हेटौंडा, वागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्री बसुन्धरा हुमागाईंले आफ्नो कार्यकालमा प्रदेशको कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्रको रुपान्तरणमा महत्वपूर्ण काम भएको दाबी गरेका छन् ।
मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री हुमागाईंले आफ्नो कार्यकालको १३ महिना अवधिमा कतिपय पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सम्पन्न गर्नुका साथै नयाँ कार्यक्रम सुरु गरिएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा भएका कामहरुको प्रतिवेदन सार्वजनिक गर्दै आफूले मन्त्री भएर आएपछि ५५ बुँदे मार्गचित्र प्रस्तुत गर्दै सोहीअनुसार कामहरु गरेको बताए । कृषि क्षेत्रमा प्रवाह भइरहेको अनुदान कार्यलाई व्यवस्थित बनाउन वीउपुँजी कोष सम्बन्धि कार्य सुरु गरिएको बताउँदै उनले चालु आवमा प्रदेश सरकारले साना तथा ठूला किसानलाई करिब ५५ करोड वीउपुँजी उपलब्ध गराउन लागेको बताए ।
अध्यादेशमार्फत् कृषि विकास ऐन बनाएर मन्त्रालयले किसान परिचयपत्र वितरण, कृषि बाली वस्तुको न्यूनतम् समर्थन मूल्य तोक्ने जस्ता कार्यलाई प्रक्रियामा लगेको र अघिल्लो सरकारले सुरुवात गरेको दुग्ध पाउडर प्लान्ट स्थापनाको कामले आफ्नो कार्यकालमा निरन्तरता पाउँदै करिब ९५ प्रतिशत् सम्पन्न भएको मन्त्री हुमागार्इंले बताए ।
प्रदेशका ३० स्थानमा ‘एक वडा–एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि बोलपत्र आह्वान गरिएको, माटो परीक्षण कार्यलाई तीव्रता दिइनुका साथै वीउमा आत्मनिर्भरउन्मुख कार्यक्रममा पनि मन्त्रालयले ध्यान दिएको उनले बताए । फलफुल तथा तरकारी भण्डार क्षमताको शीतभण्डारहरु पनि निर्माणको अन्तिम चरणमा रहनुका साथै प्रदेशका ८ जिल्लाका विभिन्न १० स्थानमा निर्माणाधीन शीतभण्डार निर्माणको करिब ८० प्रतिशत् काम सकिएको जनाइएको छ ।
चितवनमा आधुनिक भेटेरिनरी अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको बताउँदै भेटेरिनरी एम्बुलेन्स खरिद प्रक्रियामा रहेको मन्त्री हुमागाईंले बताए ।