हेटौंडा : प्रेमप्रस्ताव अस्वीकार गरेको भन्दै हेटौंडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपूर्वन–६ का राज भनिने दिलीपराज केशरीलाई दोषीठहर गर्दै अदालतले १ करोड १४ लाख रुपियाँ क्षतिपूर्ति तोक्यो । तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडकपक्षले क्षतिपूर्ति रकम दाखिला गरेन । उनले करिब १२ वर्षसम्म पनि उक्त रकम पाउन सकेकी छैनन् ।
उनै घटनाकी पीडित राष्ट्रिय स्वतन्त्र पार्टीकी मकवानपुरे युवा सांसद् विन्दाबासिनी कंसाकारले संघीय संसद् सचिवालयमा पार्टीका तर्फबाट जलनसम्बन्धि विधेयक दर्ता गरेकी छन् । मानवजलन तथा सजायसम्बन्धि बनेको व्यवस्था (गैरसरकारी) बिहीबार संसद्मा दर्ता भएको हो ।
जुनसुकै कारण मानिसलाई जलन हुनसक्छ । यात्रा गर्दा दुर्घटना, कसैले जानीजानी घटना घटाए राज्यले कसरी हेर्छ भन्ने विषयमा उक्त विधेयक दर्ता गरिएको सांसद् कंसाकारले जानकारी दिइन् । जलनका घटनाहरु निकै संवेदनशील र निकै पीडादायी भएको उनको भोगाइ छ । व्यक्ति वा कसैको परिवारले वा आफैंले खर्च गर्न नसकेको अवस्था भए राज्यले त्यस्ता व्यक्तिलाई सहयोग गर्नुपर्छ भन्ने उनको धारणा छ । जलन जहाँ पनि र जहिले पनि हुनसक्ने उनले बताइन् ।
नेपालमा हरेक वर्ष ६० देखि ६५ हजार मानिस जल्दै आएका छन् । त्यसको तथ्यांक नै नभएकोमा उनले दुःख व्यक्त गरिन् । ‘मकवानपुरमा मैले जलनका तथ्यांक धेरै खोजें । तर, न जिल्ला प्रहरीमा छ न त अस्पतालमा । न अन्य सरकारी निकायमा छ,’ सांसद् कंसाकारले भनिन्–जो आर्थिकरुपमा क्षमतावान् छन्, उनीहरुले पनि जलनको उपचार गराउन सक्ने अवस्था छैन । थोरै जलन भएका मानिसहरु पनि मृत्युसँग लड्नुपर्ने अवस्था छ ।
‘राज्यलाई जिम्मेवार बनाउनका लागि हामीले जलनकोषबाट उपचार माग गरेका छौं,’ उनले भनिन् । नेपालमा विपन्न परिवारका मानिसहरु पनि जलनमा परेका छन् । ती असहायका लागि उपचार कोष निकै महत्वपूर्ण हुने उनको भनाइ छ । विपन्नलाई पनि यस कोषले सहयोग पुर्याउँछ भन्ने विश्वास लिइएको उनको भनाइ छ । स्वयम् जलनको नेतृत्वमा लागिपरेर र जलेका सम्पूर्ण नागरिकका लागि आवाज बनेर हिँडीरहेको उनले बताइन् । ‘जलनमा पीडित व्यक्तिहरुलाई राहत, उद्घार, उपचार, क्षतिपूर्ति र योग्यताअनुसार व्यवसायका लागि म लागिपरेकी छु,’ उनले सुनाइन् ।
जलनको तथ्यांक आधिकारिकरुपमा प्राप्त नभएका कारण आफैं अन्यौलमा भएको उनले बताइन् । जलनकोषबारे संसद्मा कुरा राख्दा हरेक दलका नेताहरु सकारात्मक भएको र हालसम्म सबै दलका सदस्यबाट साथ र सहयोग पाएकोमा उनले खुशी व्यक्त गरिन् । उक्त विधेयक निकै आवश्यक भएकाले उनीहरु पनि चिन्तित भएको उनले बताइन् ।
एसिड आक्रमणका कारण घाइते भएकी कंसाकारको हालसम्म करिब ९० लाख खर्च भएको बताइएको छ । एसिड प्रहारपछिको अवधिमा विभिन्न अस्पतालमा गरी ९० लाख रुपियाँ खर्च भएको उनले बताइन् । उनको उपचार जारी छ । बैंकबाट ऋण लिएर उपचार गरिएको र तिर्न नसक्दा पीडितका बुबाको नाम बैंकले कालोसूचीमा निकालेको थियो ।
२०७० बैशाख ९ गते विहान करिब ११ बजे हेटौंडा–३ मा रहेको आफ्नै भाँडा पसलमा कंसाकारलाई पसलभित्र बसिरहेको अवस्थामा एसिड प्रहार भएको थियो । करिब २७ वर्षका केशरी उनको अनुहारमा एसिड फ्याँकेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब निरीक्षक सागरशम्शेर जबरासहित विशेष टोलीले केशरीलाई पक्राउ गरेको थियो । बाराबाट पक्राउ गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका ल्याइएको थियो । केशरी रेडकर्नर नोटिसमा परेका अभियुक्त हुन् । प्रहरीले केशरीलाई बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३, भलोहीमा लुकेर बसेको अबस्थामा पक्राउ गरिएको थियो । निरन्तर खटिएको प्रहरी टोली केशरीलाई पक्राउ गर्न सफल भएको हो ।
देशमा चर्चित एसिड प्रकरणका दुवै अभियुक्त जेलचलान भएका छन् । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज बिष्टको एकल इजलासले दुवै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । एसिड प्रकरणमा मुख्य अभियुक्त भारतीय नागरिक केशरी र उनका सहयोगी मानिएका सञ्जय मण्डललाई भीमफेदी कारागार चलान गरिएको थियो । केशरीलाई सार्वजनिक गर्न प्रहरीले गरेको कार्यक्रममा हेटौंडाकी पीडित कंसाकारले एसिड छ्यापेर भाग्ने केशरीलाई फाँसीको सजाय माग गरेकी थिइन् । एसिड प्रहार गरेर भाग्नेलाई फाँसी दिन नसके जन्मकैद सजाय दिन उनको माग थियो ।