हेटौंडा– हेटौंडाका युवा सुरेश न्यौपाने फिल्म निर्देशनमा डेब्यु गर्न लागेका छन् । उनीसँग छक्कापञ्जा, ए मेरो हजुर २, यात्रा, म यस्तो गीत गाउँछु २, कृलगायतका फिल्ममा मुख्य सहायक निर्देशन गरेको अनुभव छ । ३६ वर्षीय उनी १४ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् ।
पूर्वमिस नेपाल नम्रता श्रेष्ठले उनीद्वारा निर्देशित हुने फिल्म रंगी खेल्ने भएकी छन् । मिस नेपालको उपाधि जितेको ४ वर्षपछि उनले फिल्ममा डेब्यु गर्न लागेकी हुन् । निर्माण पक्षसँग उनको कागजी सम्झौता भइसकेको छ । आफूलाई प्रस्ताव गरिएको भूमिका मन परेकाले फिल्म खेल्ने मनस्थिति बनाएको उनले बताइन् ।
‘स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ । बच्चाका लागि एउटा आमा जस्तो भूमिका गर्नुपर्ने भएकाले पनि काम गर्न मन लाग्यो,’ नम्रता भन्छिन् । अनुवन्धसँगै नम्रताले पहिला एक वेभसिरिजमा प्रस्ताव आए पनि विवादास्पद् भूमिका महसुस भएर काम नगरेको खुलाइन् । भन्छिन्–म अलिक सोझी छु । तर, वेबसिरिजको क्यारेक्टर ग्ल्यामर भएकाले विवाद आउँछ भनेर काम गरिनँ ।
नम्रता मिस वल्र्ड नेपाल २०२० की विजेता हुन् । त्यसअघि उनी किन्डरगार्डेन शिक्षक थिइन् । केही पूर्वमिस नेपालहरु हाल पनि फिल्ममा सक्रिय छन् । अब फिल्म क्षेत्रले अर्को मिस नेपाललाई पनि पाउने पक्का भएको हो । यसअघि निर्माण पक्षले फिल्मको टाइटल पोष्टर सार्वजनिक गरेको थियो । उक्त पोष्टरमा साइकलमा बसिरहेकी एक बालिका र एक पुरुष प्रस्तुत गरिएको छ । पृष्ठभूमिमा सूर्यास्त देख्न सकिन्छ । टाइटल पोष्टरबाट फिल्म सोसल ड्रामा जनरामा बन्ने अनुमान गर्न सकिन्छ । रंगी सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको हो । सलोन करिब २६ वर्षदेखि चलचित्र क्षेत्रमा छन् । उनी पहिलो पटक प्रस्तुतकर्ता भएका छन् । सुमन गजमेरको लेखन रहने फिल्मको निर्माता सक्षम सुबेदी हुन् ।