– सुनिता बिष्ट
हेटौंडा : विद्यालयले प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्दै आएका छन् । देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको हो ।
सरकारले प्रतिदिन प्रतिविद्यार्थी १५ रुपियाँका दरले बजेट छुट्याएको छ । जसमा पोषणयुक्त खाजाको मापदण्ड बनाइएको छ । हरेक विद्यालयले स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी उक्त मापदण्डअनुसार क्यालोरी, प्रोटिन, फ्याट, आयोडिन, आइरन, जिंक र भिटामिन ‘ए’ मिलाएर खाजा तयार पार्नुपर्ने मापदण्ड छ ।
सोहीअनुसार हेटौंडा उपमहानगरपालिका–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयको क्यान्टिनको भित्तामा पोषणयुक्त खाजाको तालिका टाँसिएको छ । सोहीअनुसार खाजा हरेक दिन पाक्छ । कक्षा–५ सम्म अध्ययन गर्ने बालबालिकाको खाजाका लागि १५ रुपियाँका दरले हेटौंडा उपमहानगरपालिकाले खर्च दिन्छ । जनप्रियमा दिवाखाजा खाने विद्यार्थी झण्डै ५ सय छन् । खाजा तालिकाका भएका खाजा खुवाउनका लागि विद्यालयले नै सामग्री छ्ट्याउनुको विकल्प छैन । खाजा तालिकामा राखिएको पोषिलो खाजा खुवाउनका लागि विद्यालय आफैंले अन्न, दूध, माछा–मासु उत्पादन गर्दै आएको छ ।
‘स्थानीय सरकारले दिएको १५ रुपियाँले खाजा खुवाउनै पुग्दैन,’ विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले भन्छन्–बजारमा जे सामानको भाउ पनि छोइनसक्नु छ । बजारमै किन्नुपर्ने सामानबाहेक धेरै कुरा हामी आफैंले उत्पादन गरेर खाजा खुवाइरहेका छौं । जुन पोषिलो पनि हुन्छ । स्वस्थ्यकर पनि छ ।
वागमती प्रदेश सरकारले ल्याएको ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रम लागु भएको उक्त विद्यालयमा उत्पादित हरियो तरकारी दिवाखाजामा प्रयोग गर्ने गरिएको छ । विद्यालयपरिसरमा दुई वटा माछापोखरी छन् । एउटा कुखुरा फार्म छ । गाईवस्तु पाल्ने गोठ पनि छ । गोठमा एउटा दुहूनो भैंसी र एउटा गाई छ । दैनिक २५–३० लिटर दूध उत्पादन हुन्छ । उक्त दूध विद्यालयमै दिवाखाजाका लागि प्रयोग गरिन्छ ।
‘फार्ममा ब्रोइलर कुखुरा उत्पादन गरिन्छ । कुखुरा खाने बेला भएपछि हप्ताको दुई दिन मासुचिउरा खुवाइन्छ,’ प्रधानाध्यापक चौलागाईंले भने–माछापोखरीबाट उत्पादन भएको माछा बालबालिकालाई खुवाउँछौं । जसरी भए पनि हामीले पोषिलो खानेकुरा खुवाइरहेका छौं । खीर पकाउने दूध, चामल हामीले नै उत्पादन गर्दै आएका छौं । नगरपालिकाले दिएको १५ रुपियाँले अलिअलि भरथेग भएको छ ।
मकवानपुरगढी गाउँपालिकामा ३७ विद्यालय छन् । ती सबै विद्यालयमा हप्ताको एक दिन बिहीवार रैथाने बालीको खाजा खुवाइन्छ । गाउँमै फलेको कोदो, फापर, मकै र जुनेलोलगायत अन्नबालीबाट बनेका परिकार विद्यार्थीहरुलाई दिवाखाजाका रुपमा खुवाउने गरिएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम घलानका अनुसार सबै विद्यालयले बिहीवार कोदोको सेलरोटी, फापरको रोटी, कोदोको हलुवा, भुटेको मकै र भटमासलगायत खाजा बनाएर खुवाउने गरेका छन् । पालिकाले रैथाने बाली संरक्षणको कार्ययोजना ल्याएपछि प्रत्येक विद्यालयमा हप्ताको एक दिन रैथाने बालीको परिकार खुवाउने नियम बसालिएको हो ।
महंगो लागत
