हेटौंडा, वागमती प्रदेशमा प्रदेशमा मुख्यमन्त्रीको विषय निकै पेचिलो बनिरहेको छ । पाँचदलीय बाम गठबन्धन हुँदा नेपाली कांग्रेसको भागमा परेको प्रदेशको मुख्यमन्त्रीको विषय केन्द्रमा नयाँ समीकरण बनेसँगै अब मुख्यमन्त्री कसको भागमा भन्ने विषयले चर्चा पाइरहेको छ ।
नेकपा एमाले–माओवादी केन्द्र मिलेर सरकार निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्णायक भूमिका रहन्छ । गठबन्धनमा रहेका तीन वटै पार्टीले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल र राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । अघिल्लो कार्यकालको सुरुवातमा पनि एमाले–माओवादी मिलेर बनेको सरकारमा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री बनेका थिए ।
सोही इतिहासलाई हेर्दै अबको दोस्रो कार्यकालमा माओवादीको भागमा मुख्यमन्त्री पर्नुपर्ने माओवादीका सांसद्हरुको दाबी छ । दुवै दललाई सरकारमा जान निर्णायक भूमिकामा रहेको राप्रपालाई ७ मध्ये १ प्रदेशको मुख्यमन्त्रीको भाग आफूहरुलाई परेको भन्दै धेरै सिट जितेको वागमतीमै राप्रपाको मुख्यमन्त्री बन्न पाउनुपर्ने मागसहित सरकारमा सहभागी हुन खोजिरहेको छ । यद्यपि, केन्द्रले आफूपक्षीय निर्णय गरोस् भन्ने उच्च चाहनासाथ दाबेदारहरु केन्द्रको निर्णय पर्खिरहेका छन् ।
नेकपा एमाले
वागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदारमा प्रदेश संसदीय दलका नेता चितवनबाट निर्वाचित प्रदेशसभा सदस्य जगन्नाथ थपलिया मुख्यमन्त्रीको दाबेदार हुन् । पाँचदलीय गठबन्धनविरुद्ध एक्लै निर्वाचनमा होमिएको एमालेले आफ्ना गहकिला सदस्यलाई संसद् भवनमा ल्याउन सकेन । प्रदेशमा एमालेको भागको मुख्यमन्त्री परे २७ सांसद्मध्ये संसदीय दलका नेतामा चर्चा कमाएका थपलिया नै एमालेका एकल मुख्यमन्त्रीका दाबेदार हुन् । प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका थपलिया नेकपा एमालेका केन्द्रीय सचिवसमेत हुन् । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने कारण थपलिया एमालेका एकल दाबेदार हुन् ।
मुख्यमन्त्रीको विषयमा भने केन्द्रको निर्णय मान्नुपर्ने भन्दै एमालेको भागमा परे आफू मुख्यमन्त्री अन्यको भागमा परे अन्य दलको मुख्यमन्त्री बन्ने उनी बताउँछन् । केन्द्रको निर्णयलाई सम्मान गर्दै सरकार गठन गरिने थपलियाको भनाइ छ ।
नेकपा माओवादी केन्द्र
सत्तारुढ गठबन्धनबाट दोस्रो पटक प्रदेशसभा निर्वाचित माओवादीका शालिकराम जम्कट्टेल कांग्रेससँगको गठबन्धनमा रहँदा पनि मुख्यमन्त्रीको दौडमा थिए । ठूलो दलको हैसियतले कांग्रेसले एकल दाबी गर्दै आए पनि माओवादीको नजर पनि मुख्यमन्त्रीकै कुर्सीमा अडिएको थियो । अन्य मन्त्रालय जसको हातमा पुगे पनि मुख्यमन्त्री माओवादीले पाउनुपर्ने अडान माओवादीले छाडेको थिएन ।
नेकपा माओवादी केन्द्रतर्फबाट जम्कट्टेललाई मुख्यमन्त्री बनाउने उद्धेश्यसाथ उनको पुनः प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराइएको चर्चा थियो । अघिल्लो कार्यकालमा पनि माओवादी संसदीय दलको नेता रहेका जम्कट्टेल एमाले–माओवादीको गठबन्धनमा पनि मुख्यमन्त्रीकै दाबेदार छन् ।
