* सरोज पौडेल

हेटौंडा, कृषिप्रधान देशको चिनारी बोकेको नेपाल केही वर्षयता कृषि उत्पादनका साम्रगी बाहिरबाट आयात गर्न बाध्य छ । देशमा भएका दक्ष र शिक्षित युवापुस्ता वैदेशिक रोजगारका लागि पलायन हुने सिलसिला पनि रोकिएको छैन ।

देशको मेरुदण्डको रुपमा हेरिँदै आएको युवापुस्ताको बढ्दो विदेश पलायनले एकातर्फ राज्यले युवा जनशक्ति गुमाइरहेको छ भने अर्कोतर्फ कृषि क्षेत्रको उत्पादनमा पनि ह्रास व्यहोर्न बाध्य छ ।

यस्तै अवस्थाबीच हेटौंडाका कोइराला दाजुभाइ भने जन्मथलोमै बसेर कृषि क्षेत्रबाट पनि केही गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् । मकवानपुरमा २०६९ जेठमा सिर्जन कोइराला र निराजन कोइराला दाजुभाइ मिलेर स्थापना गरेको गायत्री डेरी उद्योगमार्फत् समाजमा उत्प्रेरणामात्र जगाइरहेका छैनन्, प्रत्यक्षरुपमा ७० जनालाई रोजगारी दिएका छन् ।

फुड टेक्नोलोजी अध्ययन गरेका दाइ सिर्जन कोइराला २०६९ सालअघि हेटौंडा डेरी उद्योगमा फुड टेक्नोलोजिस्टका रुपमा कार्यरत् थिए । भाइ निराजन कोइराला डेरी टेक्नोलोजिष्ट हुन् । सिर्जनले हेटौंडा डेरी उद्योगमा २ वर्षसम्म काम गरे भने पछि टेक्नोलोजिष्टकै रुपमा २०६६ सालतिर पश्चिम अफ्रिकातिर गए । ३ वर्ष उतै बसेका उनी स्वदेश फर्किंदा भने पुनःउतै जाने गरी ‘रिटर्न टिकट’ लिएर आएका थिए । विदेशमा रहँदा डेरी उत्पादनसम्बन्धि देखेर आएका उनी नेपाल झरेपछि यतै रोकिए ।

स्वदेशमै डेरी उत्पादनको सम्भावना खोज्दै ८–१० लाख लगानी गरी दाजुभाइ मिलेर मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भैसेमा सामान्य २ कोठा लिएर सानो डीफ्रिज र सानो मसिनऔजार राखेर ट्रायलका रुपमा उद्योग सञ्चालन गरे । शुरु चरणमा स्थानीय दुग्ध सहकारी, कृषकमार्फत् दूध संकलन गरी दूध, दही, घ्यु, चिज उत्पादन गर्न लागे पनि उनीहरुको पहिलो प्रयास सफल हुन सकेन ।

विशेषगरि छुर्पी उत्पादनका लागि चिसो ठाउँ आवश्यक पर्ने भएकाले मकवानपुरको भैंसेस्थित किटनीको डाँडामा सञ्चालन गर्न लागिएको थियो । तर, त्यहाँ भौगोलिक समस्याले गर्दा दूध लैजान र उत्पादन सामग्री हेटौंडा ल्याउन समस्या हुन पुगेको सिर्जनले बताए । त्यसलगत्तै छुर्पी बनाउन आवश्यक चिसो बनाउने उपकरण जडान गरी हेटौंडा उपमहानगरपालिका–२, मनकामनारोडमा आफ्नै निवासबाट उद्योग सञ्चालन गरिएको उनले बताए ।

‘हेटौंडा ल्याइसकेपछि पनि हामीले पहिले दूध, दही, घ्युको मात्र उत्पादन गथ्र्यौं,’ उनले भने । हेटौंडा बजार निकै साँघुरो थियो तर पनि प्रतिस्पर्धा धेरै थियो । हेटौंडाको बजार सानो भए पनि यहाँ ९ वटा डेरी उद्योग थिए,’ उनले भने–निकै प्रतिस्पर्धात्मक बजार भएका कारण त्यो समयमा हामीले दूध, दही, घ्युका अलावा छुर्पी पनि उत्पादन गर्ने सोच राख्यौं । त्यसलगत्तै उद्योगमा छुर्पी बनाउन आवश्यक पर्ने चिसो बनाइराख्ने उपकरण जडान ग¥यौं र उत्पादन भयो ।

यसबीच दाजुभाइले हेटौंडामा रहेका अन्य डेरी उद्योगलाई पूर्वी इलामलगायत अन्य जिल्लाबाट क्रिम ल्याएर आफ्नो उद्योगबाट प्रशोधन गरी बटर बनाएर ठूलो परिमाणमा बिक्रीवितरणसमेत गरेको अनुभव सुनाए । बटर बनाउँदा कुनै समय बटर बनाउन आवश्यक क्रिम कहिले धेरै मात्रामा आउने भयो, कहिले आउँदै नआउने भएपछि के रहेछ भनेर फिल्ड भिजटमा इलाम पुग्दा त्यहाँ ठूलो परिमाणमा छुर्पी उत्पादन हुने र निकै ठूलो परिमाणमा बाहिर निर्यात हुने गरेको थाहा भएको उनले बताए ।