पालिकामै उत्पादन हुने रैथाने बालीको प्रयोग बढाउन दिवाखाजाका रैथाने बालीको लिष्ट राखिए पनि यसको उपयोग अन्य खाजाको तुलनामा महंगो पर्ने गरेको विद्यालयका शिक्षकहरुको गुनासो छ । बालबालिकाहरुलाई गाउँमै फलेको अर्गानिक खाजा खुवाउनु स्वास्थ्यका लागि लाभदायक भए पनि महंगो पर्न जाने मकवानपुरगढी–४, कुसुमटारस्थित मनकामना माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज चौलागाईं बताउँछन् ।
‘पालिकाले दिने एकजना बराबरको १५ रुपियाँले अरु खाजा खुवाउन त समस्या हुन्छ,’ उनले भने–हामीले धेरैजसो जाउलो, चिउरा तरकारी, गेडागुडीको रस र भुजा आदि खुवाउने गरेका छौं । बिहीबार भने कोदो र फापरकै परिकार बनाएर खुवाउँछौं । खाजा खुवाउन रकम अभावकै कारण थोरै पैसाले अघाउने खाजा के दिने भन्ने तालिका तयार गरेका छौं ।
रकम थप्दैनन् स्थानीय तह
विद्यालयमा दिवाखाजा खुवाउनका लागि १५ रुपियाँले अपुग भएको भन्दै शिक्षकहरुले पटकपटक स्थानीय तहमा ध्यानाकर्षण गराउँदै आएका छन् । तर, बजेट अभावका कारण रकम थप गर्न सक्ने स्थिति नरहेको मकवानपुरगढी गाउँपालिका शिक्षा शाखा अधिकृत घलान बताउँछन् । ‘चालु आर्थिक वर्षको बजेट बनाउने समयमा पालिका अध्यक्षलगायत समक्ष थोरै भए पनि दिवाखाजाको रकम बढाउनुपर्ने माग आएको थियो, तर सम्भव भएन,’ उनले भने ।
संस्थागत्मा पत्रु खाजा
सामुदायिक विद्यालयहरुमा पोषणयुक्त दिवाखाजाको खुवाउन थालिए पनि संस्थागत् विद्यालयहरुमा भने पत्रु खाजाकै बिगबिगी छ । हेटौंडा–३, बसामाडीमा रहेको सनसाइन बोर्डिङ स्कुलको क्यान्टिनमा हरेक दिन चाउमिन, पकौडा, चाउचाउ, समोसालगायत खाजा पाक्छ । विद्यालयभित्र रहेको क्यान्टिनमा जंकफुड बन्ने भएपछि विद्यालयका शिक्षकहरुले साना कक्षाका बालबालिकाहरुलाई घरबाट खाजा ल्याउन भन्ने गरेका छन् ।
घरबाट ल्याएको हेल्दी खाजा खाने विद्यार्थीलाई पुरस्कार दिने शर्तमा हेल्दी फुड टिफिन ल्याउन भन्ने गरिएको विद्यालयकी एक शिक्षक बताउँछिन् । तर, क्यान्टिनमा खाजाको लिष्ट भने परिवर्तन हुँदैन । विद्यालयमा पढ्ने प्रायः सबै विद्यार्थीको खाजा पत्रु खाजा नै हुने गरेको छ ।
जंकफुडले बालबालिकामा असर
पछिल्लो समय बालबालिकाहरुलाई विद्यालयमा मात्र होइन, घरमा पनि जंकफुड खुवाइन्छ । खाजा, नास्तामा पसलमा पाइने रेडिमेट खाना–खाजाका कारण बालबालिकाहरुमा विभिन्न रोगहरु लाग्ने गरेको हेटौंडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. हरि खड्का बताउँछन् ।
उनका अनुसार जंकफुड सेवनकै कारण बालबालिकाहरुका डायरिया, गोसेला तथा घातक रोग क्यान्सरसम्म हुने गरेको छ । ‘सहरीकरण बढ्दै गएपछि हाम्रो समाजमा पनि जंकफुड प्रयोग बढ्दै गयो,’ डा. खड्काले भने–स्टोर गरेर राखेका खानेकुरा बालबालिकाका लागिमात्र होइन, सबैका लागि हानिकारक हुन्छ । अजिनामोटो प्रयोग गरिएको खानेकुराले हड्डी मक्याउने समस्या उत्पन्न गर्छ । पछिल्लो समय जंकफुड्कै कारण बालबालिकाहरु बिरामी हुने दर बढ्दै गएको छ ।
डा. खड्काका अनुसार कहिलेकसो यस्ता पत्रु खानेकुरा खाएर बिरामी नभए पनि सजिलोको लागि दिनहुँ पत्रु खाना खुवाए बालबालिकामा दीर्घकालिन रोगहरुको संक्रमण हुने जोखिम बढ्नेछ । विद्यालयको क्यान्टिनमा चाउमिन, मम, चपलगायत खाजा खुवाउनु भन्दा सोही मूल्यमा खीर, जाउलो, दालभात, चिउरा तरकारी, हलुवा, रोटीजस्ता पोषणयुक्त खाजा खुवाउन बालरोग विशेषज्ञ डा. खड्काको सुझाव छ ।