हेटौंडा– तामाङ पत्रकार संघ मकवानपुर उपाध्यक्ष सन्देश थिङले मनहरीको एक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् । मनहरी–२, भुन्दुङटाँडीमा अवस्थित सीता माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो ।
उनले आफ्नो २८ औं जन्मदिनको अवसरमा माविमा अध्ययनरत् १–५ कक्षासम्मका करिब २ सय विद्यार्थीलाई कपी र सामूहिकरुपमा खेल्नका लागि २ थान फुटबल हस्तान्तरण गरे । पढ्नकै लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउनुपर्ने आफैं कक्षा–८ सम्म पढेको माविमा अध्ययनरत् विद्यार्थी लक्षित गरी सामग्री हस्तान्तरण गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । माविका शिक्षक बुद्ध बुढाथोकीले शुभकामना तथा आभार व्यक्त गर्दै जन्मदिनमा सामाजिक कार्यमा जोड दिने थिङबाट हालका युवाले पाठ सिक्नसक्ने बताए ।
मनहरी गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष राजकुमार पाख्रिनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अखिल समाजवादी केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर इञ्चार्ज सूर्यबहादुर गोले, नेपाल तामाङ कलाकार संघ मकवानपुर सचिव विक्रम लुङ्बा, सदस्य हेमकुमार तितुङ, नेपाली कांग्रेस मनहरी–२ नम्बर वडा उपसभापति शान्तिमाया थिङ, सचिव सोबित वाइबा, माविका शिक्षक– अभिभावक संघ अध्यक्ष रवीन्द्र डिमडुङ, नेकपा एमाले मनहरी–२ नम्बर वडा कमिटी अध्यक्ष इन्द्रदेव वाइबा, अखिल समाजवादी मकवानपुर अध्यक्ष सुवास तामाङ, दीगो विकास सहकारी अध्यक्ष माधब स्यांतानलगायतले मन्तव्य दिए । कार्यक्रम माविका प्रधानाध्यापक दूधलाल घलानको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।