नेपालको बिकास र स्थायित्वका लागि
राप्रपाको पुर्नजागरण आवश्यक

0
188

मुलुकको दिगो विकास र स्थायित्वका लागि भए पनि देशैभर राप्रपाको पुर्नजागरण आवश्यक छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको धरातलमा खडा भएको राप्रपा मुलुकको लागि बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापीत हुनु पर्दछ । माटो सुहाउदो नीति विचार र सिद्धान्तमा अडिक भएको राप्रपाले सोहिअनुरुप आफ्नो प्रष्ट व्यवहार र आचरण जनतामाझमा लैजान सक्नु पर्दछ । सरकार बनाउने र ढलाउने जस्ता अपवित्र खेल बाहिर रहँदै रचनात्मक अभियान थालनीको सुरुवात राप्रपाले गर्नु पर्दछ । २०६२-६३ सालपछिको आन्दोलनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भएपश्चात संवैधानिक राजसंस्था र विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालको पहिचान समाप्त पार्ने काम भएको छ । त्यसपश्चात राप्रपाले निरन्तररुपमा देशको दिगो विकास, पहिचान र अस्तित्व रक्षाका लागि भएपनि मुलकमा संबैधानिक राजसंस्था, सर्वधर्म समभावपुर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र नेपाल र संघियता खारेजी, बलियो सुदृढ स्थानीय स्वायत्त शासन र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग राख्दै आफ्ना गतिविधिहरुलाई निरन्तर जनतामाझ लग्दै आएको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनपछि राप्रपा देशको पाँचौ शक्तिको रुपमा खडा भएको छ र भविष्यमा नेपालका लागि राप्रपा पहिलो शक्तिका रुपमा स्थापित हुने लक्ष्य पनि हो ।

एक जुट राप्रपा–नविन राप्रपा :
बहुदलीय प्रजातन्त्रको पुर्नस्थापनापश्चात २०४७ जेष्ठ १५ गते राप्रपाको विधिबद्वरुपमा स्थापना भएको हो । पार्टी स्थापनाको एक बर्ष पुग्न नपाउदै विभाजन हुनु पुगेको राप्रपा दुई धारमा विभाजित हुन पुग्यो । थापा समूह र चन्द समूह गरी दुई भागमा विभाजित राप्रपाले २०४८ सालको आमनिर्वाचनमा भनेजस्तो नतिजा हासिल गर्न सकेन । त्यसपश्चात २०५१ सालको मध्यावधी निर्वाचन हुनुअघि थापा समूह र चन्द समूहमा विभाजित राप्रपा बिच पार्टी एकिकरण भयो र निर्वाचनमा जाँदा प्रत्यक्षमा २० सिट जित हाँसिल गर्दै तेस्रो पार्टीका रुपमा आफ्नो पहिचान कायम बनाउन सफल राप्रपाले सरकारको नेत्रृत्वसमेत पटक– पटक गरिसकेको थियो ।

पार्टी स्थापना कालदेखि २०६२–६३ हुँदै २०७० सालसम्म आईपुग्दा राप्रपा धेरै पटक टुट फुटको शिकार हुन पुग्यो । कहिले पशुपति शम्शेर राणा, कहिले स्व. सुर्यबहादुर थापा, कहिले लोकेन्द्र बहादुर चन्द, कहिले डा. प्रकाशचन्द्र लोहनी र कहिले कमल थापाले नेत्तुत्व गरेको फरक फरक राप्रपालाई एक ढिक्का बनाएर विगतका दिनमा लैजान सकेन र राप्रपा पटक÷पटक धेरै पटक टुट÷फुटको शिकार हुन पुग्यो । जसका कारणले गर्दा पार्टीभित्र र जनतामा समेत एक खालको निरासा पैदा हुन थाल्यो र निर्वाचनमा समेत सोचे अनुरुप परिणाम हासिल गर्न सकेन ।

कहिले थापा पक्ष त कहिले चन्द पक्ष हुँदै धेरै पटक टुट–फुटको शिकार हुन पुगेको राप्रपा २०७८ को एकता महाधिवेशनपश्चात भने जनजातीका छोरा राजेन्द्रप्रसाद लिंग्देनको नेत्तृत्व पाएको राप्रपा पुनः एक ढिक्का हुँदै हालै सम्पन्न संघ र प्रदेशको निर्वाचनमार्फत् देशको पाँचौ शक्तिका रुपमा खडा भएको छ । देशैभर राप्रपाले सोचे अनुरुप जित हासिल गर्न नसके पनि हालका लागि यो उपलब्धि भने सन्तोषजनक नै मान्न सकिन्छ । प्रत्यक्षमा ७ र समानुपातिकमा ७ सिट जित्न सफल राप्रपासंग प्रतिनिधि सभामा १४ सिट र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कुल २८ सिट प्राप्त गर्दै देशको पाँचौ शक्तिका रुपमा राप्रपा स्थापित हुन सफल भएको छ ।

यहि प्राप्त उपलब्धिको रक्षा गर्दै टुट फुट बाट पार्टीलाई जोगाउँदै देशैभर मजबुत संगठन निर्माण गर्दै अघि बढ्ने हो भने भोलिका दिनमा राप्रपा मुलुकका लागि पहिलो पार्टी नबन्ला भन्न सकिदैन, जसका लागि राप्रपा एक जुट अर्थात् टुटफुटरहित नविन राप्रपा हुनु पर्दछ ।

