हेटौंडा : हेटौंडामा शनिबार निकै व्यस्त भएका उद्योग मन्त्री दामोदर भण्डारीले भनेका थिए–अबको लगानीको क्षेत्र मौद्रिक नीतिले तय गरेको छ । निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ ।
हुन पनि चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मै साढे ८ अर्ब बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउन महिनामा विभिन्न देशका लगानीकर्ताहरुले ५९ परियोजनामार्फत् ८ अर्ब ५५ करोड ५० लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता जाहेर गरेका हुन् ।
उद्योग विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत् भने ५९ करोड ७५ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । चालु आवको पहिलो महिना साउनमा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट र प्रविधि हस्तान्तरण शीर्षकमा थप ३१ करोड २० लाख १२ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार नेपालमा वैदेशिक लगानी स्वीकृत गर्ने व्यवस्था भएदेखि हालसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तो लगानी अटोमेटिक रुटबाट मात्र ८ अर्ब ७१ करोड ३७ लाख बराबरको प्रतिबद्धता आएको छ । उद्योग विभागले गएको बैशाख १७ देखि अटोमेटिक रुटमार्फत् वैदेशिक लगानी स्वीकृत गर्ने व्यवस्था मिलाएको हो ।
पर्यटन र सेवामूलक क्षेत्रमा आकर्षण
नेपालमा साउनमा लगानी प्रतिबद्धता जाहेर गर्ने परियोजनामध्ये पर्यटन र सेवामूलक क्षेत्रका परियोजनाको बाहुल्यता उच्च छ । उद्योग विभागका अनुसार साउन महिनामा नेपालमा लगानी प्रतिबद्धता जाहेर गरेका ५९ परियोजनामध्ये सबभन्दा बढी ६८ प्रतिशत् अर्थात् ४० परियोजना पर्यटन क्षेत्रका छन् । यी परियोजनामार्फत् साउनमा आएको प्रतिबद्धतामध्ये ७३ प्रतिशत् प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।
यस अवधिमा सेवामूलक क्षेत्रका १२ परियोजनामार्फत् कुल लगानीको १६ प्रतिशत् लगानी प्रतिबद्धता नेपालमा आएको छ । यसरी नेपालमा पर्यटन र सेवामूलक क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको आकर्षण उल्लेख्य छ । यस अवधिमा उत्पादनमूलक क्षेत्रका ३ र सूचनाप्रविधि र कृषिक्षेत्रका समान २ परियोजनामार्फत् विभागमा लगानीको प्रतिबद्धता आएको छ । यसरी नेपालमा साउनमा आएको प्रत्यक्ष वैदेशिक लगानीका परियोजनामध्ये ५७ वटा साना र जम्मा २ वटा ठूला परियोजना विभागका दर्ता भएका छन् । साउनमा आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता साना परियोजनाकेन्द्रित छ ।
रोजे अटोमेटिक रुट
उद्योग विभागले दिएको जानकारीअनुसार साउन महिनामा स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत् धेरैजसो सूचनाप्रविधि क्षेत्रका परियोजनाहरु दर्ता भएको देखिएको छ । विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत् दर्ता भएका कुल ३१ परियोजनामध्ये २२ परियोजना सूचनाप्रविधि क्षेत्रका छन् । यी २२ परियोजनामार्फत् साउनमा २० करोड २५ लाख प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
यस अवधिमा पर्यटनमूलक क्षेत्रका ४, उत्पादनमूलक र सेवामूलक क्षेत्रका समान २ र पूर्वाधार क्षेत्रका १ परियोजना अटामेटिक रुटमार्फत् दर्ता भएका छन् । यी परियोजनाबाट क्रमशः १४ करोड, ७ करोड ५० लाख, १६ करोड र २ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । खासगरि ५० करोडमुनि लगानी भएका परियोजनाहरुको दर्ता प्रक्रिया सहज गर्नका लागि उद्योग विभागले गएको बैशाख १७ देखि यो प्रणाली सुरुवात गरेको थियो । लगानीकर्ताले ५० करोड तलको लगानी भएको परियोजनालाई अनलाइनबाट स्वीकृति लिन मिल्ने सुबिधा यस प्रणालीमा छ ।