‘हामीले इलाममा सानोसानो परिमाणमा घरमा कतै सानो घरेलु उद्योग खोलेर छुर्पी उत्पादन गरेको देख्यौं,’ उनले भने–इलाम, पाँचथरलगायत जिल्लामा किसानले घरमै १ क्यान दूध, आधा क्यान दूध राखेर घरमा छुर्पी उत्पादन भएको देखिसकेपछि हामीले ती छरिएर रहेका सानासाना परिमाणमा उत्पादन भएका छुर्पीलाई संकलन वा एकीकृत गरी आफ्नो उद्योगसँग जोड्न सक्छौं कि सक्दैनौं भनी सोच्यौं । त्यसपछि धेरै रिसर्च र हेटौंडामा आरएनडी ग¥यौं ।

शुरु चरणमा धेरै जोखिम मोलेर हाल ‘सेफल्यान्डिङ’ गराउन सफल भएको सिर्जनले बताए । उनका अनुसार हाल हेटौंडा–२, मनकामनारोडमा रहेको उद्योगबाट प्रशोधन हुन्छ भने हेटौंडा–८ को कमानेमा रहेको उद्योगबाट ड्राइङ हुने गरेको छ । त्यहाँ प्रोसेसिङ र फिनिसिङलगायत काम हुन्छ र युरोपियन देश, एसियाकै कतिपय देश र अमेरिकासम्म मकवानपुरको छुर्पी निर्यात हुने गरेको उनले बताए । क्यानडा, युके, अमेरिका, एसियन देश, जापान, कोरियासम्म नेपाली उद्योगबाट उत्पादित छुर्पी निर्यात हुने गरेको छ ।

२०६९ सालबाट सानो लगानीमा परीक्षणका रुपमा सञ्चालनमा आएको उद्योगले हालसम्म आउँदा छुर्पीमा राम्रो बजार बनाइसकेको छ । उनले उत्पादित छुर्पीको ५० प्रतिशत् बिक्री काठमाडौं र बाँकी ४० प्रतिशत बिक्री भारत हुँदै विदेश जाने गरेको बताए । हाल उद्योग आफैंले दैनिक ८–१० हजार लिटर दूधबाट छुर्पी उत्पादन गर्ने गरेको छ ।

‘देशका २२ जिल्लामा दूध उत्पादन हुने क्षेत्रमा तालिम दिएर दूधफल्स (मिल्क होलिडे) हुने समयमा दूध खेर फाल्नु पर्दैन है भन्दै छुर्पी बनाउनुस्, हामी लिन्छौं भनेर सहमति गरेका छौं,’ उनले भने–विभिन्न दुग्ध सहकारीसँग पनि सहकार्य गरेका छौं । हाल दैनिकरुपमा उद्योगबाट १ हजारदेखि १५ सय किलोसम्म छुर्पी उत्पादन भइरहेको छ । १० लाखबाट शुरु भएको उद्योगको कूल पुँजी हाल लगभग ७÷८ करोड पुगेको सिर्जनले बताए ।

उद्योगबाट हाल छुर्पीसहित दूध, दही, घ्यू, पनिर, चिज पनि उत्पादन हुने भए पनि विश्वव्यापी कोरोना संक्रमणले डेरी उद्योगलाई चुनौती थपेको निराजनले बताए । निराजन भन्छन्–विश्वव्यापी कोराना संक्रमणको असर नेपालमा पनि नराम्ररी प¥यो । किसानले गाईवस्तुलाई दानापानी गर्न धेरै गाह्रो भयो । निरन्तर लामो समय लकडाउन हुँदा किसानले बजार पाएनन् । हामीसँग नजिक पहुँचमा रहेकासँग हामीले दूध त लियौं तर हाम्रो पहुँचबाहिर भएका किसान भने विस्थापित भए ।

कोरोना महामारीअघि र पछिको स्थिति हेर्ने हो भने लगभग ५० प्रतिशत् दूध उत्पादन घटेको उनले बताए । उनले भने–पछिल्लो समय दूधको समस्या धेरै छ । दूध उत्पादक किसानलाई राज्यले पनि खासै आकर्षण गर्न सकेको जस्तो लाग्दैन । दूधको समस्या समाधान गर्न पाउडर उत्पादन गर्ने कम्पनी भए तापनि सबैलाई समेट्न सकिरहेका छैनन् । विशेषगरि नेपालमा जाडोमा दूध उत्पादन धेरै हुन्छ भने गर्मीमा कम । धेरै उत्पादन हुने समयमा पाउडर प्लान्टले दूधलाई पाउडर बनाएर पाउडरबाट उत्पादन सामग्री बनाउने उद्योगलाई दिए पनि हाम्रो जस्तो दूध नै आवश्यक पर्ने उद्योगलाई भने समस्या छ । सिजनलरुपमा हुने दूधको अभावलाई रोक्न कि दूधको उत्पादनमा वृद्धि गर्नुपर्छ कि बहिरबाट ल्याउने वातावरण सरकारले बनाउनुपर्छ ।

सरकारको नीतिगत् समस्याले गर्दा हाल पाउडर र दूध दुवै बाहिरबाट नआएको उनले बताए । उनी भन्छन्–पाउडरमात्र दूधको समाधान होइन । दूध नै आवश्यक पर्ने उद्योगलाई दूधकै अभाव हुँदा समस्या भोग्नुपरेको उनले बताए । उनले भने–दूध उत्पादन भए त ठीकै हो तर आवश्यकताअनुरुप दूध उत्पादन नबढेसम्म सरकारले यस विषयमा सोच्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here