देशैभरि मजबुत संगठन स्थापनामा जोड :
२०७८ सालमा सम्पन्न राप्रपाको एकता महाधिवेशनपश्चात तंग्रिएको राप्रपा हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमार्फत् राष्ट्रिय पार्टी हुन सफल भएको छ । जनता माझमा अब राप्रपाभित्र कुनै गुट र उपगुट नभएको र राप्रपा अब कहिले पनि न फुट्ने सन्देशसहित निर्वाचनमा जाँदा राप्रपा हाल देशको पाँचौ ठुलो दल हुन सफल भएको हो । यहि प्राप्त जनादेश र उपलब्धिको रक्षा गर्दै देशैभर ६७४३ स्थानीय वडा तह र ७५३ पालिकामा राप्रपाले बलियो र मजबुत संगठन खडा गर्ने हो भने भविष्यमा
राप्रपा नेपालको पहिलो शक्तिको रुपमा खडा नहोला भन्न सकिदैन ।

जसका लागि राप्रपाको पहिलो शर्त भनेको देशैभरी स्थानीय वडादेखि गाउँ क्षेत्र, नगर हुँदै जिल्ला तहदेखि केन्द्रसम्म आफ्नो बलियो र मजबुत् संगठन निर्माण अभियानलाई उसले तिब्र गतिमा लैजान सक्नु पर्दछ । के हिमाल, के पहाड र के तराई सबैतिर मजबुत संगठन निर्माणमा अब राप्रपा जुट्नु पर्दछ । साना तिना र झिना मसिना कुराहरुमा न अल्झि देशैभर संगठन निर्माण कार्यलाई युद्धस्तरमा लैजान सक्नु पर्दछ । सरकार बनाउने र सरकार ढलाउने जस्तो घृणित खेल बाहिर रहँदै संगठन निर्माण कार्यमा राप्रपा कटिबद्व भएर लाग्नु पर्दछ ।

काखा र पाखाको अन्त्य :
नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने पार्टीभित्र उसले पु¥याएको योगदान, उसंग भएको ज्ञान, सिप, क्षमता, अनुभव र दक्षताको कुनै मल्यांकन नै नगरी आफ्नालाई सकभर काखा र अरुलाई सकभर पाखा लगाउने गलत चलन सबैतिर सबै पार्टीमा धेरथोर कायम रहेको कुरा लाई नकार्न सकिदैन । यहाँ राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छे हेर्ने, कुन गुट उपगुटबाट आएको मान्छे हो हेर्ने र सोहीअनुरुप व्यबहार गर्ने चलन छ । आफ्नो गुट र आफ्नो आसेपासे हो भने काखा र अन्य गुटको हो भने विस्तारै पाखा लगाइन्छ । यो चलन धेरथोर सबै पार्टीमा मौलाउदै जाने क्रममा देखिन्छ । जुन रोगबाट राप्रपालाई सदाका लागि नेताहरुले जोगाउन सक्नु पर्दछ ।

सिर्जनशिल, अनुभवि र दक्षताको आधारमा पार्टीभित्र रहेको जनशत्ति,लाई उसले पार्टीको हरेक संरचनामा विना पक्षपात ल्याउन सक्नु पर्दछ । ताकि भोलिका दिनमा गएर राप्रपाको मजबुत् संगठन निर्माण हुन सकोस् । नाताबाद र कृपा बादले हाम्रो पार्टी चल्नु हुँदैन र चल्दैन पनि भन्ने विश्वास नेताहरुले आमकार्यकर्ता र सर्वसाधारणमा दिलाउन सक्नु पर्दछ ।

बलियो प्रतिपक्षको भुमिका :
मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा गरी नेपाली जनताले राप्रपालाई देशको पाँचौ ठुलो शक्तिकारुपमा विजय गराएको हो । जसको अर्थ यो हो कि राप्रपालाई सकार बनाउने र सरकार ढलाउने म्याण्डेट जनताले दिएको हैन । जसका कारणले पनि सरकारलाई राप्रपाले रचनात्मक सहयोग गर्दै बलियो प्रतिक्षको भुमिका निर्वाह गर्नु पर्दछ । राप्रपाले नेपाली जनताको जनजिबिकाका सबालहरुमा, सरकारी पक्षबाट हुने गलत सन्धी र सम्झौताहरु, अन्याय, शोषण, विभेद र भ्रष्टाचार जस्ता सवालहरुमा निरन्तर रुपमा खबरदारी गर्न र बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्न जनताले राप्रपालाई स्पष्ट म्याण्डेट दिएको हुँदा सोहीअनुरुप राप्रपाले प्रतिनिधि सभादेखि आवश्यक परे सडकसमेत तताउन सक्नु पर्दछ ।

राप्रपाले भोलिका दिनमा निरन्तररुपमा उठान गर्छ र यदि राप्रपाकै कारणले गर्दा मुलकमा सरकार नबन्ने अवस्थाको सिर्जना भएको खण्डमा स्पष्ट कारण उल्लेखसहित सरकारमा सहभागि हुने कुरा राप्रपाका सम्माननीय अध्यक्ष राजेन्द्र लिङदेनको पछिल्लो अभिव्यक्तिलेसमेत यो कुराको पुष्ठी गरेको छ कि भोलिका दिनमा राप्रपा सरकार बनाउने र सरकार ढलाउने जस्तो अपवित्र खेलमा सहभागि नभई बलियो प्रतिपक्षको भुमिकामा रहन्छ र रहनु पर्दछ । (लेखकः राप्रपा मकवानपुर जिल्ला उपाध्यक्ष हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here