उनी प्रदेश सरकार गठन भएदेखि प्रायःसत्तामै छन् । अघिल्लो कार्यकालमा एमाले–माओवादीको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानन मन्त्री थिए उनी । उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न खोजेका थिए । तर, मुख्यमन्त्रीका रुपमा दाबी गर्न पार्टीले प्रदेशसभा सदस्य उम्मेदवार बनाएको माओवादी नेताहरु बताउँछन् ।
मुख्यमन्त्रीमा जान पाउने सम्भावना बढेसँगै संसदीय दलको नेता चयनमा समेत लामो छलफल गरेर जम्कट्टेललाई नै सर्वसम्मत् संसदीय दलको नेता बनाइयो । तर, उनी संसदीय दलका नेता बनिरहँदा माओवादी केन्द्रकै नवनिर्वाचित सांसद्हरुले सामाजिकसञ्जालमार्फत् असन्तुष्टि व्यक्त गरेका थिए ।
राप्रपा
राप्रपा केन्द्रकै निर्णयअनुसार वागमतीको मुख्यमन्त्री पाउनुपर्ने दाबी गरिरहेकोे छ । वागमती प्रदेशको सत्ताको चाबी आफ्नो पोल्टामा आएसँगै मुख्यमन्त्रीमा राप्रपाले दाबी गरेको हो । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै प्रदेशमा सत्ताको चाबी राप्रपाको पोल्टामा पुगेको छ ।
राप्रपाले ७ प्रदेशमध्ये एउटा प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । जसकारण अन्य प्रदेशमा भन्दा धेरै १३ सिट जितेको राप्रपाले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको राप्रपा वागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए ।
जसरी पनि आफूले पाउनुपर्छ भन्ने नभएको भन्दै थापाले भने–मुख्यमन्त्रीमा मेरो दाबी केन्द्रको निर्णयविपरीत होइन । हामीले केन्द्रको निर्णय मान्ने हो । त्यसैले राप्रपाले नै पाउनुपर्छ भन्ने मेरो धारणा होइन । तर, एउटा प्रदेश पाउने भन्ने भागबण्डा केन्द्रले गरेपछि धेरै सिट जितेको वागमती प्रदेशमै पाउनुपर्छ भन्ने मेरो माग हो ।
यस्तो छ सत्तासमीकरण
मुलकको राजनीतिक गर्मीले वागमती प्रदेशको सत्तासमीकरणमा नयाँ मोड ल्याएको छ । जसका कारण एमाले–माओवादी–राप्रपाको सत्ता समीकरणमा सरकार बन्ने भएको छ । गठबन्धन नटुटेको अवस्थामा १ सय १० सांसद् रहेको प्रदेशमा ६५ सांसद् गठबन्धनमा रहेका दलहरुका थिए । प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट जितेको कांग्रेसको ३७ सिट, माओवादी केन्द्रको २१ सिट र एकीकृत समाजावादीको ७ सिट छ । अब माओवादीको २१ सिट गठबन्धनबाट अलग्गिँदा प्रदेशसभामा दोस्रो बनेको नेकपा एमालेको २७ सिटमा जोडिने भएपछि एमाले–माओवादीको ४८ सिट हुन्छ । जसमा राप्रपाको १३ सिट पनि जोडिँदा ६१ हुन्छ ।
७ राजनीतिक दलको इन्ट्री भएको वागमती प्रदेशसभामा हाम्रो नेपाली पार्टीका २, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ सिट छन् । हालसम्मको स्थिति हेर्दा कांग्र्रेस, एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टी मिल्दा कुल ४९ हुन आउँछ । सरकार निर्माणका लागि ५६ सांसद्को समर्थन आवश्यक हुन्छ । तर, यसमा राप्रपाले साथ दिए ६१ सिट बन्छ । जसलाई आधार मान्ने हो भने पनि राप्रपा हाल सरकार गठनको मुख्य भूमिकामा छ । जसलाई साथ दियो, उतै सरकार बनाउन निर्णायक बनेको राप्रपा केन्द्रमा नयाँ गठबन्धनसँग मिलेसँगै प्रदेशमा पनि मिलेर सरकारमा जाने बताइरहेको छ । यद्यपि, वागमती प्रदेशको सत्ता समीकरणमा राप्रपा नायकको भूमिकामा छ ।