ने कुरामा अब वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रयास थालेका हुन् ।
उनी प्रदेशमा स्वदेशकै लगानीकर्ता खोज्दै मधेश प्रदेश पुगेका छन् । त्यहा उनले उद्योगी/व्यवसायीलाई वागमती प्रदेशमा उद्योग तथा कारखाना विस्तार गर्न आग्रह गरे । वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री काफ्लेले वागमती प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । त्यहा“ उनले आर्थिक विकासको पूर्वशर्त शान्ति, सुरक्षा र स्थिरता रहेको भन्दै यसको पूणर् प्रत्याभूति दिलाउने, समष्टीगत् आर्थिक स्थायित्व कायम गर्ने, प्रदेशको आर्थिक/सामाजिक विकास र समृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरामा आफू अडिग रहेको बताए ।
नीति तथा योजना तय गर्ने, नियमनका मापदण्ड निर्धारण गर्ने, समन्वय गर्ने, नीतिगत्, कानुनी, संस्थागत् एवम् प्रक्रियागत् पक्षमा सुधार गरी प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्ने, आधारभुत वस्तु तथा सेवाप्रवाहलाई छिटोछरितो, सरल र पारदर्शी बनाउने कुरामा वागमती अगाडि छ, उनले थपे-निजी क्षेत्रका कार्यमा सहजीकरण गर्ने, ठूला तथा अन्तरप्रदेशस्तर आयोजना कार्यान्वयन गर्ने, प्रदेश र स्थानीय तहको क्षमता विकास गर्ने, सरकारबीच समन्वय, सहकार्य एवम् सहअस्तित्व विकास गरी राजनीतिक, प्रशासनिक, वित्तीय एवम् आयोजना सञ्चालनलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारमा सदाचार र असल स“स्कारको संस्थागत् विकास गरिनेछ ।
वागमती प्रदेशमा लगानी गर्न केकस्ता पूर्वाधार आवश्यक पर्छन् । त्यसका लागि गर्नुपर्ने सबै खालको सहजीकरण गर्न प्रदेश सरकार तयार छ,’ उनले भने-वागमती प्रदेश सरकार उद्योग र कलकारखाना स्थापनाका लागि कानुनी र अन्य प्राविधिकरुपमा पनि सहजीकरण गरेर औद्योगिक लगानीको वातावरण बनाउन कटिबद्ध छ ।
मन्त्री काफ्लेले वागमती प्रदेश लगानीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले पनि सबै खालका सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । पर्साका उद्योगी/व्यवसायीले भोग्नुपरेका समस्या र जटिलता चिर्न वागमती प्रदेश सरकार तयार छ, उनले भने-मधेश प्रदेशको अर्थनीतिमा वागमती प्रदेशका तर्फबाट गर्न सक्ने सहजीकरण र समन्वय गर्न पनि तयार छौं ।
मन्त्री काफ्लेले हाल मुलुकमा देखिएको आर्थिक समस्यालाई सबैले एकजुट भएर समाधानको बाटोतर्फ अघि बढ्नुपर्ने बताए । वीरगञ्ज भन्सार कार्यालयमा कम राजस्व संकलन हुँदा त्यसको असर वागमती प्रदेशमा पनि पर्छ, उनले भने-वीरगञ्जआसपास औद्योगिक क्षेत्रमा परेको समस्या समाधान गर्न आफ्नो ठाउँबाट पहलकदमी गर्छौं ।
हुन पनि राष्ट्रिय राजस्वमा ४३ प्रतिशत्भन्दा बढी योगदान पुर्याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिकरुपमा घट्दै गएको छ । गत आर्थिक वर्षको पहिलो महिनामै लक्ष्यभन्दा २४ प्रतिशत् कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत् कम राजस्व संकलन गरेको जनाएको थियो । गत साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड ३७ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा लक्ष्यभन्दा ३ अर्ब ७५ करोड ३२ लाख रुपियाँ कम राजस्व संकलन भएको थियो । सबभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायत २० वस्तुको आयातबाट संकलन हुने राजस्व घट्दै गएको छ ।
सरकारले लगानीका क्षेत्र पनि परिभाषित गरेको छ । सूचनाप्रविधि, ऊर्जा, कृषि र उद्योगलगायत क्षेत्र प्राथमिकतामा छन् । अझै लगानीको पर्याप्त वातावरण बनेको छैन । वातावरण बनाउने दायित्व सरकार, सरोकार भएका निकायका साथै निजी क्षेत्रको पनि हो, मन्त्री काफ्लेले भने । निजी क्षेत्र उत्साहित नहुनुको कारण पत्ता लगाइ समाधान खोज्न समन्वय, सहकार्य र छलफलका माध्यमबाट सम्भव हुने उनले धारणा राखे । हरेक व्यक्तिले सरकार, राज्य मेरो हो भन्ने वातावरण तयार नभएसम्म आर्थिक समृद्धि नहुने बताउँदै उनले सरकारका नीति तथा कार्यक्रममा कमजोरी भए सच्याउन सकिने भएकाले छलफलमा आउन उद्योगी/व्यवसायीलाई आग्रह गरे ।
सरकारको नेतृत्व गर्ने हरेकले जनताका पक्षमा, आर्थिक समृद्धिप्राप्तिका लागि काम गर्नुपर्छ । मुलुकको विकास र समृद्धिका पक्षमा सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । सरकारबाट जनताले आशा राख्न छाड्नुहुँदैन । नीतिगत् कमजोरी भए त्यसमा बहस गरौं नीति, नियममा सुधार गरी कार्यक्रम सच्याउँछौं । सरकारलाई बलियो बनाउँदै जनताले अपनत्व महसुस गर्ने बनाउँछौं, उनले भने ।
कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कृष्ण मैनालीले निजी क्षेत्रले उठाएका जायज मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । हाल मुलुकमा देखिएको आर्थिक मन्दीको कारण जताततै निराशा छाइरहेको छ, उनले भने-सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढेको खण्डमा मात्र हालको समस्या अन्त्य गर्न सकिन्छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले राजस्वको दरमात्र नभएर दायरा बढाउनेतर्फ अग्रसर हुनुपर्ने बताए । सरकारले राजस्वको दरमात्र उठाएर राजस्व बढ्दैन, उनले भने-राजस्वको दर घटाएर दायरा बढाउनेतर्फ अग्रसर हुनु जरुरी छ । संघ उपाध्यक्ष मनोज दासले वागमती प्रदेश सरकारले हेटौंडा हुँदै काठमाडौं जाने छोटा रुटका तीनवटै सडकलाई कालोपत्र गरेर व्यवस्थित गर्नु जरुरी भएको बताए ।