हेटौंडा– वागमती प्रदेश सरकारले रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१, डडुवाका पहिरोपीडितलाई १० लाख प्रदान गर्ने भएको छ । प्रदेशको विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले पहिरोपीडितलाई लक्षित गरी तत्काल राहत तथा पुनस्र्थापनका लागि १० लाख प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले रामेछाप जिल्ला प्रशासन कार्यालय रामेछापको विपत् व्यवस्थापन कोषमा जम्मा हुने गरी रकम निकासा गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् । उनका अनुसार उक्त रकम विपत् व्यवस्थापन, विपत्बाट असर परेका र पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्ति संरक्षण, विपत्बाट पीडितलाई राहत, घाइते वा बिरामीको उपचार, विपत्का कारण मृत्यु भएका परिवारलाई आर्थिक सहयोग प्रदानलगायत कार्यका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपत् व्यवस्थापन कोषबाट प्रदान गरिनेछ ।
भदौ ८ गते राति वर्षासँगको पहिरोले दोरम्बा सैलुङ गाउँपालिका–१, डडुवाको मझुवा, सल्लेटार, पात्ले, मंसिरेलगायत क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । पहिरोले गाउँमा बस्न जोखिम भएपछि अतिसीमान्तकृत थामी समुदायका ४३ घरपरिवार चिहानडाँडा तथा सडकमा त्रिपाल टाँगेर सामूहिकरुपमा बस्दै आएका छन् । यसअघि रामेछाप जिल्लामा विपत्मा परेकालाई राहत एवम् पुनस्र्थापनाका लागि प्रदेशको कोषबाट ३० लाख गइसकेको सूचना अधिकृत कार्कीले बताइन् ।